OnlinePana

आज : २०७९ आषाढ १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३०, २०७९काठमाडौं
५१ पटक

३० जेठ २०७९ साेमबार 

काखमा दूधे बालक, शरीर डम्म फुलेको छ, निधारमै चोट छ । अनसनस्थल वरिपरि भएर हिँड्नेहरुको पहिलो नजर निधारको त्यही चोटमा पुगेर रोकिन्छ । त्यही चोट र फुलेको शरीरले प्रमाण पनि बोकेको छ, उनीमाथि ज्यादती भइरहेको छ । उनी उठे बस्न सक्दिनन्, बसे उठ्न सक्दिनन् । तर अबोध दूधे बालक बारम्बार आमालाई कोट्याइरहन्छन् किनकी उनलाई घरीघरी दूध खान मन लाग्छ ।

भुईंमा बिछ्याइएको पातलो म्याटमा पातलो डसना र ब्लांकेट उनको साहरा बनेका  छन् । भित्रै गढेको आँखा, सुकेर कलेटी परेको अनुहारले नै अझ धेरै बताउँछन्, उनी गम्भीर दुःखमा छिन् । त्यो भन्दा बेसी उनको अठोटले बताउँछ, राज्यको न्यायप्रणालीका विरुद्ध उनी विद्रोहमा छिन् ।

नाम : निहारिका राजपूत

उमेर : १९ वर्ष

काखको बच्चा : २१ महिनाको छोरा

भनिन्छ, जब सबैतिरबाट ढोका बन्द हुन्छ, त्यस बेला अदालत सहारा बन्दछ । तर यो भनाइ निहारिको जिन्दगीमा मेल खाँदैन । त्यसैले नाबालिग उमेरमा आफूमाथि भएको जघन्य अपराधको न्याय माग्दै उनी काठमाडौंको बसन्तपुरमा तीन दिनदेखि असनसनरत छिन् ।

तीन वर्षदेखि अदालतले उनलाई न्याय दिन सकेको छैन तर उनले हिम्मत भने हारेकी छैनन् । अपराधीलाई सजाय दिलाएर छाड्ने उनले प्रतिज्ञा लिएकी छिन् । उनी भन्छिन्, ‘न्याय नपाउन्जेलसम्म अनसन बस्छु, सरकारले म माथि भएको अन्यायमा न्याय दिनु पर्दछ ।’

निहारिका माथि भएको हिंसा

महोत्तरीकी निहारिका भर्खर कक्षा ११ पढ्थै थिइन् । पढ्ने लेख्ने काम उनी साथीहरुसँग मिलेर गर्थिन् । सधैंको जस्तै उनी आफूसँगै पढ्ने साथीको घरमा गृहकार्य गर्न गइन् । साथीसँगै मिलेर गृहकार्य गर्दै गर्दा निहारिका आफूमाथि षडयन्त्र रचिदै छ भन्ने कुरामा बेखबर थिइन् ।

साविकका दिनहरुमा जस्तै उनी साथीसँगै मिलेर पढ्ने लेख्ने काम गर्दै थिइन् । साथीको दाइले उनीहरुका लागि खाने कुरा ल्याइदिए ।  निहारिकाले कुनै शंका नगरिकनै खानेकुरा खाइन् । लगत्तै उनी बेहोस् भइन् । आँखा खुल्दा निहारिकाले आफूलाई जस्तो अवस्थामा पाइन्, उनको होस् उड्यो ।

उनले आफू बलात्कृत भएको थाहा पाइन् । उनको शरीर सामान्य अवस्थामा थिएन । यो घटना २०७६ साल कात्तिकको हो । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएको उनको भनाइ छ ।

घटना पश्चात् उनी घर गइन् । उनले आफू माथि भएको बलात्कारको बारेमा परिवारलाई बताइन् । तर परिवारको साथ पाइनन् ।  निहारिका भन्छिन्, ‘परिवारले ममाथि भएको बलात्कारलाई भन्दा आफ्नो इज्जतलाई प्यारो ठान्यो, मेरो मुख थुन्नका लागि अनेकौं प्रयास गरियो ।’

उनले कानूनी लडाइँ लड्ने निर्णय गरिन् । घटना भएको १४ दिनमै जाहेरी दिन उनी प्रहरी कार्यालय पुगिन् । उनी भन्छिन्, ‘न्याय माग्न प्रहरी कार्यालय पुगें तर त्यहाँ मेरो कपडा हेरेर मेरो चरित्रलाई मूल्याङ्कन गरियो, प्रहरीले गम्भीरता देखाएन ।’ उनले प्रहरी कार्यलय जाँदा पाइन्ट र टिसर्ट लगाएकी थिइन् ।

कानूनी उपचार उनका लागि सहज थिएन । शिवराज श्रेष्ठले उनलाई अश्लिल फोटो, भिडियोको भरमा ब्ल्याकमेल गर्न थालेका थिए । सबैका सामुन्ने फोटो र भिडियो देखाइदिने भन्दै उनलाई डर र धम्की दिन थालियो ।

उनी पटक–पटक प्रहरी कार्यालय पुगिन् । आफूमाथि बलात्कार भएको प्रमाणको लागि मेडिकल जाँच गराइन् । जाँचबाट उनी गर्भवती भएको पत्ता लाग्यो । त्यसपछि उनलाई गर्भपतन गराउन चौतर्फी दबाब आउन थाल्यो । ‘परिवारले पनि दबाब दियो तर न्यायको लडाइँमा मलाई सम्झौता गर्न मन लागेन,’ उनले भनिन् ।

‘जघन्य अपराधको प्रमाण यही गर्भ’

‘बलात्कारबाट गर्भवती भए पनि पेटभित्र हुर्किएको बच्चा निर्दोष छ अपराधी त त्यो बलात्कारी हो,’ निहारिका भन्छिन्, ‘गर्भवती भएपछि झन् बलियो भएँ ।’

परिवारले अत्यधिक दबाब दिन थालेपछि उनले आफूलाई काखमा हुर्काउने परिवार त्यागिन् तर कोखको बच्चा त्याग्न सकिनन् । बच्चाको मायाले निहारिकालाई झन्–झन् मजबुत बनाइदियो । गर्भवती जिउ लिएर उनी निरन्तर कानुनी लडाइँ लडिरहिन् । उनको साथमा केही महिला अधिकारकर्मी बाहेक अरु कोही थिएनन् ।

तीनै अधिकारकर्मीको आर्थिक सहयोगमा उनले आफ्नो गर्भलाई नौ महिनासम्म पालिन् । ‘मलाई होस्टाइल बनाउन धेरै तत्व लागेका थिए, मलाई मानसिक यातना पटक–पटक दिइन्थ्यो बलात्कारी शिवराज श्रेष्ठले बच्चालाई तुहाइदिने र मेरो हत्या गर्ने भनेर धम्की दिइरहन्थ्यो; तर म डगमगाइनँ,’ उनले भनिन् । २०७७ साल भदौ ५ गते उनले छोरालाई जन्म दिइन् ।

प्रसव पीडा र लकडाउन

कोराना महामारीले विश्वलाई त्रसित बनाएको थियो । नेपाल सरकारले महामारी नियन्त्रणको लागि लकडाउन गरको थियो । यस्तो विषम परिस्थतिमा पनि उनले आफूलाई स्वस्थ राखिन् । केबल मनको कुरा सुनेर सन्तान जन्माउने अठोट गरेकी निहारिकासँग आफ्नै हिम्मत बाहेक अरु कुनै सहारा थिएन । तर बलात्कारको आरोपित खुलेआम घुमिरहँदा उनको मुटु फुलेर ढक्क हुन्थ्यो, शरीर गलेर सिथिल । त्यसैले  निहारिका कारबाही माग गर्दै धनुषा जिल्ला अदालत पुगिन् । आरोपित शिवराज श्रेष्ठ हरेक बहाना बनाउँदै उम्किरहेका थिए भने प्रशासनलाई लकडाउनको बहाना मिलिरहेको थियो ।

‘लडाइँ निरन्तर जारी थियो, बाबु पनि एक वर्षको भयो, ०७८ माघ २४ जिल्ला अदालतले शिवराज श्रेष्ठलाई निर्दोष ठहर गरिदियो । अदालतले मेरो काखे बच्चालाई बेवास्ता गरिदियो । म माथि ठूलो अन्याय भयो,’ निहारिका भन्छिन् ।

कसरी सुरु भयो अनसन ?

निहारिकाले जिल्ला अदालतमा मुद्दा हारिन् तर उनको मनोबल हारेन । उनले उच्च अदालत जाने निर्णय गरिन् । जिल्ला अदालतबाट मुद्दा हारेपछि उनले उच्च अदालतमा मुद्दा दर्ता गराएकी छिन् । तर उच्च अदालतमा पनि निहारिकाले बेवास्ता भोग्नु परेको छ । उच्च अदालत जनकपुरमा उनको मुद्दाको पेसी अहिलेसम्म हुन सकेको छैन ।

गृह जिल्लामा बस्न डर भएपछि उनी राजधानी काठमाडौं आइन् । न्यायको लडाइँ लड्दै उनले आफ्नो छोरालाई हुर्काएकी छन् । ज्याला मजदुरीले आमा–छोराको जीवन धानिएको  छ । उनको मुद्दाको काम अगाडि नबढ्ने भएपछि उनी अबको संघर्ष सडकबाट गर्ने निर्णयका साथ अनसन बसिरहेकी छिन् । ‘सबैको ढोकामा ढकढक्याइसकें कसैले मलाई न्याय दिएनन् । अपराधी खुल्ला रुपमा हिंडेको छ । मेरो बच्चाको डिएनए जाँच पनि भएको छैन, जिल्ला अदालतको मुद्दामा मिलेमतोमा यौनसम्पर्क भएको भनेर उल्लेख छ,’ निहारिका भन्छिन्, ‘न्याय नपाउँदासम्म म सडक छोड्दिनँ ।’

माइतीघरमा प्रहरीले गरेको ज्यादती

निहारिका माइतीघर मण्डलामा अनसनमा बसेको समय रातिको १० बजे उनलाई हतकडी लगाएर प्रहरी भ्यानमा राखियो । त्यस्तै उनका सहयोगी र उनको बच्चालाई अलग्गै भ्यानमा राखियो । उनीमाथि कुटपिट भयो नै बच्चा धेरै रोएको बन्दै बच्चालाई तीन–चार झापड हानेको उनको भनाइ छ । अहिले आमा–छोरा माथि गरेको हिंसाले दुबैको स्वास्थ्य खराब भएको छ ।

माइतीघरमा प्रहरीले ज्यादती गरेपछि बसन्तपुरमा अनसन थालेकी निहारिकी भन्छिन्, ‘कानूनी सहयोग पाइन । अनसन बसेर शान्तिपूर्वक संघर्ष गर्छु भन्दा म माथि ज्यादती भयो, राज्यले मलाई न्याय त दिएन, उल्टै मानसिक तथा शारीरिक यातना पाएँ ।’ अनलाइन खबरबाट ।

फोटोः चन्द्र आले

प्रतिकृया दिनुहोस्