

३ पुस २०७८, शनिबार
फ्यूचर नेपालले लेखक तथा समालोचक महेश पौड्यालद्धारा लिखित पुस्तक अपरिचित अनुहारमाथि ‘विमर्श’ कार्यक्रम गरेको छ । शनिबार वीरेन्द्रनगरमा एक कार्यक्रमका बीचमा उक्त ‘कथा सङ्ग्रह’ माथि विमर्श गरिएको हो ।
कर्णालीको पठन संस्कृतिमा एउटा इटा थप्ने प्रयास स्वरुप कार्यक्रम गरिएको आयोजक फ्यूचर नेपालले बताएको छ । झण्डै ८० जना भन्दाबढी युवाहरु सहभागी रहेको उक्त कार्यक्रममा पुस्तकका विभिन्न पक्षहरुमा छलफल तथा टिप्पणी गरिएको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका बालरोग विशेषज्ञ तथा सामाजिक अभियान्त डा.नवराज केसीले ‘पुस्तक किन पढ्ने ?’ भन्ने विषयमा आफनो धारणा राखेका थिए ।
कार्यक्रममा साहित्यकार तथा गितकार गोविन्द कंडेल ‘आँसु’ले साहित्यमा साधना जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, अपरिचित अनुहारले समाज बोलेको छ । सबैले एक पटक अध्ययन गर्न जरुरी छ ।’
साथै उहाँले पछिल्लो समय लेखकहरु सामाजिक सञ्जालमा भाइरल हुने प्रचलन बढेको प्रति टिप्पणी गर्दै भन्नुभयो, ‘लेखकहरुले भाइरल हुने हैन, अमर हुने हो ।’ उहाँले अपरिचित अनुहार ‘कथा सङ्ग्रह’ पाठकले पढ्दै जाँदा कुनै पनि व्यक्तिको वर्तमान सोचाइ भन्दा फरक पाइने बताउनुभयो ।
यस्तै टिप्पणीकर्ता नेहा बस्नेतले अपरिचित अनुहारमा अधिकांश मनोवैज्ञानिक धारमा रहेर कथाहरु लेखिएको बताउनुभयो । ‘सामाजले कुनै स्थान नै नदिएका पात्रहरुलाई नायक बनाएर कथाकारले संक्षिप्त कृति रचना गर्नुभएको छ,’ उहाँले भन्नुभयो।
त्यस्तै अर्का टिप्पणीकर्ता मध्यपश्चिम विश्वविद्यालयका उप–प्रध्यापक तथा लेखक बासुदेव पाण्डेले किताबमा मान्छेका कथा मात्र नभएर जीवन, जगत, मनोविज्ञान, दर्शन र समाजको गतिलो चित्रण भएको अथ्र्याउनुभयो । कृतिले समाजको वास्तविक ऐनालाई प्रतिबिम्वित गरेको उहाँको भनाई थियो ।
कार्यक्रममा सहभागीहरुले कथा सङ्ग्रहमाथि आफ्ना धारणा समेत राखेका थिए । सहभागी साहित्यकार पहल असिमले अपरिचित अनुहार सम्झिँदा आफ्नो विगतको याद आएको बताउनुभयो । ‘लेखकहरु भावुक, रुन्चे हुन्छन् भनिन्छ, अब हामी जस्तो लेख्न चाहनेहरुले के रुन्चे साहित्यबाट बाहिर निस्किएर साहित्य लेख्न सक्छौं ? भन्दै असिमले प्रश्न गर्नुभएको थियो।
कथा सङ्ग्रहमाथि उठेका प्रश्नको जवाफ दिँदै लेखक तथा समालोचक महेश पौड्यालले आफुले कथा फरक धारमा रहेर लेख्ने गरेको जवाफ दिनुभयो । ‘एकपछि अर्को किताब लेख्दै गर्दा सरलता तर्फ ध्यान दिन खोजेको हुँ,’ उहाँले भभन्नुभयो, ‘कथाहरु आँसुहरु पुछ्नका लागि, स्याबासी दिनका लागि पनि हुन् । मान्छेलाई अल्मल्याउनका लागि धेरै साहित्य लेखिन्छन् ।’
पौड्यालले सरलताको खोजी नै अपरिचित अनुहार भएको तर्क गर्नुभयो । जिज्ञासाहरुको जवाफमा उहाँले थप्नुभयो । ,‘कथामा कौतुहल्ता नहुने हो भने कथा नै हुँदैनन् । प्रेम साहित्य पढ्दै गएको व्यक्तिले अपरिचित अनुहार पढ्ने हो भने सुकेको काठजस्तो पाउँछ । प्रेरणा कता मिल्छ पाठकले त्यसतर्फ ढल्न सक्नुपर्छ ।’
फ्यूचर नेपालका अध्यक्ष यज्ञ खत्रीले बढ्दो विज्ञान र प्रविधिको युगमा पठन संस्कृति ओझेलमा परेकाले पठन संस्कृतिको विकासमा टेवा पुगोस भन्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताउनुभयो।