OnlinePana

आज : २०८२ चैत्र २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २९, २०८२
९ पटक

२९ चैत २०८२, आईतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधिन प्रदेश रंगशालाको काम छिटो टुंग्याउन निर्देशन दिनुभएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आज सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रंगशालाको काम सम्पन्न गरी दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा लाग्न निर्माण व्यवसायीका साथै परिषद्का पदाधिकारीहरुलाई निर्देशन दिनुभएको हो । रंगशालाको काम टुग्याउन बजेट समेत विनियोजन भइसकेको बताउदै उहाँले बाँकी काममा ढिला गर्न नहुने जनाउनुभयो ।

रंगशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्त्रण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उहाँले आग्रह गर्दै उहाँले भन्नुभयो, “अब कुनैपनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ ।”

निर्माण व्यवसायीलाई कार्यतालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरु समयसीमाभित्र पूरा गर्न निर्देशन दिँदै निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेकोले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन आग्रह गर्नुभयो । रंगशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार मात्र नभई नयाँ अवसर सिर्जना समेत हुने भएकोले अब खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।

उहाँले खेलाडीहरुको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताको निरन्तर आयोजनामा ध्यान दिएमा कर्णालीमा खेलकुद क्षेत्रको सम्भावना प्रशस्त रहेको उल्लेख गर्नुभयो । यद्यपि त्यसका लागि प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरु समयमै सुनिश्चित हुनुपर्ने उहाँको भनाई थियो ।

कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले हाल बजेट तयारीको चरणमा रहेकोले खेलकुद क्षेत्रका योजनाहरु योजना बैंकमा समावेश गर्न आग्रह गर्नुभयो । चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन र उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजान निर्देशन दिँदै मुख्यमन्त्री कँडेलले कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय चालु र आगामी वर्षका लागि स्पष्ट रुपमा निर्धारण गरी सोही अनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो । बैठकमा परिषद्का पदाधिकारीहरुले निर्माणाधीन रंगशालाको वर्तमान प्रगति, देखिएका चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । कार्यक्रममा उनीहरुले समन्वय, स्रोत व्यवस्थापन र प्रभावकारी अनुगमनमार्फत निर्माण कार्यलाई गति दिन सकिने धारणा व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्