

१८ माघ २०८२, आईतबार
सुर्खेतःकेही समय यता सुर्खेत लागुऔषधको हब बन्दै गएको छ । लागुऔषधका प्रयोगकर्ता र कारोवारीहरु बढ्दै जान थालेपछि सुर्खेत प्रहरीले यहाँका सरोकारवालाहरुसँग आईतबार सुर्खेत वीरेन्द्रनगरमा छलफल गरेर त्यसको नियन्त्रणका लागि आवश्यक कदम चाल्ने बताएको छ ।
सरोकारवालाहरुसँगको आपसी समन्वय एवं सहकार्य विना यसको नियन्त्रण तथा रोकथाम चुनौति भएको निक्र्यौल निकाल्दै सुर्खेत प्रहरीले प्रविधियुक्त किटमार्फत यहाँका लागूऔषध प्रयोगकर्ताको पहिचान गर्ने योजना अगाडि सारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले किटको सहायताबाट शंकास्पद व्यक्ति, सवारी चालक तथा सहचालकहरुको पिसाब तथा स्वाब किटमार्फत परीक्षण गरी उनीहरुको पहिचान गरिने बताउनुभयो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लागूऔषध कारोबार र प्रयोगकर्ता बढेको गुनासो आएपछि किटको प्रयोगबाट शंकास्पद व्यक्तिको पहिचान गर्न संयुक्त राष्ट्र संघको अपराध र लागूऔषध नियन्त्रण कार्यालय (यूएनओपीएस)को सहयोगमा प्राप्त भएको उहाँले जनाउनुभयो । “हामीले करिब दुई सय ५० जनालाई परीक्षण गर्न सक्ने गरी किट प्राप्त गरेका छौं,” उहाँले भन्नुभयो, “प्रमाण नभएकै कारण सेवनकर्ता उम्कने सक्ने मौका बढी हुने भएकोले अब किटबाट लागुऔषध सेवन गरे नगरेको परीक्षणबाट थाहा हुनेछ ।”
विभिन्न खालको परीक्षण किटहरु प्राप्त गरेको बताउँदै प्रहरी उपरीक्षक शाहीले सुर्खेतका विभिन्न मुख्य क्षेत्रमा ती किटको प्रयोग गरी फरक विधिबाट परीक्षण गरिने जनाउनुभयो । किटबाट लागूऔषध सेवन गरेको पत्ता लाग्ने र सेवन गरेका व्यक्ति प्रयोगकर्ता भएको किटलाई अस्पतालमा पठाउने उहाँको भनाई थियो ।
अस्पतालले विस्तृत रुपमा परीक्षण रिपोर्ट दिएपछि नतिजा अनुसार मुद्दा प्रक्रिया अगाडि बढाइने भन्दै प्रहरी उपरीक्षक शाहीले मुद्दा चलाउँदा अदालतमा प्रमाण पु¥याउन परीक्षण किटलाई अस्पतालबाट प्रमाणित गरिने जनाउनुभयो । छलफलमा सहभागी सरोकारवालाहरुले गाडीचालक सहचालक मात्र नभएर आवश्यकतामा अन्य ठाउँमा पनि परीक्षणको दायरा बढाउनुपर्ने र सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए ।




