
१७ जेठ २०८३, आइतबार
राज्यको विभिन्न तहमा पुगेका र सफलता हाँसिल गरेका कर्णालीका विभिन्न क्षेत्रमा सफल महिलाहरुले शिक्षा, निरन्तर मेहनत र आत्मविश्वासबाट जीवनका कठिन चुनौतीहरुलाई अवसरमा बदल्न सकिने बताएका छन् ।
ज्योति फाउण्डेसनद्वारा सुर्खेत वीरेन्द्रनगरमा शनिबारदेखि जारी ‘कर्णाली छोरी सम्मेलन–२०८३’ दोस्रो संस्करण कार्यक्रममा ‘ज्ञानको उज्यालोमा छोरी’ शीर्षकमाथिको छलफलमा उनीहरुले यस्तो बताएका हुन् । छलफलमा लोक सेवा आयोग कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष वसन्तीकुमारी सिंह शाही, नेपाल सरकार सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेत, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सचिव रोशनीकुमारी श्रेष्ठ सहभागी थिए ।
पत्रकार नेत्र केसीले सहजीकरण गर्नुभएका उक्त छलफल उनीहरुले आफ्ना संघर्ष र सफलताका अनुभव सुनाउँदै गर्दा कर्णालीका छोरीहरुलाई शिक्षा र आत्मनिर्भरताको बाटो रोज्न उत्प्रेरित गरे । आयोगका कार्यवाहक अध्यक्ष बसन्तीकुमारी सिंह शाहीले बझाङमा जन्मिएर हुम्लाको खार्पुनाथ गाउँपालिकामा विवाह गरेपछि पनि यो अवस्थामा आउँदै गर्दा गर्नुपरेका दुःख र संघर्षको कथा सुनाउनुभयो । कर्णाली त्यसमा यहाँका महिला तथा छोरीहरुले गर्ने संघर्षको कथाभित्र थुप्रै व्यथा लुकेको उहाँको भनाई थियो ।
विवाहपछि पनि अध्ययनलाई निरन्तरता दिँदै ५–६ महिनाको बच्चा काखमा राखेर एसएलसी उत्तीर्ण गरेको बताउनुभएकी उहाँले दृढ इच्छाशक्तिका अगाडि जस्तासुकै बाधाहरु पन्छिएर जान तथा त्यसका लागि हार कहिल्यै मान्न नहुने तर्क गर्नुभयो । घरपरिवारको जिम्मेवारीसँगै उच्च शिक्षा हासिल गर्दै दुई विषयमा स्नातकोत्तर तह पुरा गर्नु भएकी शाही फेरी पनि अर्को विषय स्नातकोत्तर अध्ययनरत रहेको बताउनुभयो । उहाँबाट कठोर संघर्ष र निरन्तर लगावबाट शिक्षक हुँदै हाल लोक सेवा आयोग कर्णाली प्रदेशको नेतृत्वसम्मको यात्रा तय गर्न सफभएको अनुभव सुनाउनुभयो ।
त्यसैगरी, नेपाल सरकारका सचिव लक्ष्मीकुमारी बस्नेतले व्यक्तिको ईच्छाशक्ति, सोच र परिवारबाट प्राप्त समान अवसरले सफलता हात पर्ने बताउनुभयो । शिक्षाप्रतिको सकारात्मक सोचले आफुलाई सफलताको मार्गमा अघि बढाएको बताउँदै सुर्खेतबाट स्नातक तह पूरा गरेपछि काठमाडौंमा एमबीए अध्ययन गरी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव सुनाउनुभयो ।
आफ्नै ठाउँमा योगदान गर्ने उद्देश्यले जागिर छोडेर सुर्खेत फर्किएको र त्यसपछि लोक सेवा आयोगको तयारी गरी विसं.२०६३ सालमा अधिकृत र २०६७ सालमा पहिलो प्रयासमै सहसचिवमा नाम निकाल्न सफल भएको उहाँको भनाई थियो । आत्मविश्वास र साहस राखेर संयता अपनउँदै अगाडि बढ्न् छोरीहरुलाई सुझाउनुभयो ।
त्यस्तै, दैलेखकी पहिलो महिला शाखा अधिकृत रोशनीकुमारी श्रेष्ठले निरन्तर मेहनत र लगनशीलताले निजामती सेवामा सफलता हासिल गर्न सकिने बताउनुभयो । पहिलो प्रयासमा असफल भए पनि हार नमान्दै पुनः तयारी गरेर विसं.२०६२ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भएको अनुभव सुनाउँदै उहाँले जीवन हार नखान सन्देश दिनुभये । शिक्षा र चेतनाको स्तर बढ्दै गए पनि आर्थिक अवस्था र सुरक्षाका चुनौती अझै विद्यमान रहेकोले यसमा राज्यले विशेष ध्यान दिनुपर्ने उहाँको भनई थियो ।




