OnlinePana

आज : २०८२ फागुन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १५, २०८२
१८ पटक

१५ फागुन २०८२, शुक्रबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरिएको सूचना सार्वजनिक गरेको छ ।

निर्वाचन आयोग नेपालको निर्णय, गृह मन्त्रालयको निर्देशन र जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकको निर्णय अनुसार सार्वजनिक स्थानमा मदिराजन्य पदार्थको बिक्रीवितरणमा निषेध गरिएको हो । यही फागुन २१ गते हुन गइरहेको प्रतिनधिसभा सदस्य पदको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्ने ध्येयले बिक्री वितरणमा पूर्ण रोक लगाईएको जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले जानकारी दिनुभयो ।

“मदिराजन्य पदार्थको बिक्रीवितरण र सेवनबाट शान्ति सुरक्षामा पर्न जाने असरलाई मध्यनजर गरी सुर्खेत जिल्लाको समग्र शान्ति सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन यसको बिक्रीवितरणका साथै सेवनमा निषेध गरेका छौं,” उहाँले भन्नुभयो, “यदि सूचनाको अवज्ञा गरी कुनैपनि गतिविधिहरु भए वा गरेको पाइएमा कानुन बमोजिम कारवाही हुनेबारे सबैमा जानकारी गराइएको छ ।”

प्रतिनिधिसभा सदस्यको निर्वाचन २०८२ लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सञ्चालन अनुमति लिएका मानवरहित हवाई उपकरण (ड्र«ोन) यही फागुन १८ गतेदेखि मतदान कार्य सम्पन्न नभएसम्म लागि उडान नगर्न कार्यालयले सूचना गरेको छ । त्यस्तै, प्रशासनले यही फागुन १८ गतेको होली पर्व सामाजिक सद्भाव र भाइचार सम्बन्ध कायम राख्दै मनाउन अनुरोध गरेको छ ।

त्यसैगरी, कुनै दल, संगठन वा उम्मेदवारको चिन्ह वा झण्डा अंकित लोगो, वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट, झोला नबोक्न पनि प्रशासनले आग्रह गरेको छ । निर्वाचनलाई शान्त, स्वच्छ, निष्पक्ष र भयरहित सम्पन्न गर्न तथा कुनैपनि अवाञ्छित घटना हुन नदिन सबैमा अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्