

१७ फागुन २०७८ मंगलबार
सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगु खत्याड गाउँपालिका ४ जुका गाउँका २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ ।
मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकोप्टरमा चढेको ३० मिनेटपछि रावलले छोरा जन्माउनुभएको पश्चिम हवाई वेसक्याम्प सुर्खेतका नेपाली सेनाका चालक प्रमुख सेनानी रचन श्रेष्ठलाई उद्रित गर्दै नेपाली सेना पश्चिम कमाण्ड सुर्खेतका सेनानी बिलिना मल्लले जानकारी दिनुभयो । सेनानी मल्लका अनुसार बच्चा उल्टो भई सुत्केरी हुन नसकेर मुगुबाट आज बिहान ८ः०० बजे जानकारी आएपछि रावललाई सुर्खेतदेखि हेलिकोप्टरबाट उद्धार गरिएको हो ।
मुगुबाट बिहान ९ः१७ बजे उडेको हेलिकोप्टरमा ९ः४५ बच्चा उहाँले बच्चा जन्माएनुभएको थियो । “सुत्केरी रावललाई १८ घण्टाको लामो समय व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिएको हो,” उहाँले भन्नुभयो, “थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा र शिशु (छोरा) दुवैको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ ।” धनलक्ष्मीको साथमा उहाँका श्रीमान् पञ्च रावल, कुरुवा, देउलु भियाल र १३ वर्षीय बालक तिलक विक रहेको नेपाली सेना पश्चिम कमाण्ड सुर्खेतले जनाएको छ ।
सेना दिवसको अवसरमा पश्चिम हवाई वेसक्याम्प सुर्खेतका नेपाली सेनाका चालक प्रमुख सेनानी रचन श्रेष्ठले उद्धार गर्नुभएकाे हाे । सेना दिवसको अवसरमा त्यो मानवीय उद्धार नमूनाको सेवा भएको नेपाली सेनाले जनाएको छ । जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाहहरुको हवाई उद्धार सम्बन्धी कार्यविधि २०७७ अनुसार उहाँलाई नेपाली सेनाले उद्धार गरेको हो ।
मुगुबाट सुर्खेत लिदै गरेको नेपाली सेनाको हेलिकोप्टरमा जन्मिएको बच्चा । (तस्वीर: नेपाली सेना)