OnlinePana

आज : २०८३ जेठ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २०, २०८३काठमाडौं
१० पटक

२० जेठ २०८३, बुधबार

सुर्खेतः स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय काठमाडौंले राष्ट्रिय जनसंख्या नीति २०८२ को सार्वजनिकीकरण तथा अभिमुखीकरण गरेको छ ।

मन्त्रालयले कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आज उक्त नीति सार्वजनिक गरी यहाँका सरोकारवालाहरुलाई अभिमुखीकरण गरेको हो । उक्त कार्यक्रममा मन्त्रालयका जनसंख्या व्यवस्थापन महाशाखाका सहसचिव हेमराज सुवेदीले राष्ट्रिय जनसंख्या नीति २०८२ का विशेषता तथा नीतिको समग्र विषयमा आफ्नो प्रस्तुत राख्नुभयो ।

उहाँले राष्ट्रिय जनसंख्या नीति नै मार्गदर्शक नीति भएकोले यसैमा रहेर प्रदेश सरकार तथा स्थानीय तहले आ–आफ्नो नीति बनाउन आग्रह गर्नुभयो । “यसमा विकास साझेदार तथा अनुसन्धानरत निकायहरुको महत्वपूर्ण भूमिका छ,” सहसचिव सुवेदीले भन्नुभयो, “नीतिमा टेकेर काम गरौं । यही नीतिको सहयोगबाट सार्वजनिक स्रोतको व्यवस्थापन गर्न सकिन्छ ।”

उहाँले नीतिमा चार उद्देश्य, २० विशेषता, २७ रणनीति, १२० कार्ययोजना र दुईवटा अनुसूची रहेको जनाउँदै नीति कार्यान्वयनका संस्थागत, कानूनी, वित्तिीय व्यवस्थाका साथै समन्वय र सामञ्जस्य, जोखिम पहिचान र व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा पुनरावलोकन, कार्ययोजना, नीति खारेजी तथा बचाउँका बारेमा जानकारी दिनुभयो ।

मन्त्रालयका जनसंख्या व्यवस्थापन महाशाखा (तथ्याङ)का उपसचिव झविन्द्रप्रसाद पाण्डेयले नेपालको समग्र जनसांख्यिक अवस्थाबारे आफ्नो प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले लागु औषध, सडक दुर्घटना, आत्महत्या जस्ता घटनाहरु पछिल्लो समयमा बढिरहेकोले ती समस्या समाधान गर्ने नीति बन्नुपर्ने र त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।

संयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) नेपालका अधिकृत तीर्थमान तामाङले बुहप्रतिक्षित नीति बन्नुमा देशको ठूलो उपलब्धि भएको बताउँदै प्रदेश र स्थानीय सरकारहरुको बीचमा सहकार्य समन्वयमा यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको सेवा, पहुँचको चुनौतिका साथै बदलिदो जनसांख्यिक अवस्थालाई यो नीतिले सम्बोधन गर्ने र यसको कार्यान्वयमा जनसंख्या कोषको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले बन्ने हरेक नीतिहरु सैद्धान्तिक भएको टिप्पणी गर्दै विद्यमान नीतिहरुको संशोधन र अब बन्ने नीतिहरु नागरिकका आवश्यकता र समस्यालाई सम्बोधन गर्ने व्यवहारिक र वैज्ञानिक तथा ती नीतिहरु सकरात्मक विभेदका आधारमा कार्यान्वयनमा जानसके मात्र सामाजिक न्याय हुने सुझाव दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्