OnlinePana

आज : २०८३ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १४, २०८३
४० पटक

१४ बैशाख २०८३, सोमबार

सुर्खेतः ‘अन्तर्विषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणको युगमा दीगो भविष्य निर्माण’ भन्ने मूल नारासहित आईतबार कर्णालीमा ‘बहुविषयगत अन्तर्राष्ट्रिय सम्मेलन–२०२६’ सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा बैशाख ११–१३ गतेसम्म सञ्चालन भई सम्पन्न भएको उक्त सम्मेलनबाट कर्णालीलाई केवल सम्मेलन आयोजक बनाउने मात्र नभई यसलाई संभावनाको बौद्धिक मानचित्रमा स्थापित गर्ने प्रयास भएको निचोड निकालिएको छ । यसको सबैभन्दा ठूलो उपलब्धि अनुसन्धान संस्कृति, शैक्षिक संवाद र सरोकारवालाहरुबीचको साझेदारीलाई एउटै राष्ट्रिय–अन्तर्राष्ट्रिय मञ्चमा ल्याउनुभएको उक्त विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक तथा सम्मेलन व्यवस्थापन समितिका संयोजक डा.यदुप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली डायस्पोरासँग बलियो र नियमित सहकार्य गर्न ‘डायस्पोरा सम्पर्क कार्यालय’ स्थापना, कर्णालीको समृद्ध जैविक विविधताको उपयोग गर्न ‘डिजिटल हर्बेरियम तथा वेलनेस पर्यटन पहल’ सुरु, सांस्कृतिक तथा भाषिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय भाषामा एआई उपकरणहरु विकास, विश्वविद्यालयहरुलाई अझ वातावरणमैत्री बनाउन ‘हरित क्याम्पस रोडम्याप’ कार्यान्वयन गर्ने र प्रगति अनुगमन तथा नतिजा सुनिश्चित गर्न बलियो अनुगमन तथा मूल्याङ्कन प्रणाली स्थापना गर्नेलगायतका निष्कर्ष निकालिएको छ ।

त्यस्तै, विश्वविद्यालयका योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा.विष्णुकुमार खड्काले सम्मेलनमा भएको छलफल ठोस प्रतिबद्धतामा रुपान्तरण गर्ने महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले मानवीय मूल्यद्वारा निर्देशित प्रविधि, विभिन्न क्षेत्रहरुबीचको सहकार्य र स्थानीय बुद्धिमत्तासँग मिल्ने विश्वव्यापी ज्ञानबाट मात्र वास्तविक प्रगति हुन सक्ने सम्मेलनले देखाएको जनाउनुभयो । उहाँका अनुसार सम्मेलनमा उठान भएका मुद्दाहरु प्रभावकारी कार्यान्वयन गर्न व्यवहारिक कार्यहरुमा ध्यान दिनुपर्छ ।

सम्मेलनबाट आएको एउटा स्पष्ट सन्देश ‘डिजिटल विभाजनको विरोधाभास’ ठहर गर्दै भनिएको छः “हामी डिजिटल उपकरणहरु प्रयोग गर्न चाहन्छौं तर दुर्गम क्षेत्रका मानिसहरु पछाडि नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ । डिजिटल प्रगतिले असमानता बढाउनु होइन, घटाउनुपर्छ । नयाँ विचार एवं दृढ संकल्पसहित अगाडि बढ्नुपर्छ । कर्णालीलाई थप सम्मेलनहरु मात्र होइन, निरन्तर सहकार्य, लगानी र व्यवहारिक कार्य आवश्यक छ ।”

उक्त सम्मेलनले विशेषगरी ज्ञान, मानवीय मूल्य, एआईको स्थानीय एवं व्यवहारिक प्रयोग, उद्यमशीलता, अनुसन्धान, मूल्याङ्कन प्रणाली, कृत्रिम बुद्धिमत्ता, डिजिटल तथा आर्थिक रुपान्तरणमा प्रवासीहरुको भूमिका जोड्न सक्ने नीतिमा जोड दिएको छ भने मूलतः अन्तर्राष्ट्रिय अनुसन्धान सञ्जाल, नीति सिफारिस र ज्ञान केन्द्रका रुपमा कर्णालीको पुनस्र्थापना हुने अपेक्षा गरेको छ ।

प्रतिकृया दिनुहोस्