OnlinePana

आज : २०८३ बैशाख ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २, २०८३
१९ पटक

२ बैशाख २०८३, बुधबार

सुर्खेतः प्राकृतिक तथा अध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने बलियो आधार भएको अनुसन्धानदाताहरुले बताएका छन् ।

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा अनुसन्धानदाता तथा खोजकर्ताहरुले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार भएको बताएका हुन् । योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी हरि उपाध्यायले आफ्नो प्रस्तुति राख्दै कर्णाली प्राकृतिक तथा अध्यात्मिक हिसाबले आरोग्य हबका रुपमा विकास गर्न सकिने आधार बलियो रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जडिबुटी अर्थात् प्राकृतिक स्रोत, लोक चिकित्सा, योग ध्यान, सामुदायिक जीवन, पर्यावरणीय पक्ष, वैदिक पद्धति, आयुर्वेदक÷प्राकृतिक चिकित्सा (सोवा रिग्पा) र खानपान तथा जीवनशैली आरोग्य हब बनाउन सकिने बलिया आठ आधार हुन् । यसका लागि कर्णालीलाई योग ध्यान आरोग्य केन्द्रित गन्तव्य बनाउने, परम्परागत र आधुनिक प्रणालीको समन्वय, स्थानीय स्रोत, संस्कृति र प्रकृतिमा आधारित विकास, दीगो पर्यटन र समग्र आरोग्यतामा योगदान पुर्याउनुपर्दछ ।”

युवा वैज्ञानिक राजेन्द्र विष्टले जडीबुटी र लोक उपचार पद्धतिमार्फत समृद्धिको आधार तयार गरी कर्णालीलाई आरोग्य पर्यटनका रुपमा विकास गर्न सकिने कार्यपत्र प्रस्तुत गर्नुभयो । जडीबुटी केवल उपचार मात्र नभई यो मानिसलाई प्रकृतिसँग जोड्ने जीवन दर्शन भएको बताउँदै उहाँले योग ध्यान, जडीबुटी उपचार, अध्यात्मिक अभ्यास, स्वच्छ हावा, शान्त वातावरण, जैविक खानपानले पर्यटकलाई अद्वितिय अनुभव प्रदान गर्न सक्ने भएकोले यसलाई आरोग्य पर्यटनका रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

वैज्ञानिक विष्टले भन्नुभयो, “कर्णालीका जडीबुटी, लोक उपचार र सोवा–रिक्पा भविष्यका सम्भावनाका स्रोत हुन् । परम्परागत ज्ञान र आधुनिक प्रविधिको समन्वयबाट दिगो विकास गर्न सकिन्छ । तसर्थ, कर्णाली केवल जडीबुटीको भण्डार मात्र होइन, नेपालको हरित अर्थतन्त्र (ग्रीन ईकोनोमी) निर्माण गर्ने आधार भूमि हो । यसमा तीनै तहका सरकार र सम्बन्धित सरोकारवालाहरुको समन्वय र सहकार्य दुवै आवश्यक छ ।”

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानव जीवनलाई स्वस्थ, संस्कारयुक्त र सभ्य बनाउन कार्य लागिरहेका विभिन्न सरोकारवालाहरुले प्रस्तुत गर्नुभएको कार्यपत्रका आधारमा नीति, योजना र कार्यक्रम निर्माण गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले लुम्बिनी, सुदूरपश्चिम र कर्णालीको धार्मिक पर्यटकीय सडक निर्माणमा पहल गरिने जनाउनुभयो ।

उहाँका अनुसार शिव तथा कैलाश पर्वत भएको कर्णालीमा छायाँनाथ, चन्दननाथ, वैजनाथ जस्ता नाथ परम्परा सुरु भएको र कुण्डलिनी गुफा पनि रहेको छ । रामायण भहाभारत सन्दर्भसहित धौम्य, मनु, भृगु, दोर्ण आदि ऋषिहरुको तपस्थली पनि कर्णालीमा रहेकोले योग ध्यान र आरोग्य हब बन्न सक्ने प्रचुर संभावना रहेको मन्त्री भण्डारीको भनाई थियो ।

उक्त मन्त्रालयका सचिव धोलकराज ढकालले आरोग्यताका सन्दर्भमा धेरै कुराको जानकारी भएको र प्रदेश सरकारले आगामी आर्थिक वर्षमा नीतिसहित कार्यक्रम तथा बजेट तर्जुमामा ध्यान दिने बताउनुभयो । कर्णालीलाई अर्गानिक प्रदेश बनाउने नीति तथा कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउँदै सचिव ढकालले प्राकृतिक रुपले अन्य प्रदेशका तुलनामा कर्णाली उत्कृष्ट रहेको र यसको बजारीकरण आवश्यक जनाउनुभयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा ब्रम्हाकुमारी ईश्वरी विश्वविद्यालय राजयोग प्रतिष्ठान केन्द्र सुर्खेतका ब्रम्हाकुमारी विष्णु, विश्व हिन्दु महासंघका परमानन्द रेग्मी, इन्टरनेश्नल सोसाईटी फर कृष्ण कन्सस्नेस (स्कुन)का शक्ति विक, सत्य साई केन्द्रका कृष्णमाया पोखरेल र महायोगी शिद्धबाबा अध्यात्मिक प्रतिष्ठानका केन्द्रीय सदस्य ललित भट्टराईले प्रकृति, अध्यात्म, पुरातत्व, संस्कृति, सभ्यता र धर्मको जननी कर्णालीले संसारलाई आकर्षण गर्ने नीति र कार्यदिशा निर्माणमा सरकारलगायत सबै क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । संसारको प्रमुख शत्रु नसर्ने रोग भएकोले कर्णालीलाई योगसहित आरोग्य केन्द्रका रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस्