OnlinePana

आज : २०८२ चैत्र ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २८, २०८२
२४ पटक

२८ चैत २०८२, शनिबार

सुर्खेतः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीयताको कार्यान्वयन अँझै चुनौतिपूर्ण रहेको बताउनुभएको छ ।

मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतद्वारा आज आयोजित आठौं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुखयमन्त्री कडेलले संघीयताको प्रभावकारी कार्यान्वयनमा अझै चुनौती रहेको उल्लेख गर्नुभएको हो । उहाँले नयाँ सरकारले पनि केन्द्रीकृत मानसिकता त्याग्न नसकेको टिप्पणी गर्दै प्रदेश र स्थानीय तहको संवैधानिक अधिकार सामान्य परिपत्रमार्फत खोसिन थालेको बताउनुभयो ।

नयाँ सरकारको प्रदेश र स्थानीय तहप्रति परम्परागत र केन्द्रीकृत मानसिकताका कारण दुबै तहका सरकार सञ्चालनमा विभिन्न जटिलता उत्पन्न भएको उहाँको गुनासो थियो । संविधान कार्यान्वयन भएको एक दशक बितिसक्दा पनि अपेक्षाअनुसार संरचनागत विषय कार्यान्वयन हुन नसकेको उहाँको भनाई थियो ।

“यदि संविधानअनुसार सोच र अभ्यास अघि बढेको भए संघीयता कार्यान्वयन धेरै अगाडि पुगिसकेको हुन्थ्यो,” उहाँले भन्नुभयो, “तर अझै पनि परम्परागत केन्द्रीकृत मानसिकताले हाम्रा काम कारवाहीमा प्रभाव पारिरहेको छ ।” संविधानले प्रदेशसभा र स्थानीय तहलाई दिएको अधिकार व्यवहारमा पूर्णरुपमा कार्यान्वयन हुन नसकेको तथा पछिल्लो समय प्रदेशसभा र स्थानीय सरकारको विधायिकाको अधिकारसमेत कुण्ठित गर्ने प्रयास भइरहेको उहाँले जिकिर गर्नुभयो ।

“संविधानले दिएको अधिकारलाई संघीय सरकारले सामान्य परिपत्रका आधारमा विस्थापित गर्ने प्रयास भइरहेको छ जुन संघीयताको मर्म विपरीत हो,” मुख्यमन्त्री कँडेलले भन्नुभयो । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशले हालसम्म प्रदेश सरकार वा मातहतका निकायहरुको सम्बन्धित मुद्दामा बहस पैरवी तथा प्रतिरक्षा गर्दै आएको जनाएको छ ।

कार्यालयका अनुसार हालसम्म ६९४ वटा मुद्दामा कानुनी सेवा प्रदान गरिएको छ । त्यस्तै, प्रदेश सरकार तथा सम्बन्धित अधिकारीहरुलाई कानुनी र संवैधानिक परामर्श दिने, अदालतमा पेश गरिने लिखित जवाफ तथा निवेदनको गुणस्तर कायम गर्न समन्वय र निर्देशन दिने कार्य पनि निरन्तर भइरहेको जनाइएको छ । कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, कानुन व्यवसायी तथा सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्