OnlinePana

आज : २०८१ कार्तिक १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ३, २०७६ सुर्खेत
७७६ पटक

सुर्खेत, ३ भदौ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्कदै गर्दा उहाँ चढेको गाडी दैलेखको टुनीबगरमा रोकियो । गाडीबाट झरेर मुख्यमन्त्री शाही सरासर बाटोछेउमै रहेको टिनले बारेको खाजा पसल छिर्नुभयो ।

राकम बजारमा खाना खानु भएका मुख्यमन्त्री शाही टुनीबगरमा झरेर खाजापसलमा छिर्दा उहाँसंगै आईरहेका अन्य गाडीमा सवार नेता कार्यकर्ता बीच के भएको भनेर कानेखुशी चल्यो । मुख्यमन्त्रीका स्वकीय सचिवले सानो भेटघाट रहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री खाजापसल छिरेको केहीबेरमै नेपाल विद्युत प्राधिकरणको दैलेख कालिकोट विद्युत प्रशारण लाईन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरीसहितको टोली पनि सोही पसलमा छिर्यो । अनि शुरु भयो कालीकोट जुम्ला विद्युत प्रसारण लाईन विस्तारको प्रगतिको अवस्थाको बारेमा छलफल ।

छलफलमा आयोजना प्रमुख चौधरीले विद्युत प्रसारण लाईन विस्तारको कार्य तीव्रताका साथ अघि बढेको र बीचमा पर्ने केही रुख कटान तथा कालिकोट सदरमुकाम मान्मामा सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिनुभयो ।

त्यस लगत्तै मुख्यमन्त्री शाहीले कालिकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका मेयरलाई टेलीफोन गरेर सवस्टेशनको लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभयो । रुख कटान सम्बन्धी समस्या हल गर्न पनि आफुले पहल गर्ने प्रतिवद्धता मुख्यमन्त्री शाहीले छ महिनाभित्रै कालीकोटमा राष्ट्रिय प्रसारण लाईनको विद्युत सेवा उपलब्ध गराउन आयोजना प्रमुख चौधरीलाई निर्देशन दिनुभयो ।

छलफल पछि आयोजना प्रमुख चौधरीले सवस्टेशन निर्माणको कार्य जारी रहँदा पनि ११ केभिए क्षमताको विद्युत सेवा उपलब्ध गराउन सकिने बताउदै ६ महिना भित्र कालिकोट सदरमुकाम मान्मामा वितरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कर्णाली करिडोरमा धमाधम चलिरहेको लाईन विस्तारको कामले पनि मुख्यमन्त्री शाही उर्जामन्त्री हुँदा कर्णालीका दुर्गम जिल्लाहरुमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुरयाउन गरेको पहलले सार्थकता पाउदै गरेको देखिन्छ ।

प्रतिकृया दिनुहोस्