
३ जेठ २०८३, आईतबार
सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले काँग्रेको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सुत्र’ जारी गरेको छ ।
नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समिति सुर्खेतद्वारा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भई आज सम्पन्न काँग्रेसको ‘बृहत्तर एकता तथा भावी कार्यदिशा’ विषयक विचार गोष्ठीबाट दश बुँदे सुत्र जारी गरिएको हो । सम्पन्न गोष्ठीबाट जारी सुत्रको पहिलो बुँदामा नेपाली काँग्रेसको १५औं महाधिवेशनलाई एकताको महाधिवेशनका रुपमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यसैगरी दोस्रो बुँदामा कन्द्रीय अनुशासन समितिमार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कारवाही तथा मागिएका स्पष्टीकरण फिर्ता लिई बृहत्तर एकताको वातावरण बनाउन आह्वान गरिएको छ । त्यस्तै, समावेशी सिद्धान्त, वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा २५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिवद्धतासहित भूराजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण बनाउनुपर्ने, लोकतान्त्रिक व्यवस्था र संघीय शासन प्रणालीको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरुबीचको साझा संयन्त्र निर्माणमा तत्काल प्रभावकारी पहल गर्नुपर्ने विषय दश बुँदे सुत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी, महंगीबाट प्रताडित जनतालाई राहत दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, सन्धि, सम्झौता अनुसार गठित टे«ड युनियन हक अधिकार सुनिश्चित गर्न, प्राकृतिक प्रकोपबाट जनतालाई बचाउन, सदनमा जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न, नेपाल सरकारको आर्थिक वर्ष २०८३÷०८४ को बजेट तथा कार्यक्रममा कर्णाली विकासका लागि उल्लखेनीय व्यवस्थाका निम्ति सरकारसँग आवश्यक समन्वय एवं पहल गर्न केन्द्रीय नेतृत्वलाई अनुरोध गर्नेलगायतका विषयलाई समेटेर दश बुँदे सुत्र जारी गरिएको नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समिति सभापति ललितजंग शाहीले जानकारी दिनुभयो ।





