
२० जेठ २०८३, बुधबार
सुर्खेतः कर्णाली प्रदेशमा प्रथम यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना हुने गरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा जेठ २२ गतेदेखि असार एक गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने भएको हो । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काले आज सुर्खेत वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत प्रतियोगितामा देशका सातवटै प्रदेशका खेलाडी तथा अफिसियल्स गरी करिब ५३० जना सहभागिता रहने बताउनुभयो ।
यसका लागि सम्पूर्ण तयारी भएको बताउँदै कोषाध्यक्ष खड्काले कर्णालीमा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना हुँदै आएको र यस पटकको प्रतियोगिताले पनि प्रदेशको खेलकुद विकासमा नयाँ आयाम थप्ने दावी गर्नुभयो । गत वर्ष कर्णालीमा १६ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने थप अवसर मिलेको उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, “महिला क्रिकेटको इतिहासमा कर्णालीमा आयोजना हुन लागेको यो पहिलो राष्ट्रिय प्रतियोगिता ऐतिहासिक कोसेढुङ्गा सावित हुनेछ । प्रतियोगिता सन् २०२७ मा हुने आईसीसी यु–१९ महिला विश्वकपका लागि नेपाली टोली छनोटको महत्वपूर्ण आधार बन्ने अपेक्षा गरेका छौं । यसले देशभरका प्रतिभावान महिला क्रिकेटरहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै कर्णालीलाई राष्ट्रिय खेलकुद गतिविधिको महत्वपूर्ण केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्नेछ ।”
प्रतियोगिता सञ्चालनका लागि खेल मैदान, आवास, यातायात, सुरक्षा तथा स्वास्थ्य सेवासहित आवश्यक व्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । कोषाध्यक्ष खड्काका अनुसार प्रतियोगितामा विजेता टोलीले रु.पाँच लाख र उपविजेताले रु.तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु.४० हजार ,उत्कृष्ट ब्याटर तथा बलरलाई जनही रु.२५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’लाई रु.तीन हजार प्रदान गरिने संघले जनाएको छ ।





