OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ २०, २०७८
८६५ पटक

२० जेठ २०७८, बिहीबार

नेकपा एमालेका बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई आफ्नै समूहका चारजना नेताले ध्यानाकर्षण पत्र बुझाएका छन् । अब फेरि पनि केपी ओलीसँग सम्झौता गर्ने हो भने झलनाथ–माधव समूहहरुको राजनीति सिद्धिने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

केपी ओलीको बहिर्गमन अबको एकमात्र विकल्प भएको बताउँदै तीनजना पोलिटब्यूरो सदस्य र एकजना केन्द्रीय सदस्यले खनाल र नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । बरिष्ठ नेताद्वय खनाल र नेपालका साथै स्थायी कमिटीलाई समेत सम्वोधन गरेर पत्र बुझाउनेहरूमा पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र केन्द्रीय सदस्य राजेन्द्र राई छन् ।

‘गत जेठ २ गते नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्नका लागि १० सदस्यीय कार्यदलको गठन गरिएको थियो, त्यसले आजसम्म काम गरिरहेको छ भन्ने सूचनाहरु प्राप्त गरेका छाँै’ चार नेताको पत्रमा भनिएको छ, ‘खनाल–नेपाल पक्षका प्रमुख नेताहरुलाई पार्टीबाटै निष्कासन गरिसकेको, कार्यदलका सदस्यसमेत निष्कासित भइसकेको अवस्थामा त्यो कार्यदलको औचित्य नै समाप्त भइसकेको हुनुपर्नेमा कार्यदलकै नाममा छलफल भइरहेको भन्ने सुन्न पाउनु आफैमा आश्चर्यजनक छ ।’

स्थायी कमिटीका सदस्यहरु कोही वार्तामा जाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुगेको पत्रमा उल्लेख छ । पत्रमा अगाडि भनिएको छ, ‘आजको आवश्यकता केपी सरकारको बहिर्गमन हो र राजनीतिक दलहरुसँगको सहकार्य हो । यतातिर गम्भीर ढंगले ध्यान जानुपर्दछ भन्ने हाम्रो ठहर छ ।’

केपी ओलीले देश र जनतामाथि घात गरिरहेको भन्दै अब फेरि उनैलाई जोगाउनेतिर लाग्ने हो भने आफ्नो समूहको अस्तित्व समाप्त हुने ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

चार नेताले बुझाएको पत्रमा केपी ओलीको आलोचना गर्दै भनिएको छ–

‘केपी ओली नेतृत्वको सरकार आज संकटमा परेको छ । उनको लोकप्रियता समाप्त प्रायः छ । देशभित्रको राननीतिक शक्ति सन्तुलन उनको विपक्षमा गइरहेको छ । तसर्थ उनी विदेशी शक्तिको आडमा टिकिरहेका छन् । उनीहरुको स्वार्थका लागि काम गरिरहेका छन् र स्वदेशी तथा विदेशी दक्षिणपन्थीको प्यादा बनेर देशको संविधानमाथि आक्रमण गरिरहेका छन् भन्ने विश्लेषण हाम्रो विचार समूहकै साझा ठहर हो भन्ने देशभरिकै कार्यकर्तालाई जानकारी छ । उनी र उनका समर्थकहरु यतिबेला प्रतिगमन र देशघातको नेतृत्व गर्दैछन् । यति गम्भीर पक्षहरू जान्दा जान्दै उनको अपराधजन्य कार्यहरुलाई ढाकछोप गर्ने गरी कुनै बहानामा जोगाइदिने, पार्टीमा विद्रोह गर्ने हजारौँ कार्यकर्ता तयार भएको बेलामा त्यसलाई तुहाइदिने, अब केपी ओलीसँग मिल्न सकिँदैन भनेर निष्कर्ष निकाली अन्य राजनीतिक दलसँग सहकार्यको थालनी गरेको दिनदेखि नै घात गर्न थाल्ने कार्यले हामीप्रतिको विश्वसनीयता र व्यक्तित्वलाई मात्र समाप्त गर्दैन, समग्र राजनीतिलाई झन दूषित बनाउने समूहको रुपमा चित्रित हुनेछौँ । हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र वैचारिकरुपले घरको न घाटको बन्ने दिशामा हिँड्न थाल्यौँ भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन ।’

ध्यानाकर्षण पत्रमा विभिन्न १० वटा बुँदा उल्लेख गरिएका छन् । हेर्नुहोस् पत्रको पूर्ण विवरण–

 

 

प्रतिकृया दिनुहोस्