

२२ भदौ २०७८, शुक्रबार
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले करिब तीन महिनापछि पूर्णता पाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते मन्त्रिपरिषद्मा गठन भएको थियो । आज उक्त मन्त्रिपरिषद्मा मन्त्रीहरुको नियुक्ति, जिम्मेवारी हेरफेर र कार्यविभाजन गर्नुभएको छ ।
उहाँले प्रधानमन्त्री देउवाको सिफारिसमा १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको छ । केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ ।
नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् ।
त्यसैगरी डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् ।
त्यसैगरी, महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएका छन् ।
यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई आजको मन्त्रिपरिषद विस्तारको क्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनाईएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी उमेश श्रेष्ठलाई राज्यमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
मन्त्रालय भागवण्डा गर्दा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिईएको जनाईएको छ ।