OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ३, २०७९सुर्खेत
५२३ पटक

२ असोज २०७९, आइतबार

कर्णाली प्रदेश सरकारले सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गर्ने भएको छ । सामाजिक विकास मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरोकारवालाहरुसँग छलफल सुरु गरेको हो ।

यसका लागि मन्त्रालयले चालु आवमा बजेट विनियोजन गरेको छ । अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विकास गर्ने सम्बन्धमा मन्त्रालयद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले कर्णाली प्रदेशमा आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनका लागि प्रतिष्ठान अपरिहार्य रहेको औंल्याएका थिए ।

अस्पतालका निर्देशक प्रा.डा.डम्बर खड्काले पर्याप्त भौतिक पूर्वाधार, प्रयोगात्मक अभ्यासका लागि बिरामीको चाप, विभिन्न सङ्काय तत्काल सञ्चालन गर्न सक्ने दश जनशक्ति उपलब्ध भएकाले प्रतिष्ठानका रुपमा विकास गर्न सकिने बताउनुभयो । “स्वास्थ्य तथा शिक्षा क्षेत्रको विस्तारका लागि प्रतिष्ठान जरुरी छ, हरेक प्रदेश राजधानीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भइसकेका छन्”, उहाँले भन्नुभयो, “कर्णालीमा पनि स्वास्थ्य क्षमता सुदृढीकरण गर्न, स्वास्थ्य अनुसन्धान गर्न प्रतिष्ठान आवश्यक छ, आवश्यक छ ।”

निर्देशक प्रा.डा खड्काले चालु आवमा मिर्गौला प्रत्यारोपण सेवा, क्याथल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने लक्ष्य रहेको बताउनुभयो ।आगामी तीन वर्षभित्र भवनको तला थप्न बहुवर्षे ठेक्का प्रक्रिया सुरु भएको, ५०० शैयाको अस्पताल सञ्चालन, बाल अस्पतालको निर्माण र सञ्चालन गर्ने योजना रहेको छ ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा भगवान कोइरालाले प्रतिष्ठानलाई एमबिबिएस पढाउने फेसनमात्र बनाइन नहुने सुझाउनुभयो । उहाँले भन्नुभयो, “अस्पताल प्रदेश सरकारको स्वामित्वमा भए पनि प्रतिष्ठान स्थापनाका क्रममा सङ्घीय सरकारसँग समन्वय गर्दा भविष्यमा कानूनी बाधा भोग्ननपर्ने अवस्था आउन सक्छ ।”

प्रा.डा रमेशनाथ अधिकारीले मुलुकका अन्य अस्पतालको तुलनामा प्रदेश अस्पतालको सेवा प्रवाह उत्कृष्ट भएको टिप्पणी गर्नुभयो । “पूर्वाधार र सेवा प्रवाह गौरव गर्न लायक छ, अब दक्ष जनशक्तिलाई अध्ययन, अनुसन्धानमा जोड्न आवश्यकता छ,” प्रा.डा.अधिकारीले भन्नुभयो ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीले प्रदेश सरकारले चालु आवमा अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न, अत्याधुनिक उपकरण, चिकित्सकीय सेवा सुविधा उपलब्ध गराउन रु ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, प्रा डा अर्जुन कार्की, मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पिताम्बर ढकाललगायतले प्रतिष्ठान स्थापनाका सन्दर्भमा आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । हाल ३२५ शय्याको अस्पतालमा ८२ चिकित्सक, २०४ नर्ससहित ६४० कर्मचारी छन् । अस्पतालमा दैनिक औसत ४०५ बिरामी भर्ना हुने तथ्याङ्क छ ।

सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा विसं २०१९ सालमा स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई विसं २०२४ मा सुर्खेत उपत्यकामा स्थानान्तरण हुँदै विसं २०२९ मा १५ शैया र २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालका रुपमा स्तरोन्नति भएको थियो । विसं २०६२ फागुन ७ गते ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालमा रुपान्तरण भएको थियो ।

 

प्रतिकृया दिनुहोस्