OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १०, २०८०सुर्खेत
२४७ पटक

 १० असार २०८०, आइतबार

बढ्दो सहरीकरण, बेरोजगारी र असुरक्षित लगानीका कारण पछिल्लो समयमा समाजमा मनोसामाजिक अपाङ्गताको संख्या बढ्दै गएको छ । यो सुषुप्त अवस्था रहेकोले यससँग सम्बन्धित धेरै अपाङ्गता भएका व्यक्ति बाहिर देखिन सकेका छैनन् ।

अपाङ्गता भित्रको १० प्रकार मध्य मनोसामाजिक अपाङ्गता भएका व्यक्तिमाथि ठूलो विभेदीकरण भएको र त्यसबाट उनीहरुले अपमानित जीवन जीउनु परेको एक प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठन कोशिस नेपालद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकारहरुसँगको एक दिने गोष्ठीमा उक्त प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संस्थाका परियोजना संयोजक रविलोचन पौड्यालले समाजमा सबैभन्दा बढी मनोसामाजिक अपाङ्गता भएका व्यक्ति बहिष्करणमा परेको यद्यपि तिनीहरुमा राज्यले त्यति धेरै चासो नदिएको बताउनुभयो । “अपाङ्गता अवरोध हो जसले कुनैपनि व्यक्तिलाई उसले इच्छाएको काममा बाधा पुर्याउँछ,” उहाँले भन्नुभयो, “यो अवरोधको प्रमुख कारण समाज, सोच, संरचना र दृष्टिकोण हो ।”

मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई समाजले नै होच्याउने, निच्याउने, अपमान गर्ने र असक्षम बनाईदिँदा उनीहरु सामाजिक, भौतिक, राजनीतिक र दृष्टिकोणजन्य समस्याबाट प्रभावित हुनुपरेको संयोजक पौड्यालले बताउनुभयो । नेपालको कानूनले नै मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई कुनैपनि सार्वजनिक पदमा अयोग्य बनाएको भन्दै नीतिगत तहबाटै उनीहरुको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिनुभयो । मानसिक स्वास्थ्यमा सरकारले एक प्रतिशत भन्दा कम बजेट छुट्याएको जनाउनुभएका उहाँले यसको प्रवद्र्धनमा प्राथमिकता दिनुपर्ने जिकिर गर्नुभयो ।

उक्त संस्थाका परियोजना अधिकृत महेश भट्टराईले मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यको मूलप्रवाह ल्याउनुपर्ने बताउनुभयो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाको १६ वटा वडामा कोशिस परियोजना लागु भएको बताउनुभएको उहाँले विश्व स्वास्थ्य संगठनको मापदण्डमा रहेर बेसलाईन सर्भे गर्दा वीरेन्द्रनगर नगरपालिकामा १०९ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरु भेटिएको जनाउनुभयो ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले संस्थाको उद्देश्य अनुरुप भइरहेको क्रियाकलापले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताउनुभयो । अध्यक्ष देवकोटाले भन्नुभयो, “समाजमा लुकेर रहेको तर जल्दोबल्दो समस्याका रुपमा देखिएको मनोसामाजिक अपाङ्गतालाई राज्यले नै सम्बोधन गर्ने गरी कलम चलाउन आवश्यक रहेको छ । यो सबैको साझा मुद्दा हो ।”

कोशिसका परामर्शकर्ता नरेन्द्र विकले वीरेन्द्रनगरमा परियोजना लागु भएयता मनोसामाजिक अपाङ्गता भएका व्यक्तिमा पनि सुधार आएको जनाउनुभयो । “हिजो खुल्न नमान्ने र एक्लो अवस्थामा बस्ने व्यक्तिहरु पनि आज सामाजिक बन्न थालेका छन्,” उहाँले भन्नुभयो, “भुसको आगो जस्तो बन्दै गएको यो समस्यामा सबै सरोकारवालाहरुको साझा प्रयास आवश्यक छ ।” उक्त परियोजना कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढीमा लागु भएको जनाइएको छ । ्

प्रतिकृया दिनुहोस्