
२० जेठ २०८३, बुधबार
सुर्खेतः कर्णाली प्रदेशका स्थानीय तहका दलित जनप्रतिनिधिहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममार्फत् यहाँका ७९ स्थानीय तहका जनप्रतिनिधिहरुलाई मानसिक स्वास्थ्य र नसर्ने रोगबारे सचेतना प्रदान गरिएको हो । उक्त कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लएचओ)का प्रतिनिधि प्रदीप अधिकारीले नसर्ने रोगबाट विश्व मानव समुदाय आक्रान्त बन्दै गएकोले हरेक देश र नागरिकले यसबारे सजग हुन सुझाउनुभयो ।
नसर्ने रोगको पहिचान, नियन्त्रण तथा रोकथामका लागि थुप्रै प्रयास भइरहँदा पनि विश्वमा लाखौं र नेपालमा हजारौं मान्छेहरुले ज्यान गुमाउनुपर्ने अवस्था व्यहोर्दै आएकोले मानसिक तथा शारीरिक स्वास्थ्य बचाउन व्यक्ति स्वयंले आफ्नो जीवनशैली सुधार्नुपर्ने र सरकारले जारी गर्ने नीति निर्देशन अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका मानसिक रोग विशेषज्ञ डा.सुशील समदर्शीले पछिल्लो समयमा मानसिक तथा नसर्ने रोग समाजमा भयावह बन्दै गएको जनाउनुभयो । गरिबी, अशिक्षा, अभाव, सूचना तथा प्रविधि, सामाजिक सञ्जाल तथा बदलिँदो जीवनशैलीका कारण हरेक परिवार तथा समाजमा मानसिक रोग देखिन थालेको र यसले चिन्ता, उदासिनता तथा आत्महत्या जस्ता घटना बढ्दै गएकोले समयमै यसको पहिचानका साथै नियन्त्रण तथा रोकथामका उपायबारे उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय सुर्खेतका मानसिक स्वास्थ्य कार्यक्रमका सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले नसर्ने मुटुरोग, हाइपरटेन्सन, क्यान्सर, मधुमेह, दीर्घ श्वासप्रश्वासको समस्या जस्ता रोगहरु बढिरहेकोले त्यसबारे स्थानीय तहका दलित जनप्रतिनिधिहरुलाई जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम गरिएको बताउनुभयो । यसबाट समयमै रोगको पहिचान भई अकाल मृत्यु हुनबाट जोगाउने सहयोग मिल्ने उहाँको भनाई थियो ।
उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य रनसिंह परियार, प्रदेशसभाका पूर्वसदस्य सीता नेपाली, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, गुर्भाकोट नगरपालिकाका उपाध्यक्ष मैना विक, चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकलगायतका स्थानीय तहका कार्यपालिका सदस्यसहित ९५ जनाको सहभागिता रहेको थियो ।





