OnlinePana

आज : २०८१ मंसिर ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १, २०७८सुर्खेत
५४१ पटक

 १ साउन २०७८, शुक्रबार

साउने संक्रान्ति देशभर मनाएर शुक्रबार सम्पन्न गरिएको छ । कर्णालीले पनि आफ्नै संस्कृति र शैलीमा यो पर्व मनाएको छ । साउने संक्रान्तिसँगै यस वर्षबाट कणालीमा देउडा पर्वको औपचारिक उद्घाटन गरिएको छ ।

सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले साउन १ गतेको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । ‘मानो रोपेर मुरी’ उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण हिलो मैलो लागेर थाकेका किसानहरुले मैजाडो फाल्ने अर्थात् घपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गरिन्छ ।

लुतो तथा चर्मरोग रोगबाट मुक्त हुने मान्यताका आधारमा राष्ट्रियरुपमा मनाईदै आएको साउने संक्रान्ति पर्व कर्णाली प्रदेशका सन्दर्भमा भने अलि फरक छ । यो दिनमा कर्णालीमा विशेषगरी सल्लाको झरोबाट (चिरेको तेलयुक्त काठ) बनाईएको राँको बाल्ने प्रचलन छ । राँको बालेर खासगरी व्यक्ति तथा मानव समाजमा विद्यमान विकृत रोग, विकारयुक्त प्रवृति एवं तत्व सकिएर जाओस् भन्ने कामना गर्ने दिनका रुपमा बुझिन्छ यो दिनमा ।

संस्कृतिसम्बन्धी जानकारहरु यो पर्वले पृथक ऐतिहासिक, सामाजिक र साँस्कृतिक महत्व बोकेको बताउँछन् । कर्णालीवासीहरुले साउने संक्रान्तिमा विभिन्न परिकारयुक्त भोजन खाएर विशेष रुपमा मनाउने गर्दछन् । एउटै जस्तै देखिएपनि प्रचलित परम्परा अनुसार हरेक वर्ग, जाति, भेक क्षेत्रका मानिसहरुले आफ्नै मौलिक संस्कृतिका रुपमा मनाईदै आएको साउने संस्कृति सूचना र प्रविधि विकाससँगै यसका मौलिक पक्षहरु विस्मरण हुन थालेका छन् ।


सूचना र प्रविधिको तीव्रतम विकास, बढ्दो शहरीकरण, बसाईसराई, आधुनिक जीवनशैली जस्ता विभिन्न कारणले पछिल्लो समयमा विशेषतः कर्णालीका अधिकांश मौलिक संस्कृतिहरुको स्वरुप फेरिँदै गएको छ । बिहेबारी, व्रतबन्ध, रत्यौली, रुद्रीकथा, मेला (पैठ) मालिकाको पूजाआजालगायत शुभ अवसरमा गाईने झोडा, मागल (मंगलगान) चरण, धमारी आदि सुनिन छोडेका छन् ।

परिवर्तित जीवनशैलीसँगै मानवीय व्यवहार, आचारणमा फरक पनि देखिन थालेका छन् । कर्णाली ईतरका समाजमा न्याउली तथा कोईलीको भाकामा गाईने गीतहरु पनि लोप हुँदै गएका छन् । मौलिक संस्कृति, सृजनात्मक गतिविधि तथा रचनात्मक कार्यहरुको कमी हुँदै गएको छ ।

बनिबनाउ गीत, पश्चिममा संस्कृति मुखरित डिजे संगीत आजको युवा चाहानाको केन्द्रबिन्दु बन्दै आएको छ । यसले नेपाली संस्कृतिसँग सम्बन्धित विशेषतायुक्त गीत संगीतको विस्थापित गरेको छ । आयतित संस्कृति र जीवनशैलीले विद्यमान संस्कृति रक्षा गर्न डरलाग्दो चुनौती खडा भएको कनकासुन्दरी गाउँपालिका निवासी तथा कलाकार सूर्यमणि हमालले बताउनुभयो ।

कर्णालीको मष्टो परम्परादेखि ‘पुस १५’, अघिल्लो वा पछिल्लो माघे संक्रान्ति होस् या चैतमा मनाईने बारुवाँ, सोह्रुवा, बिसुवाँ वा साउनमा मनाईने साउने संक्रान्ति, यी यस्तै पर्वहरुको साँस्कृतिक मौलिकपन विस्तारै लोप हुँदै जान थालेपछि यहाँको पाको पुस्ता चिन्तित बन्दै गएको छ । संस्कृति, संस्कार र राम्रा प्रथाहरु सम्पति भएकोले तिनको जगेर्ना गर्नुपर्ने उनीहरुले औंल्याउँदै आएका छन् ।

कर्णालीका संस्कृतिसम्बन्धी जानकार तथा ‘खसिया आखर’का सम्पादक रमानन्द आचार्यले पछिल्लो पुस्ताको जीवनशैली र क्रियाकलापले यहाँको भाषा, कला, साहित्य र संस्कृति खतरा अवस्थामा पुगेको चिन्ता प्रकट गर्नुभयो । हरेक संस्कृति र सभ्यता कुनैपनि समुदाय, भेक, क्षेत्र र भाषा र जातिको सामाजिक, साँस्कृतिक पहिचान र अस्तित्वसँग जोडिने भएकोेले तिनको जगेर्ना गर्नु राज्य, सरकार र सरोकारवाला सबैको दायित्व भएको उहाँले सुझाउनुभयो ।

सम्पादक आचार्यले भन्नुभयो, “कर्णालीमा मनाईने साउने संक्रान्तिको आफ्नै ऐतिहासिक, धार्मिक र साँस्कृतिक बुझाई छ । साउन १ गतेको दिनमा आरुको काठमा चिरेको झराले बनाईएको राँको (सल्लाको तेलले भरिएको काठबाट बनाईएको दियालो) बालिन्छ र त्यो समयमा लुतोपुतो, खाइने, खड्किने, जल्ने, पोल्ने शरीरमा भएका सबै रोगव्याधि गईजाओस् (समाप्त होस्) अर्थात मुक्त हुन सकियोस् भनेर कामना गरिन्छ ।”

उहाँले थप्नुभयो, “साउने संक्रान्तिमा राँका (दियालो) बाल्ने प्रचलनलाई दुईवटा दृष्टिकोणबाट बुझ्ने गरिन्छ । पहिलोः राजा बलिराजले राजकाज सम्हाल्दा खुशीयालीमा राँका बाल्न शुरु गरियो भन्ने बुझाई छ । दोस्रोः यो राँका बाल्ने संस्कृतिले लंका जलाएको सम्झना गर्ने प्रचलन छ ।” खासगरी यो पर्वमा बेलुका राँको जलाउनुको साथै गुनाको पुच्छर, कैंयारको बिरुवा, थोरै चामल, घरको कुनाको धुलो कुटिरो बनाएर निश्चित तोकिएको ठाउँमा सेलाउने प्रचलन रहेको उहाँको भनाई छ ।

विशेषगरी साउने संक्रान्तिलाई देउडा पर्वका रुपमा मनाउने र आपसी बन्धुत्व, भातृत्व, भगिनीत्व र मित्रवत् सम्बन्ध कायम राख्ने यी दुवै पर्वबाट मौलिक संस्कृति संरक्षणका लागि ढिलै भएपनि यहाँको युवा पुस्ता र कर्णाली प्रदेश सरकारले विशेष कदम चालेको छ । प्रदेश सरकारले राजपत्रमै प्रकाशन गरेर साउने संक्रान्तिमा देउडा पर्व थप्यो र आधिकारिकरुपमा गत वर्षबाट सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

हरेक महिनाको १ र १५ गते राजधानी वीरेन्द्रनगरमा अनौपचारिक रुपमा खेलिने देउडा कोरोना महामारीका कारण रोकिएको थियो । यद्यपि आर्थिक वर्ष ०७८÷०७९ को शुरुआतको दिन साउन १ गने शुक्रबार कर्णाली प्रदेश पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले राजधानी सुर्खेत देउडाको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

पूर्वमन्त्री भण्डारीले कर्णालीको सुख, दुःख, कला, साहित्य, विकास, नागरिक चासो, राजनीतिबारे गीत र खेलका माध्यमबाट सरल तरिकाले उजागर गर्दै आएको देउडा संस्कृतिले विशिष्ट पहिचान बोकेको उल्लेख गर्नुभयो । “भाषाको उद्गमस्थल, संस्कृति र सभ्यताको मूल थलो कर्णालीमा गाईने र खेलिने देउडाले उहिलेदेखि आजसम्म आवश्यक सञ्चारको काम गर्दै आएको छ,” उहाँले भन्नभयो, “नयाँ युवा पुस्ताले गरेको शुरुआत स्वागतयोग्य छ ।”

मन्त्री भण्डारीले आफ्नो कार्यकालमा यसलाई सार्वजनिक विदा दिने निर्णय गरिएको बताउँदै देउडा संरक्षणको अभियानमा जुम्ली एकता सेवा समाजसँग आवद्ध युवाहरुसँग सहयात्री बनेर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नुभएको थियो । उहाँका अनुसार कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वको ऐतिहासिक महत्वको आवश्यकता बोध गर्दै मौलिक संस्कृतिको जगेर्ना गर्न सघाउने उद्देश्यका साथ चैत्र १२ गते धान दिवस र असोजमा चन्दननाथ मन्दिरमा लिङग हाल्ने (ठठ्याउने) दिनलाई पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

जुम्ली एकता सेवा समाजका सदस्य अमृत पाण्डेले कर्णालीको ऐतिहासिक, सामाजिक, साँस्कृतिकसहित राजनीतिक जीवनसँग मेल खाने विषयवस्तुका बारेमा गितीलयबाट बोल्ने देउडा संरक्षण र सम्वद्र्धनको प्रारम्भिक यात्रा तय गरिएको बताउनुभयो । उहाँका अनुसार समाजले प्रदेश राजधानी सुर्खेतमै देउडा खेल्नुका साथै बेलुका ७ः०० बजे राँको बालेर साउने संक्रान्ति तथा देउडा पर्व मनाएको थियो ।

जुम्लाका युवा नेता एकराज चौलागाईले कर्णालीको विराट संस्कृति र ईतिहास बोकेको देउडालाई प्रदेश सरकारले पर्वका रुपमा संस्थागतरुपमा सार्वजनिक विदा दिएर यसको ओज बढाएको बताउनुभयो । “देउडा हरेक व्यक्तिको जिब्रो झुण्डिएको भाषा, देखाई कला, साहित्य र सृजना हो,” उहाँले भन्नुभयो, “यसले कर्णालीका नागरिकहरुको सामाजिक, साँस्कृतिक अवस्थाको वास्तविक चित्रण गीत र हाउभाउका माध्यमबाट गर्दछ ।”

विशेषगरी हरेक अवसरमा खेलिने देउडा र माटे घरको छतमा, मिलेको थाडो, बाडो र ओटालोमा बालिने राँको अहिले जस्ताले बनेका घरका कारण शोभा घट्दै गएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । एकातिर राँको बाल्ने, अर्कोतिर मान्छेहरुको थाडो (छत)मा संस्कृति अनुसारको देउडा लगाईने संस्कार आजपनि भएको यद्यपि कम हुँदै गएको अध्यक्ष न्यौपानेले जनाउनुभयो ।

तिला गाउँपालिकाका स्थानीय बिजुली सिंहले देउडाका पारखीहरुको अवसानसँगै देउडा र साउने संक्रान्तिको रौनक घटदै गएको बताउनुभयो । “आजकालका ठेटाठेटी (युवायुवती) हरु डेक लगाएर नाच्छन् । अर्काकै गीतमा रमाउँछन् । हाम्रो पालामा हामी आफै गीत सृजना गरेर नाच्थ्यौं, गाउँथ्यौं, रमाउँथ्यौं । अचेल न हामी उनका गीत बुझ्छौं नत उनीहरु हामीले गाएको बुझ्छन् ।” सिंहले भन्नुभयो ।

आधुनिक फेसन, क्रियाकलाप, परिवर्तित बानी व्यवहार, रहनसहनले पछिल्लो समयमा पाको र नयाँ पुस्ताबीचको सम्बन्धमा अन्तराल ल्याएको उहाँको भनाई थियो । यसले सामाजिक मूल्य, मान्यता र संस्कारमाथि आक्रमण गर्दै गएको भन्दै उहाँले हाम्रो मौलिक संस्कृति र परम्परा संकटमा पर्न अवस्थामा पुगेको औंल्याउनुभयो ।

सामाजिक तथा साँस्कृतिक कार्यहरुमा खेलिने देउडा सुदूर तथा मध्यपश्चिम नेपालको लोकप्रिय खेल हो । सामाजिक परिवेशलाई गितीलय, भाका, कविता, व्यंग्य प्रहरसन र कथाका माध्यमबाट चित्रण गर्ने यो खेल यहाँको अस्तित्व र मौलिकता रक्षाको प्रमुख कडी मानिन्छ ।

त्यस्तै, साउने संक्रान्तिमा राँको बालेर लुतो पाउडो लैजा भन्ने संस्कृति विश्वको दुर्लभ मानिन्छ यी दुवै पर्वको संरक्षण र यिनबाट प्राप्त हुने मनोरञ्जन, आनन्द र खुशीको प्रचार हुन जरुरी छ । जुन पर्व आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि खुशी र आनन्द लिने माध्यम बन्न सक्छन् भने अनुसन्धानकर्ताका लागि अध्ययन तथा अन्वेषणको बन्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्