
२७ फागुन २०८२, बुधबार
सुर्खेतः गत शनिबार वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेत सहिद पार्कस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै उक्त घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न माग गरिएको छ ।
सुर्खेत जिल्लाका एक दर्जन संघसंस्थाहरुले आज एक संयुक्त विज्ञप्ति जारी गरी सो घटनाले आफूहरुलाई स्तब्ध बनाएको बताउँदै घटनाको निष्पक्ष र गहिरो छानविन गर्न र दोषीमाथि कारवाही गर्न माग गरेका छन् । वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतमा बस्दै आएकी १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटना अमानवीय र निन्दनीय भएकोले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति भनिएको छः “महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनैपनि बहानामा सह्य हुन सक्दैन । सुरक्षित, सभ्य र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकाय, नागरिक समाज र आम नागरिक सबैको साझा प्रतिवद्धता र सक्रिय भूमिका आवश्यक रहेको छ । महिला तथा बालबालिकामाथि हुने यौन हिंसा तथा अपराधको घटनाहरु रोकथामका लागि प्रभावकारी सुरक्षा व्यवस्था, निगरानी तथा सचेतनामूलक कार्यक्रमहरुलाई थप सुदृढीकरण बनाउन पनि सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गर्दछौं ।”
मानवअधिकार रक्षक संजाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासंघ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सिएमसी, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा संघ, दलित महिला संघ, वाम, सोसेक र मानवअधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्य तथ्य छानबीन गरी पीडित परिवारलाई उचित न्याय दिनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।
कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानुनी ढंगले छानबीन अनुसन्धान हुने तथा कानुन अनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको बताउनुभएको छ । सरकारको तर्फबाट यस घटनाको सत्य तथ्य बाहिर ल्याउने र कानुन अनुसार कारवाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रुपमा अगाडि बढाउने भदै पीडित परिवारले न्याय पाउने कुरामा प्रदेश सरकार प्रतिवद्ध रहेको जनाउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट फागुन २४ गते १६ वर्षीय एक, बाँकी १६, १७ र १८ वर्षीय तीन बालकलाई मंगलबार पक्राउ गरी अनुसन्धान थालिएको छ । उक्त घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जना बालकहरुमाथि जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
प्रहरीका अनुसार हालसम्म परिवारजनले बालिकको शव बुझेका छैनन् । पीडित परिवारले दिएको जाहेरीको आधारमा शव परीक्षणका लागि थप अनुसन्धान गर्न भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा.अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शव परीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ ।
सो प्रतिवेदन अनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अंग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख गरिएको छ । डा.शाक्यलाई उद्रित गर्दै सूचना अधिकारी बुढथापाले मृतकको संवेदनशील अंग पुरै च्यातिएर पाठेघरसम्म घाउको कालो धब्बा देखिएको सोही कारण अत्याधिक रक्तस्राव भएर बालिकाको मृत्यु भएको बताउनुभयो ।
गुर्भाकोट नगरपालिका ६ सुर्खेत बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतमा बस्दै आएकी १६ वर्षीय इनिशा उषा बालबाटिका स्कुल सुर्खेतमा ११ कक्षामा अध्ययनरत छात्रा हुन् । परिवारका अनुसार उनी शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर बिहान ९ः०० बजेतिर स्थानीयले जनजागरण सामुदायिक वनमा एक बालिका अचेत अवस्था रहेको खबर दिएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो ।
उनलाई प्रहरीले प्रदेश अस्पताल सुर्खेत कालागाउँमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेको थिए । मृतकका आफन्तहरुले सामुहिक बलात्कार गरेको भन्दै २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको थिए ।


