OnlinePana

आज : २०८२ चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १६, २०८२
१३ पटक

१६ चैत २०८२, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकार सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीका बालबालिका र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम सञ्चालन गर्न विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई आग्रह गर्नुभएको छ ।

मन्त्री भण्डारी र विश्व खाद्य कार्यक्रम नेपालका देशीय निर्देशक रियाज लोधीबीच आज सुर्खेत वीरेन्द्रनगरस्थित मन्त्रालयमा भएको भेटघाटको क्रममा उहाँले कर्णालीको आयात घटाउने र आत्मनिर्भर बढाउने कार्यक्रमलाई बढावा दिन अनुरोध गर्नुभएको हो । भेटमा कर्णालीमा लागु भएको विश्व खाद्य कार्यक्रमको समीक्षा भयो ।

सो अवसरमा मन्त्री भण्डारीले कर्णालीमा जलवायु परिवर्तनको उच्च जोखिमका कारण हिमाली क्षेत्रबाट सिजन अनुसार बसाइँसराइ हुनुपर्ने अवस्था रहेको बताउनुभयो । श्रम तथा रोजगारका लागि भारत जाने र शिक्षाका लागि शहर केन्द्रहरुमा बसाई सर्ने कारणले खाद्य प्रणालीमा असर परेको उहाँको भनाई थियो ।

प्राकृतिक विपत्ति र जलवायु परिवर्तनको कारणले क्षति व्यहोरेको अवस्थामा मानवीय सहायता आवश्यक रहेको जनाउँदै मन्त्री भण्डारीले केही दिन अघि परेको असिना पानीले दैलेखलगायतका क्षेत्रमा पुगेको क्षतिले चुनौती थपेको बताउनुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तुको आक्रमण र बालीनाली पारेको नोक्सान उत्तिकै छ । यसले आयात र परनिर्भरता दुवै बढ्ने डरलाग्दो चक्र बनिरहेको छ ।”

बालबालिका र जेष्ठ नागरिकहरुलाई लक्षित गरी पोषण कार्यक्रम सञ्चालन गर्नु आवश्यक ठानस् सरकारले तयारी थालेको बताउँदै मन्त्री भण्डारीले स्थानीय उत्पादनमा आधारित पोषण कार्यक्रमहरु सञ्चालन गर्नु अपरिहार्य देखिएको छ ।

निर्देशक लोधीेले विगतमा गरेका कार्यक्रम हरुको स्मरण गराउँदै थप कार्यक्रम सञ्चालन गर्न चाहेको बताउनुभएको थियो । किसानको उत्पादन र बिक्रीको समयमा भुक्तानी हुन नसकेको देशभरको समस्य बारे जानकारी गराउँदै यस सम्बन्धी कामहरु आफूहरुले गर्न खोजेको उहाँको भनाई थियो ।

पोषण सम्बन्धी कार्यक्रमहरु कर्णाली प्रदेश केन्द्रित भएको बताउनुभएका निर्देशक लोधीले आफ्ना सबै कार्यक्रमहरुलाई एकीकृत प्रणालीबाट कार्यन्वयन लिने तयारी भइरहेको जानकारी गराउनुभयो । कर्णालीमा विषेशगरी स्थानीय उत्पादनमा आधारित खाद्य प्रणालीमा विशेष जोड हुने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्