OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १२, २०७९काठमाडौं
२१० पटक

१२ मंसिर २०७९, सोमबार

मंसिर ४ गते सम्पन्न निर्वाचनबाट कर्णाली प्रदेशसभा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । हुम्ला प्रदेश (१)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित हुनुभएको हो ।

परियारले हुम्ला प्रदेश(१) का स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी हुनुभएको थियो । उहाँले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गर्नुभएको थियो । माओवादी केन्द्रबाट उहाँले प्रत्यक्षमा जितेपनि अन्य दल कसैले दलित प्रतिनिधि उठाएनन् ।

एकमात्र भएपनि दलितले प्रत्यक्षमा टिकट पाएर चुनाव जित्दा महिलाहरुले कुनैपनि दलबाट टिकट नपाएपछि प्रत्यक्ष निर्वाचन लड्ने अवसर मिलेन । ठूला दल भनिएका नेपाली काँग्रेस, एमाले र माओवादी कुनैले प्रदेशसभा सदस्यका लागि महिलाहरुलाई टिकट दिएनन् ।

साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं.१ को (२)मा मनकली रामजाली, क्षेत्र नं.२ को (१)मा बिजुकला राना र दैलेख क्षेत्र नं.१ को (२)बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । उक्त निर्वाचनमा रामजालीले ६३, रानाले ३०६ र सिंहले २०२ मत मात्र ल्याएर पराजित हुनुभयो ।

जित्ने संभावना भएका कुनैपनि ठूला दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गर्नुभयो । “महिलाहरु प्रत्यक्षमा चुनाव लड्न सक्दैनन् जस्तो गरेर टिकटबाट बञ्चित गर्नु संविधान विरोधी कार्य हो,” शाहीले भन्नुभयो, “आगामी दिनमा यसलाई सशक्त मुद्दाका उठाउनु पर्दछ ।”

नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले महिलाहरु प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताउनुभयो । “सामान्यतः महिलाहरुले टिकट नपाएका भन्ने चाहि होइन तर संवैधानिक व्यवस्था बमोजिम न्यायिक बन्न सकेन,” अध्यक्ष केसीले भन्नुभयो, “कर्णाली प्रदेशसभा सदस्यमा सबै पार्टीले प्रत्यक्षमा महिला उम्मेदवार उठाउने सवालमा निकै ठूलो अन्याय भएको हो ।”

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्का अनुसार नेकपा एमालेको एक लाख ८३ हजार नौ सय ५०, नेपाली काँग्रेसले एक लाख ७० हजार सात सय ५६, नेकपा (माओवादी केन्द्र)ले एक लाख ३७ हजार छ सय २९, नेकपा (एकीकृत समाजवादी)ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेमकिपाले आठ हजार नौ सय ९३ र नेकपा (माले)ले तीन हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन् ।

अन्य दलरुले दुई हजार भन्दा कम मत ल्याएका छन् । सबै दलहरु गरेर कर्णाली प्रदेशमा पाँच लाख ७६ हजार एक सय ६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

प्रत्यक्षमा २४ सीट भएको कर्णाली प्रदेशमा सबै पुरुषहरुले जितेर आएका छन् । प्रदेशसभामा ४० सदस्य रहने व्यवस्था छ । जसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । चालीस सदस्यीय कर्णाली प्रदेशसभामा विभिन्न दलहरुबाट ३३ प्रतिशतका हिसाबले १३ जना महिला प्रदेशसभा सदस्यहरुको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुनेछ ।

प्रतिकृया दिनुहोस्