OnlinePana

आज : २०८१ पौष १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ११, २०७९काठमाडौं
२०२ पटक

११ मंसिर २०७९, आइतबार

गएको ०७४ सालको प्रदेशसभा निर्वाचनमा बहुमत पुर्याउन एक सीट मात्र बाँकी राखेको नेकपा एमाले ०७९ मंसिर ४ गते सम्पन्न चुनावबाट निकै ठूलो क्षति व्यहोर्नुपरेको छ । पाँच वर्ष अघिको चुनावमा नेकपा (माओवादी केन्द्र)सँग तालमेलको गरेर २० सीट जितेको एमाले एक्लैले यो चुनावमा मुस्किलले पाँच सीट ल्याएको छ । त्यतिखेर माओवादीले १३ सीट ल्याउँदा काँग्रेसको छ र राप्रपाको एउटा सीट रहेको थियो ।

यो चुनावमा एमालेले कर्णाली प्रदेशसभा सदस्यमा डोल्पा (१), मुगु (१), जुम्ला (२), दैलेख क्षेत्र नं.२ (२) र सुर्खेत क्षेत्र नं.२ (१) गरी पाँच क्षेत्रबाट जित्न सफल भएको छ । यद्यपि यस पटकको प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनले नेकपा एमालेलाई कर्णालीमा निकै कमजोर बनाएको छ । प्रदेशसभा सदस्यमा पाँच सीट जितेको एमाले प्रतिनिधिसभा सदस्यमा शून्यमा झरेको छ ।

मुलुकभरि स्वतन्त्रको लहर चलेको बेला कर्णालीमा त्यो खासै देखिएन । स्वतन्त्र उम्मेदवारी दिएर जुम्ला (१ं)बाट जितेका देवेन्द्र शाही नेपाली काँग्रेसका उम्मेदवार ललितजंग शाहीको बागी नै थिए । गत निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित सुर्खेत क्षेत्र २(१) का यामलाल २(२) का विन्दमान विष्ट, डोल्पा (२)बाट बीरबहादुर शाही र हुम्ला (२)बाट जीवनबहादुर शाही दोहिरिनुभएको छ । शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुनुहुन्छ ।

कर्णाली प्रदेशसभाका २४ सीटमा चार पुरानै दोहिरिएपनि १८ जना नयाँ अनुहारले प्रदेशसभामा प्रवेश पाएका छन् । निर्वाचित दुई प्रदेशसभा सदस्यले प्रतिनिधिसभाको अनुभव लिइसकेका छन् । कर्णाली प्रदेशसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलभित्र १२ नेपाली काँग्रेस र १० नेकपा (माओवादी केन्द्र) र दुई नेकपा (एकीकृत समाजवादी)को भाग लगाइएको थियो । काँगे्रस–माओवादी केन्द्रले नौ÷नौ जित्दा समाजवादीले दुवै सीट गुमायो ।

नेपाली काँग्रेसका नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हुम्ला (२)बाट सात हजार ५६ मत ल्याउँदा एमालेका छक्कबहादुर लामा दुई हजार ९७९ मत प्राप्त गरेर पराजित हुनुभयो । हुम्ला (१) मा भने नेकपा (माओवादी) केन्द्रका रनसिंह परियारले स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीले चार हजार ६३० मत प्राप्त गर्दा छ हजार ४८१ मत ल्याएर निर्वाचित हुनुभयो ।

त्यस्तै, मुगु प्रदेश (१)मा नेकपा एमालेका जीतबहादुर मल्लले छ हजार ६१८ मत प्राप्त गर्दा एकीकृत समाजवादीका गोपाल बमले पाँच हजार ५४५ मत ल्याएर पराजित हुनुभयो । प्रदेश (२)मा भने नेकपा (माओवादी केन्द)का मंगलबहादुर शाही निर्वाचित हुनुभयो । उहाँले आठ हजार ४२९ मत प्राप्त गर्दा एमालेका कर्णबहादुर मल्लले चार हजार ८८४ मत ल्याउनुभयो ।

जुम्लामा (१) मा गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका काँग्रेसकै देवेन्द्र शाहीले काँगे्रसकै उम्मेदवार ललितजंग शाहीलाई पराजित गर्नुभयो । उहाँले नौ हजार ६५४ मत ल्याउँदा ललितजंग शाहीले सात हजार ७५५ मत ल्याउनुभयो । जुम्ला (२) मा नेकपा (एकीकृत समाजवादी)का पदमबहादुर रोकायले छ हजार ७१५ ल्याउँदा नेकपा एमालेका टेकराज पछाईले सात हजार ८२७ मत प्राप्त गरी विजयी हुनुभयो ।

डोल्पा (१) नेकपा एमालेका शेरबहादुर बुढा गठबन्धनका साझा उम्मेदवार नेपाली काँगे्रसका दीपेन्द्रबहादुर शाहीलाई पराजित गर्नुभयो । शाहीले दुई हजार ४६५ मत ल्याउँदा बुढाले चार हजार ७४३ मत प्राप्त गर्नुभएको थियो । डोल्पा (२)मा भने नेकपा एमालेका धनचन्द्र वैजीले चार हजार ५९५ मत प्राप्त गर्दा माओवादी केन्द्रका बीरबहादुर शाहीले पाँच हजार २९५ मत ल्याएर विजय हुनुभयो ।

त्यस्तै, कालीकोट प्रदेश (१)मा माओवादी केन्द्रका दुर्गबहादुर रावतले नौ हजार १४ मत प्राप्त गरी निर्वाचित हुनुभयो । यता एमालेका कुर्मराज शाहीले सात हजार ९५३ मत ल्याउनुभएको थियो । प्रदेश (२) नेपाली काँग्रेसका हिक्मतबहादुर विष्टले १३ हजार ७८३ मत ल्याएर विजयी हुँदा एमालेका वीरेन्द्रबहादुर बोगटीले पाँच हजार ८३८ मत ल्याउनुभयो ।

दैलेख क्षेत्र नं.१ को (१) र (२) दुवैमा नेपाली काँग्रेसका उम्मेदवार नेकपा एमालेका उम्मेदवारहरुलाई हराउँदै विजयी भए । प्रदेश (१)मा पूर्णबहादुर खत्रीले नौ हजार ४८२ मत ल्याएर निर्वाचित हुँदा एमालेका धर्मराज रेग्मीले आठ हजार ९८ मत ल्याउनुभयो । प्रदेश (२) काँग्रेसका कृष्णकुमार बिसीले नौ हजार ४७१ मत प्राप्त गरेको एमालेका प्रेमबहादुर थापालाई पराजित गर्दै दश हजार ५४५ मत प्राप्त गरी विजयी हुनुभयो ।

दैलेख क्षेत्र नं.२ (१) काँग्रेसका घनश्याम भण्डारीले १० हजार ८२२ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका तिलकप्रसाद रिजाल नौ हजार ५०३ मत प्राप्त गर्नुभयो । त्यस्तै, प्रदेश (२) भने नेकपा माओवादीका योगेन्द्र शाहीलाई ८४ मतले हराउँदै एमालेका विनोदकुमार शाहले नौ हजार ४८० मत ल्याएर विजयी हुनुयभयो । शाहीले नौ हजार ३८७ मत प्राप्त गर्नुभएको थियो ।

सुर्खेत क्षेत्र नं.१ को प्रदेश (१) मा काँग्रेसका खड्ग पोखरेलेल १८ हजार २६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका ठम्मर विष्टले १५ हजार २३७ मत प्राप्त गर्नुभयो । विष्ट माओवादीबाट एमालेमा प्रवेश गर्नुभएको थियो । यता प्रदेश (२)मा माओवादीका कृष्णबहादुर जिसीले २१ ह्जार ७३४ मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका डण्डीप्रसाद शर्मा १७ हजार ५३८ मत ल्याएर पराजित हुनुभयो ।

सुर्खेत क्षेत्र नं.२ को प्रदेश (१)मा नेकपा एमालेका यामलाल कँडेल १८ हजार ५६१ मत ल्याएर विजयी हुँदा काँग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४०० मत प्राप्त गरी पराजित हुनुभयो । प्रदेश (२) मा नेकपा माओवादी केन्द्रका विन्दमान विष्टले १३ हजार ९०९ मत प्राप्त गरी विजय हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका ताराकेशर गौतमले नौ हजार ३३० मत ल्याउनुभएको थियो ।

त्यसैगरी, सल्यान प्रदेश (१)मा नेकपा माओवादीका भीमप्रकाश शर्माले २२ हजार २५४ मत ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका कुलबहादुर गिरिले १४ हजार २२९ मत प्राप्त गर्नुभयो । प्रदेश (२) काँग्रेसका सुरेश अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले २० हजार ४२४ मत ल्याउँदा नेकपा एमालेका गुलाबजंग शाहले १६ हजार ५३९ मत प्राप्त गर्नुभएको थियो ।

रुकुमपश्चिमको प्रदेश (१) र (२) माओवादी केन्द्रले नै विजय गरेको छ । प्रदेश (१) मा आठ हजार ८१ मत ल्याएका एमालेका नारायणकुमार शाहलाई हराउँदै माओवादीका महेन्द्र केसीले १९ हजार ३३ मत प्राप्त गरी विजय हाँसिल गर्नुभएको छ । प्रदेश (२) माओवादीका राजकुमार शर्माले २० हजार १६० मत ल्याएर निर्वाचित हुँदा एमालेका कर्णबहादुर घर्तीले आठ हजार ७८ मत प्राप्त गर्नुभयो ।

जाजरकोट प्रदेश (१) र (२) मा नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ । प्रदेश (१) मा काँग्रेसका वेदराज सिंहले १८ हजार ५४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४७० मत प्राप्त गर्नुभयो । प्रदेश (२) काँग्रेसकै राजीवविक्रम शाहले १६ हजार ४० मत प्राप्त गरी निर्वाचित हुँदा एमालेका खिमबहादुर शाहीले १० हजार ५३० मत ल्याउनुभएको थियो ।

अघिल्लो कार्यकालका प्रदेशसभा सदस्यहरु ठम्मर विष्ट, पदमबहादुर रोकाय, धर्मराज रेग्मी, कुर्मराज शाही दोहोरिने प्रयास गरेपनि उनीहरु पराजित भएका छन् । अहिले भने प्रदेशसभामा निर्वाचित नयाँ १८ अनुहारले कर्णाली प्रदेशसभामा प्रवेश पाउँदैछन् ।

को–को हुन् नवप्रवेशी प्रदेशसभा सदस्यहरु ?

सुर्खेत क्षेत्र नं.१ (१)बाट कांग्रेसका खड्ग पोखरेल १(२)बाट माओवादी केन्द्रका कृष्णबहादुर जिसी, सल्यान (१)बाट माओवादीका भीमप्रकाश शर्मा र (२)बाट काँग्रेसका सुरेश अधिकारी, रुकुमपश्चिम (१) र (२)बाट माओवादी केन्द्रका महेन्द्र केसी र राजकुमार शर्मा, जाजरकोट (१) र (२)बाट काँग्रेसका वेदराज सिंह र राजीवविक्रम शाह पहिलोपटक कर्णाली प्रदेशसभामा प्रवेश गर्दैछन् ।

त्यस्तै, डोल्पा प्रदेश (१)बाट नेकपा एमालेका शेरबहादुर बुढा, जुम्ला (१)बाट स्वतन्त्र उम्मेदवार देवेन्द्र शाही र (२)बाट एमालेका टेकराज पछाई, मुगु (१) बाट एमालेका जीतबहादुर मल्ल र (२)बाट माओवादीका मंगलबहादुर शाही, हुम्ला (१)बाट माओवादीका रनसिंह परियार, कालीकोट (२) बाट हिक्मतबहादुर विष्ट प्रदेशसभामा नवप्रवेशी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएपनि कालीकोट (१)बाट माओवादी दुर्गबहादुर रावतले प्रतिनिधिसभाको अनुभव लिइसक्नुभएको छ ।

त्यसैगरी, दैलेख क्षेत्र नं.१ (१) र (२)बाट निर्वाचित नेपाली काँग्रेसका पूर्णबहादुर खत्री र कृष्णकुमार बिसी, क्षेत्र नं.२ प्रदेश (१)बाट घनश्याम भण्डारी पनि प्रदेशसभामा प्रवेश गर्ने नयाँ अनुहार हुन् । प्रदेश (२)बाट निर्वाचित नेकपा एमालेका विनोदकुमार शाहले २०५१ म नेमकिपाबाट दैलेख क्षेत्र नं.२ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । पछि तत्कालीन् शाही शासनका बेला राजा ज्ञानेन्द्र शाहले उहाँलाई खानेपानी राज्यमन्त्री नियुक्त गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्