सुर्खेत, १ माघः कर्णाली प्रदेशको विकास र समृद्धिको लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ ।
कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नु हुनेछ । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ७ को प्रावधान बमोजिम पहिलो पटक बैठक गर्न थालिएको प्रदेश योजना आयोगका प्रवक्ता सुदिशकुमार अर्यालले जानकारी दिनुभयो ।
“पहिलो बैठकमा प्रदेशको प्रथम आवधिक योजनासमेतमा छलफलगरी परिषद्का सदस्यहरुबाट मार्गदर्शन प्राप्त गर्ने बैठकको मुख्य उद्देश्य रहेको छ,” प्रवक्ता अर्यालले भन्नुभयो, “यसले प्रदेशले लिएको नीति तथा लक्ष्य प्राप्ति एवं योजना कार्यान्वयनमा सहयोग पुग्नुका साथै स्थानीय तह र प्रदेश सरकारको समन्वयमा प्रभावकारिता ल्याउने छ ।”
प्रदेश योजा आयोगका सदस्य डा.दीपेन्द्र रोकायले बैठकमा पञ्चवर्षीय योजनाको आधारपत्रको मस्यौदामाथि छलफल हुने बताउनुभयो । सदस्य डा.रोकायले भन्नुभयो, “मस्यौदामाथिको छलफलबाट हामी सुझाव र मार्गदर्शन प्राप्त गर्नेछौं । जसबाट प्रदेश सरकारले लिएको ‘सुखी कर्णाली र सुखारी कर्णालीबासी’ नारालाई सार्थक तुल्याउने छ ।”
उक्त बैठकमा परिषद्का सहअध्यक्ष एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, विभागी मन्त्रीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरु, प्रदेश प्रदेशसभा समितिका अध्यक्षहरु, प्रदेश योजना आयोगका सदस्यहरु, जिल्ला समन्वय समिति तथा नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षहरु प्रदेश सरकारबाट मनोनित ५ सदस्यहरु, प्रदेश सरकारका सचिवहरुगरी करिब १२० जनाको सहभागिता रहने जनाईएको छ ।
कोरपाटी संवाददातामाघ २, २०७६ सुर्खेत
४०३ पटक
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री