OnlinePana

आज : २०८२ मंसिर १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १२, २०८२
५ पटक

११ मंसिर २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानसिक स्वास्थ्य पढाईको कोर्स निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

युनिसेफ तथा सिएमसी नेपालको सहयोगमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बालबालिका तथा किशोरकिशोरी स्वास्थ्यसम्बन्धी तालिम पुस्तिका र सुपरभिजन निर्देशिका प्रसारण तथा सरोकारवाला निकायहरुसँगको समन्वयात्मक बैठक’मा बोल्दै मन्त्री भण्डारीले समाजमा मानसिक स्वास्थ्य ठूलो चुनौतिका रुपमा देखापरेको बताउनुभयो ।

समाजमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएकोले यसको रोकथाम तथा नियन्त्रणको लागि कोर्स निर्माण गरेर अध्ययन अध्यापनको कार्य थाल्नुपर्ने उहाँको भनाई थियो । मन्त्री भण्डारीले भन्नुभयो, “स्नातक तहको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला जस्तै कर्णालीका १८ स्थानमा मेडिकल स्वास्थ्य पढाई हुने कलेजहरुमा मानसिक स्वास्थ्य सम्बन्धिको कोर्स राख्ने व्यवस्था मिलाउँदा बिएन र बिएस्सी नर्सिङ उत्तीर्ण गर्नेहरु नै यसको जनशक्तिका रुपमा परिचालन गर्न सकिन्छ । हामी यसमा केन्द्रित छौं ।”

पछिल्लो समयमा बालबालिका तथा किशोर किशोरीहरुमा पनि मानसिक स्वास्थ्य समस्या देखिन गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले भन्नुभयो, “मानवता संकटमा पर्दै गएको छ । यसको प्रवद्र्धन गर्नुपर्दछ भन्ने भावना युवाहरुमा जागृत गराउन आवश्यक छ । नयाँ पुस्ताहरुको विदेसिने लहड रोक्न एवं नेपालमा भविश्य छैन भन्ने निराशावादी सोचबाट सकरात्मकतातिर लैजाने वातावरण तयार गर्नुपर्दछ ।”

आवधिक परियोजना र अस्थायी प्रकृतिका कर्मचारीलाई तालिम प्रशिक्षण दिएर मानसिक स्वास्थ्य समस्या समाधान नहुँदै भन्दै उहाँले विकास समितिका स्थायी प्रकृति कर्मचारीहरुलाई तालिम जनशक्ति परिचालन गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि स्वास्थ्य मन्त्रालयको विषयगत समितिमा छलफलमा कुरा राख्ने, सिटिइभिटीसँगको समन्वयमा छोटो अवधिको तालिम सेवा दिने र नयाँ नर्सिङ पढाईको कोर्समा मानसिक स्वास्थ्य केयरका लागि तीन वर्षे कोर्स सुरु गर्ने वातावरण तयारी गरी जनशक्ति मजबुत बनाउन सकिने उहाँको भनाई थियो ।

उक्त बैठकमा सिएमसी नेपालका डा.पशुपति महतले बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य अवस्थाको व्यवस्थापन, मनोसामाजिक सहयोग, आवश्यक हेरचाह र अभ्यास तथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य अधिकृत महेश शर्माले कर्णाली प्रदेशमा मानसिक स्वास्थ्य अवस्था, यससम्बन्धी प्रदेश सरकारको रणनीतिक योजनाका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्