
२ चैत २०८२, सोमबार
सिकार खेल्न भन्दै बर्दिया राष्ट्रिय निकुञ्जतर्फ हिडेका बराहताल गाउँपालिका १ ज्यामिरेका पाँच र लेकबेसी नगरपालिका ८ सुर्खेतका एक गरी छ व्यक्ति नौ दिनदेखि सम्पर्कविहीन भएका छन् ।
सिकार खेल्न जानेहरुमा बराहताल गाउँपालिका १ सुर्खेत ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ३० वर्षीय सुनिल समसेली, ३३ वर्षीय टोपबहादुर खत्री, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, र लेकबेशी नगरपालिका ८ सुर्खेत गंगटेमा घर भई हाल बर्दियामा बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरु यही फागुन २३ गते सिकार खेल्न भनि घरदेखि १७ किलोमिटर दक्षिणमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जतर्फ गएको र सँगै गएका मध्ये टोपबहादुर खत्रीको मृत्यु भएको मृतकका भिनाजु आसे महताराले आईतबार जानकारी दिएका छन् । महताराले प्रहरी चौकी रानीघाट सुर्खेतमा आज बिहान ९ः३० बजे सम्पर्कविहीन व्यक्तिबारे जानकारी दिएको उहाँले बताउनुभयो ।
जानकारी प्राप्त गरेसँगै त्यसको सत्यतथ्य बुझ्नको लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्र सिंह ठकुरीको नेतृत्वमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेर खोजतलास कार्य जारी राखेको उहाँको भनाई छ । त्यसैगरी, खोजतलास कार्य जारी भएको उक्त स्थान सुर्खेतदेखि १७ किलोमिटर दक्षिण पर्ने भएकोले जिल्ला प्रहरी कार्यालय बर्दियालाई जानकारी गराईएको सुर्खेत प्रहरीले जनाएको छ ।




