OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
शुरबहादुर सिंहभाद्र २९, २०७८काठमाडौं
५८४९ पटक

२९ भदौं, २०७८, मंगलबार

कर्णालीमा मान्छे बस्छन् र ? यो पनि नेपालमै पर्छ त ? त्यहाँ खान पाईन्छ र ? जस्ता ५०–६० को दशकमा सोधिन प्रश्नहरुको उत्तर ७०–८० को दशकमा आईपुग्दा कर्णालीले दिएको छ । इतिहासका थुप्रै कालखण्डपछि यो भूगोल, क्षेत्र नेपालमै पर्छ । यहाँ मान्छे बस्छन् । अँझ भनौं यो नेपाल एकीकरण पूर्व आत्मनिर्भर थियो, जुन कुरा कर्णालीको इतिहास अध्ययनबाट प्राप्त हुन्छ ।

त्यतिमात्र होइन, ठूलो भूगोल, नेपाली भाषा, संंस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीले सिंगो नेपालको मानचित्रलाई पूर्णता प्रदान गर्दछ भन्ने तथ्यसँगै आफ्नो स्पष्ट परिचय दिएको छ । मानव विकास, यसको मष्तिष्कले भित्र्याएको सूचना र प्रविधिको तीव्र विकासले विश्व एक गाउँ बनिसकेको बेला अब कर्णालीका सन्दर्भमा उब्जने ती प्रश्नहरु मिथ्या सावित हुँदै गएका छन् ।

विसं.१८४६ पूर्व शक्तिशाली मानिने कर्णाली राज्य गोर्खालीहरुसँगको पराजयसँगै आजपर्यन्त यसको ईतिहास गुमनाम जस्तै छ । नेपाल एकीकरणको अभियानको क्रममा बहादुर शाहको फौंजले कर्णाली खस राज्यमाथि आक्रमण गरेपछि ध्वस्त भएको राज्यका नागरिक काठमाडौंको बडाहाकिम हुन २३२ वर्ष लागेको छ ।

विसं.२०१७ सालको परिवर्तनपछि गृह मन्त्रालयको नाम परिवर्तन गरी गृह पञ्चायत मन्त्रालय बनाईएको थियो । नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरी अञ्चलाधीश र बडाहाकिम पदलाई विस्थापन गरी प्रमुख जिल्ला अधिकारीको व्यवस्था गरिएयता काठमाडौंको प्रशासक हुन कर्णालीलाई ६१ वर्ष संघर्षशील यात्रा गर्नु परेको छ । (गृह मन्त्रालयको हाम्रो परिचयमा)

त्यही संघर्षको दौडानमा मुलुकको राजनीतिक, प्रशासनिक, आर्थिक तथा सामरिक दृष्टिले केन्द्रबिन्दु मानिने नेपालको राजधानी शहरमा अवस्थित काठमाडौं जिल्लाको प्रशासकमा कर्णालीले पहिलो पटक प्रवेश पाएको छ । गृह मन्त्रालयको निर्णय बमोजिम भदौ २३ गते भैरवी गाउँपालिका २ (साविक रावतकोट गाविस ३) दैलेख निवासी गोविन्दप्रसाद रिजालले काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा पदभार ग्रहण गर्नुभएको हो ।

त्यस्तै, हिमा गाउँपालिका १ (साविक बड्की गाविस २) जुम्ला निवासी उमाकान्त अधिकारी पनि काठमाडौं जिल्लाको सहायक प्रशासकको भूमिकामा प्रवेश पाउने कर्णालीको पहिलो व्यक्ति नै हुनुहुन्छ । विसं.२०७७ फागुन २५ गतेदेखि अधिकारीले काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारीको पदमा रहेर काम गर्दै आउनुभएको छ ।

मुख्यतः रिजाल काठमाडौं जिल्लाको प्रमुख जिल्ला अधिकारी हुने कर्णालीको पहिलो र भाग्यमानी छोरा हुनुहुन्छ । मध्यपश्चिम नेपालबाट रिजालबाहेक काठमाडौं जिल्लाको प्रशासक हुने अवसर यस अघि कसैले पाएको थिएन । विसं.२०६१ सालमा लोकसेवा आयोगको परीक्षा दिएर शाखा अधिकृत पदबाट आफ्नो जागीरे जीवन शुरु गर्नुभएका उहाँले आफुलाई काठमाडौंको प्रजिअ हुने संयोग मिलेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यात्रा भनेजस्तो सजिलो छैन । यो ठाउमा आईपुग्न निकै कठिन संघर्ष गर्नुप¥यो । प्रथम श्रेणीमा पुग्ने कर्णालीकै समकालीन साथीहरुको बीचमा अहिले मैले यो अवसर पाएको छु । अवसर पायो भने जो कोही त्यो ठाउँमा पुग्ने ल्याकत राख्दछ भन्ने कुरामा विश्वास गर्दछु ।”

उहाँले यस अघि काठमाडौं बाहेक डोटी र दाङ दुईपटक, जाजरकोट, सल्यान, कैलाली, रौतहट, मकवानपुरसहित देशका सातवटा जिल्लाको प्रशासनिक तहमा रहेर कार्यसम्पादन गरेको अनुभव संगाल्नुभएको छ । गृहको लामो समयको बसाईपछि अहिले काठमाडौंको प्रजिअको रुपमा काम गर्न सरकारले अवसर दिएकोले प्राप्त जिम्मेवारीलाई पूर्णताका साथ निभाउने उहाँको भनाई थियो ।

“विभिन्न कालखण्डमा भएका आन्दोलन, परिवर्तन र त्यसबाट प्राप्त व्यवस्थाले अख्तियार गरेका प्रशासनिक तहमा कर्णाली पुग्न नसक्नुमा शिक्षाको कमी र राज्य संरचनाका केही अवयवहरुले काम गरेको नै हो,” प्रजिअ रिजालले भन्नुभयो, “यद्यपि यसमा हामी आफैले विभिन्न प्रतिस्पर्धामा उत्रने हेक्का पनि राखेनौं ।” उहाँका अनुसार कर्णालीका नागरिकको सन्दर्भमा शक्ति र पहुँच भन्दा पनि पहिलाका दिनहरुमा निजामती क्षेत्रको बाटो अवलम्बन नगरिएकोले राज्यको माथिल्लो स्थानमा पुग्ने अवस्था नरहेको तर पछिल्लो पुस्तामा प्रगति हुँदै गएको छ ।

सँधै हामी पछाडि प¥यौं, राज्यले पछाडि पा¥यो भने भनेर अरुलाई दोष लगाउँदैमा साध्य नहुने भन्दै उहाँले कुनैपनि काम लागि आफैलाई तयारी गर्नुपर्ने कुरा सुझाउनुभयो । दाङ्को प्रमुख जिल्ला अधिकारी हुँदा विशेषगरी राष्ट्रपतिबाट विसं.२०७६ को ‘प्रवल जनसेवा श्री पदक’बाट सम्मानित रिजालले आफ्नो जागीरे जीवनमा जिम्मेवारीमा रमाएर काम गर्दा खासै तीतो स्मरण नभएको अनुभूति प्रकट गर्नुभयो ।

प्रजिअ रिजालको जन्मभूमि भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले रिजाल मिलनसार, सहयोगी, स्पष्टभाव र क्षमतावान व्यक्ति भएको बताउनुभयो । अध्यक्ष बुढाका अनुसार उहाँले पञ्चदेवल मावि रावतकोट दैलेखबाट प्रवेशिका परीक्षा पास गर्नुभएको हो । सँधै अरुलाई अघि बढ्न उत्पेरित गर्ने स्वभावले होला, रिजालका सबै भाई बहिनीहरु निजामती सेवामै कार्यरत हुनुहुन्छ ।

“लोक सेवा आयोगबाट नाम निकालेपछि उहाँ गृह जिल्ला दैलेखमै सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गर्नुभएको थियो । कर्णालीसहित सिंगो मध्यपश्चिम नेपालको नाम उँचो राख्न सफल व्यक्तित्व कायम गर्नु भएकोले हामी गाउँपालिकावासी सबैको छाती गर्वले फुलेको छ । हाम्रो आशाको धरोहरलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं,” खुशी व्यक्त गर्दै उहाँले भन्नुभयो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारीमा बहाल उमाकान्त अधिकारीले प्रजिअ रिजाल झैं आफु पनि सहायक प्रशासक हुनेमा कर्णालीबाट पहिलो परिएछ भन्ने भर्खरै थाहा भएको बताउनुभयो । “बिगतको जस्तो नभएपनि कर्णालीका नागरिकहरु मजदुरीका लागि कालापहाड जानुपर्ने बाध्यता आज पनि छुटेको छैन,“ उहाँले भन्नुभयो, “घोत्लिएर हेर्दा कालापहाड जाने जीवनशैलीबाट यो तहमा पुग्न सामान्य छैन तर अवसर पायो भने जो कोहीले आफ्नो क्षेत्रबाट केही गर्न सक्छ भन्ने सन्देश यसले दिएको छ ।”

अधिकारीले अहिले जस्तै साविक कर्णालीको गृह जिल्ला जुम्लामा पहिलो पटक विसं.२०६३ सालमा सहायक प्रमुख जिल्ला अधिकारी र २०७४ मा मुगुको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “राष्ट्रपतिबाट गएको वर्ष ‘जनसेवा श्री बिभुषण’ले सम्मानित भए यद्यपि जुन जिल्लामा सेवा गर्ने अवसर प्राप्त भयो त्यो जिल्लामा नागरिकस्तरबाट अत्यन्तै धेरै सम्मानित भएको छु । नागरिकले दिएको सम्मान नै मेरो लागि सबैभन्दा ठूलो सम्मान हो ।”

मुगुमा प्रजिअ भएर १८ महिना सेवा गरी मुगाली जनताको मन जितेर फर्केका अधिकारीले गृह मन्त्रालयको सहप्रवक्तामा रहेर १८ महिना काम गर्नुभएको थियो । म्याग्दी प्रजिअको जिम्मेवारी पुरा गरी हाल काठमाडौ सप्रजिअको भूमिकामा काम गर्न पाउँदा आफूमा अँझ बढी उर्जा मिलेको उहाँले बताउनुभयो ।

सप्रजिअ अधिकारीको जन्मभूमि हिमा गाउँपालिका जुम्लाका अध्यक्ष रजबहादुर शाहीले अधिकारी  लगनशील, सकरात्मक र सहयोगी भावनाले सम्पन्न व्यक्ति भएको टिप्पणी गर्नुभयो । “उहाँ जुम्ली इतिहासमा सहायक प्रमुख जिल्ला अधिकारी भएर आउने जुम्लाकै पहिलो व्यक्ति हो,” अध्यक्ष शाहीले भन्नुभयो, “गृह जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी रहँदा उहाँको भूमिका निकै महत्वपूर्ण बन्यो ।”

समन्वय राख्न सक्ने, कुशल प्रशासनिक नेतृत्व क्षमता भएर आज कर्णालीबाट काठमाडौंको पहिलो सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा अधिकारी बहाल हुँदा हिमा गाउँपालिकासहित जुम्लाले गर्वानुभूति गरेको उहाँले बताउनुभयो । अधिकारीको योगदानले पछिल्लो पुस्तालाई निरन्तरको लगावले के गर्न सकिन्छ भन्नेतर्फ उत्पेरित गरेको जनाउँदै अध्यक्ष शाहीले हार्दिक बधाई तथा उहाँको कार्यकाल सफलताको कामना गर्नुभयो ।

इतिहासले जुराएको त्यो संयोग !

प्रदेशका हिसाबले दैलख भैरवी गाउँपालिकाका रिजाल र जुम्ला हिमा गाउपालिकाका अधिकारी कर्णालीवासी हुनुहुन्छ । उतिबेलाको शक्तिशाली कर्णाली खस राज्यअन्तरगत प्रजिअ रिजाल तत्कालीन् ग्रीष्मकालीन राज्य दुल्लु र सप्रजिअ अधिकारी शीतकालीन राज्य सिंजा निवासी हुनुहुन्छ । सौभाग्य नै भन्नुपर्छ, दुवैजनाले आज सिंगो कर्णाली तथा मध्यपश्चिम नेपालको प्रतिनित्व गरेर काठमाडौं प्रशासन चलाउने व्यक्तित्वको इतिहास दर्ज गर्नुभएको छ ।

यसले लामो कालखण्ड पार गरेर त्यो स्थानमा पुग्नुले कर्णाली कमजोर छैन, अवसर पाए गर्न सक्छ भन्ने ओजिलो सन्देश प्रवाह गरेको छ । नेपाल पत्रकार महासंघका पूर्व सचिव तथा बरिष्ठ पत्रकार प्रभात चलाउनेले मुलुकका धेरै जिल्लामा बसेर योग्य प्रशासकको छवि बनाउनुभएका रिजालले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४६औं प्रजिअको रुपमा पदस्थापन भएर कर्णाली तथा मध्यपश्चिम नेपालको पहिलो व्यक्ति बन्नुभएको बताउनुभयो ।

“विसं.२०५८ सालमा सुदूरपश्चिमबाट कीर्तिबहादुर चन्द सात महिना काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुभएको अभिलेखमा देखिन्छ,” पत्रकार चलाउननेले भन्नुभयो, “त्यसयता मध्य तथा सुदूरपश्चिम नेपालको कुनैपनि व्यक्ति काठमाडौं जिल्लाको प्रजिअ भएको देखिदैन ।” प्रशासकीय जिम्मेवारीहरु अस्थायी भएपनि कहिलेकाहीका घटना र तथ्याङ्कहरु हेर्दा फरक अनुभूति हुने जनाउँदै उहाँले त्यो आभाषको पात्र रिजाल भएको प्रतिक्रिया दिनुभयो ।

उहाँका अनुसार सरकारका सुरक्षा, न्यायलगायतका अन्य अङ्गहरुको ठूलो जिम्मेवारीमा कर्णालीको सहभागिता अत्यन्तै न्यून छ । पत्रकार चलाउनेले भन्नुभयो, “जिल्ला प्रशासन कार्यालयको यति लामो इतिहासमै मध्य तथा सुदूरपश्चिमबाट कसैले पनि यो जिम्मेवारी सम्हाल्ने अवसर नपाउनुमा बक्र दृष्टिबाट हेरिएको हो या त्यो क्षमता नभएको हो ? यसमा अध्ययन, बहस होला नै तर धेरै विभेद मध्ये यो भौगोलिक विभेदको एक उदाहरण भने हो ।”

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका संस्थापक डीन पिताम्बर ढकालले प्रजिअ रिजालको ऐतिहासिक जिम्मेवारीले गौरवान्वित बनाएको बताउनुभयो । “यो घटनालाई हेर्दा कर्णाली शिक्षामा निकै पछि छ भन्ने बुझाउँछ,” डीन ढकालले भन्नुभयो, “यद्यपि पहुँच र बन्द राजनीतिले पनि कर्णाली त्यो तहमा पुग्न समय लागेको हो ।”

खुला राजनीतिको कारण सल्यानबाट मरिचमान सिंह प्रधानमन्त्री हुन पाएको दृष्टान्त बताउँदै उहाँले त्यही अवस्थाबाट अगाडि बढे कर्णालीले मुलुक हाँक्ने सामाथ्र्य राख्ने जनाउनुभयो । उहाँका अनुसार कर्णाली अब कमजोर छैन अपितु, बन्द राजनीतिक संस्कार अन्त्य हुनुपर्दछ । काठमाडौं प्रशासनमा प्रजिअ रिजाल र सप्रजिअ अधिकारीको ऐतिहासिक प्रवेशले भने कर्णालीमा खुशी छाएको छ ।

 

प्रतिकृया दिनुहोस्