

२५ चैत २०८२, बुधबार
सुर्खेतः खाँडाचक्र नगरपालिका २ कालीकोट मान्मस्थित मेयर खोला नजिक बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जुम्ला हिमा गाँउपालिकाद्वारा सञ्चालित क.प्र.०१००१ झ ००२४ नं.को एम्बुलेन्स जुम्लाबाट बिरामी लिएर आज सुर्खेततर्फ जाँदै गरेको अवस्थामा राती ८ः१० बजे अचानक दुर्घटना भई सडकदेखि करिब ३० मिटर तल खस्दा एम्बुलेन्समा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा हिमा गाउँपालिका ६ जुम्ला पातरखोलाका बिरामी ७१ वर्षीय कलबहादुर अधिकारीका छोरा ३२ वर्षीय भीमबहादुर अधिकारी र वडा नं. ७ निवासी एम्बुलेन्स चालक २६ वर्षीय शक्तिबहादुर शाही रहेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसारमा दुर्घटनामा कलबहादुर अधिकारी र सोही गाउँपालिका ७ मर्चीगाउँ निवासी २० वर्षीय लोकेन्द्र शाही गम्भीर घाईते भएका छन् । भीमबहादुर बुबाको उपचारका लागि एम्बुलेन्सको व्यवस्थापन गरेर हिडेका थिए । घाईते दुवैको कालीकोट जिल्ला अस्पताल मान्ममा उपचार भईरहको छ । घटनास्थल सदरमुकाम मान्मबाट ८ किलोमिटर पूर्वी दक्षिणमा रहेको प्रहरीले जनाएको छ ।





