OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २९, २०७८सुर्खेत
४८४ पटक

२९ चैत २०७८, मंगलबार

कर्णाली प्रदेश संग्राहलय तथा अभिलेखालय वीरेन्द्रनगर सुर्खेतले शिक्षासम्बन्धी अन्तर प्रादेशिक पाँच दिने शैक्षिक भ्रमण सम्पन्न गरेको छ । भ्रमण यही चैत्र २२–२६ गतेको अवधिमा गरिएको हो ।

प्रदेश संग्राहलय सुर्खेतद्वारा आयोजित ‘संग्राहलय शिक्षासम्बन्धी शैक्षिक भ्रमण’अन्तरगत गण्डकी, वाग्मती र लुम्बिनी प्रदेशमा भ्रमण गरिएको थियो । भ्रमणअन्तरगत गण्डकी प्रदेशको राजधानी कास्कीस्थित गण्डकी प्रदेश संग्राहलय, अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय पोखरा, नवलपरासीको शास्वत धाम, वाग्मती प्रदेशको चितवनस्थित थारु संग्राहलय एवं सौराह पर्यटकीय क्षेत्र र लुम्बिनी प्रदेशको बुद्ध जन्मस्थल र मायादेवी मन्दिर भ्रमण अवलोकन गरिएको प्रदेश संग्राहलय तथा अभिलेखालय सुर्खेतका निमित्त कार्यालय प्रमुख अर्जुनबहादुर शाहीले जानकारी दिनुभयो ।

मूलतः लक्षित समुहका विद्यार्थी तथा शिक्षकहरुलाई भाषा, संस्कृति, ऐतिहासिक र पुरातात्विक क्षेत्रको व्यवहारिक ज्ञान दिलाउनुका साथै त्यसबाट प्राप्त अनुभव र शिक्षाको सहयोगमा कर्णाली प्रदेश संग्राहलयको विकास र प्रवद्र्धन गर्ने हेतुले शैक्षिक भ्रमण कार्यक्रम राखिएको संग्राहलय प्रमुख शाहीले बताउनुभयो । भ्रमण अवलोकनका लागि कर्णाली प्रदेश संग्राहलयको सदस्यता प्राप्त गरेका सुर्खेतका उपत्यका भित्रका कक्षा ६ देखि नौसम्म अध्ययनरत विद्यार्थी र सामाजिक शिक्षकहरु गरी ३६ र बाँकी अन्य क्षेत्रसहित ४५ जनाको सहभागिता रहेको थियो ।

“भ्रमणले बालबालिकामा साँस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक र भौगर्भिक पहिचानसँग जोडिएका विश्व सम्पदाहरुको बारेमा समेत जानकारी गराएको छ,” प्रमुख शाहीले भन्नुभयो, “यहाँको साँस्कृतिक क्षेत्रको पहिचान तथा महत्व बोध गराउने उद्देश्यले गरिएको भ्रमण प्रतिफलमुखी भएको अनुभूति गरेका छौं । यसले कर्णाली प्रदेश सरकारलाई प्रदेश संग्राहलयको विकासबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गरी अर्थतन्त्रको विकासमा सहयोग पुग्ने विश्वास गरेका छौं ।”

भम्रणमा सहभागी कोपलिा मावि पर्सेनी सुर्खेतका शिक्षक श्यामबहादुर ओलीले भ्रमणको क्रममा भएको स्थलगत अध्ययन तथा अनुसन्धान बालबालिका र हामी शिक्षकहरु सबैका लागि उपलब्धिमूलक रहेको बताउनुभयो । “संग्राहलय शिक्षा सम्बन्धीको शैक्षिक भ्रमणले नेपालका आदिवासी÷जनजाति एवं मूलवासीको धर्म, संस्कार, संस्कृति र उनीहरुको तत्कालीन जीवनशैलीका बारेमा यथेष्ट जानकारी भएको छ,” शिक्षक ओलीले भन्नुभयो, “यो भ्रमणले सैद्धान्तिक शिक्षण प्रक्रियालाई व्यवहारमा उतार्न र दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ ।”

शिव मावि लाटीकोइली सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्रा वसन्ती विकले किताबमा घोक्ने कुरा भन्दा स्थलमै देखेको कुरा दीर्घकालीन हुने बताउनुभयो । विकले भन्नुभयो, “यस्ता भ्रमण हामी विद्यार्थीका लागि निकै महत्वको हुँदो रहेछ भन्ने बुझियो ।” यतिबेला पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्राहलय र नवलपुर (साविक नवलपरासी)को शास्वत धाम (सिजी टेम्पल) हेर्न पाउँदा त्यसबाट धेरै ज्ञान प्राप्त भएको उहाँको भनाई थियो ।

भैरव मावि राम्रीकाँडा सुर्खेतका शिक्षिका निर्मला पराजुलीले प्रत्यक्ष गरिने गतिविधि सैद्धान्तिक अध्ययन भन्दा कैंयन गुणा माथि हुने बताउनुभयो । शिक्षिका पराजुलीले अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय पोखराले बृहत्तर ज्ञान दिलाएको र बालबालिकाहरु त्यसबाटै निकै प्रभावित जनाउनुभयो । घोकेको भन्दा देखेको सिकाई दिगो हुने उहाँको भनाई थियो ।

नेपाल राष्ट्रिय मावि वीरेन्द्रनगर सुर्खेतमा कक्षा ९ मा अध्ययनरत छात्र रवि विकले सैद्धान्तिक ज्ञानले कुनैपनि पुस्तालाई शिक्षा लिन सहज नहुने प्रतिक्रिया दिनुभयो । “सूचना र प्रविधिको युगमा घोकन्ते शिक्षण सिकाई होइन, युग सुहाउँदो प्रविधि अवलम्बन गर्न आवश्यक छ । भ्रमणबाट प्राप्त अनुभव हरेकका लागि लामो समयसम्म दिगो भइरहन्छ, जुन कुरा यो शैक्षिक भ्रमणले हामीलाई प्रष्ट्याएको छ” विकले भन्नुभयो ।

अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय पोखराका प्रतिनिधि सरिता कँडेलले यस संग्राहलयले संकलन गरेका प्राचीन, धार्मिक, साँस्कृतिक, भौगर्भिक, पुरातात्विक, पर्यावरणीय र प्राकृतिक अध्ययनका लागि विशेषगरी विदेशी र स्वदेशी अनुसन्धानकर्ता आउने गरेको बताउनुभयो । कँडेलले भन्नुभयो, “संग्राहलयमा विश्वका सबै सम्पदाहरुको प्रष्ट चित्र छ । यहाँ अध्ययनका लागि पुस्ताकालयको व्यवस्था पनि छ । यसको अध्ययन अवलोकनका लागि हरेकले एक पटक आउनुपर्दछ ।”

गण्डकी प्रदेश संग्राहलयका प्रमुख करुणा राईले विभिन्न जाति, भाषा, धर्म, संस्कृति र क्षेत्रसँग सम्बन्धित साँस्कृतिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक पहिचानका बारेमा अन्तर प्रदेश जानकारी लिनु आवश्यक रहेको बताउनुभयो । प्रमुख राइले भन्नुभयो, “यसले हामीबीचका सम्बन्ध र सहकार्यलाई बढाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनमा वृद्धि ल्याएर अर्थतन्त्रको विकासमा सहयोग पुर्याउन सकिन्छ ।”

भ्रमण अवलोकनका क्रममा उक्त टोलीले पोखराको डेभिड फल्स, गुप्तेश्वर, फेवाताल, तनहुँमा भानुभक्त र घाँसी कुवालगायतका विभिन्न क्षेत्रको अवलोकन गरिएको कर्णाली प्रदेश संग्राहलय तथा अभिलेखालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्