OnlinePana

आज : २०८२ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ८, २०८२
१८ पटक

७ माघ २०८२, बुधबार
सुर्खेत राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा.सुरेशप्रसाद आचार्यले सूचनाको अधिकार लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना आयोगको समन्वयमा हुलाक निर्देशनालय सुर्खेतद्वारा वीरेन्द्रनगरमा आज आयोजित ‘सूचना अधिकारी अभिमुखीकरण’ कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त डा.आचार्यले सूचनाको हक नागरिकको मौलिक अधिकार भएको बताउनुभयो । सूचना प्रवाहमा सहजता ल्याउने गरी आयोगले काम गरिरहेको उहाँले जनाउनुभयो ।

प्रमुख सूचना आयुक्त डा.आचार्यले भन्नुभयो, “आयोगले सूचना अधिकारीहरुलाई सञ्चारकर्मीमार्फत नागरिकमा कसरी जोडेर लैजाने भन्ने विषयलाई अगाडि बढाएका छ । सूचनाको वर्गीकरण, त्यसको अद्यावधिक, व्यक्तिको गोपनीयता र सूचनाको अधिकारलाई आयोगले निरन्तर अगाडि बढाएको छ ।” यसका लागि आफू विसं.२०५७ सालदेखि लागि परेको उहाँको भनाई थियो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले सूचनाको हक सबैको अधिकार भएकोले यसको सुनिश्चिततामा जोड दिनुपर्ने बताउनुभयो । हरेकले आफ्नो अधिकार खोजिरहँदा कर्तव्यलाई पनि त्यत्तिकै पालना गर्नुपर्नेमा प्रमुख सचिव यादवले जोड दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले हरेक तीन तीन महिनामा सूचना अधिकारीको बैठक बस्दै आएको बताउँदै संघमा थोरै भएपनि स्थानीय तहमा सूचना अधिकारीको व्यवस्थामा बढी समस्या देखिएको बताउनुभयो । उहाँले सूचना अधिकारीको बोर्ड हरेक कार्यालयले अनिवार्यरुपमा झुण्ड्याउनुपर्ने र सूचनालाई वर्गीकरण गरेर दिने व्यवस्था मिलाउनुपर्ने सुझाव दिनुभयो ।

हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गाेविन्दप्रसाद पाण्डेले सूचना अधिकारी ताेकेर बाेर्ड टाँस्ने तीन/तीन महिना सूचना अधिकारीहरुकाे बैठक र सूचना प्रवाह गरेकाे अभिलेखलाई व्यवस्थित गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम राखिएकाे बताउनुभयाे । उक्त अभिमुखीकरणमा सुर्खेतस्थित सुरक्षा निकायदेखि सरकारी कार्यालयमा कार्यरतमा सूचना अधिकारीहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्