

२९ असोज २०८२, शुक्रबार
कर्णालीको संस्कृति तथा भाषासम्बन्धी जानकार लेखक रमानन्द आचार्यद्वारा लिखित खस भाषाको शब्दकोश ‘खसिया आखर’ लोकार्पण भएको छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशद्वारा प्रकाशित शब्दकोष ‘खसिया आखर’ मन्त्रालयको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठान र मध्यपश्चिमाञ्चल साहित्य परिषद काठमाडौको सहकार्यमा आज काठमाडौं कमलादीमा लोकार्पण गरिएको हो । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त शब्दकोषको लोकार्पण गर्दै नेपाली भाषाको मातृभाषाको रुपमा रहेको खास भाषाको जगेर्ना र पुस्तान्तरण टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘खसिया आखर’ कर्णालीको भाषा, संस्कृतिको पुस्तान्तरण गर्न मार्गदर्शन बन्नेछ । अब मन्त्रालयले योगी नरहरिनाथका कृतिहरु सहित कर्णालीको भूगोल र संस्कृतिसँग जोडिएका पुस्तकहरुको संकलन तथा अभिलेख गर्नेलगायतका कार्यहरुमा मन्त्रालयले आफ्नो भूमिका खेल्ने प्रतिवद्धता गर्दछु ।
शब्दकोषमार्फत भाषा, सभ्यता र लोक संस्कृति संरक्षण र कार्यान्वयनका लागी सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्दै मन्त्री भण्डारीले स्थानीय तहमा पाठ्यक्रम निर्माण गरी खस भाषा पठनपाठन र व्यावहारिक कार्यान्वयनमा सरकारले अभियानका रुपमा लिने बताउनुभयो । खस भाषा शब्दकोष प्रकाशनको जिम्मेवारी मन्त्रालयलाई दिएको प्रति कृतज्ञता प्रकट गर्दै उहाँले लेखक आचार्यको योगदान बारे चर्चा गर्नुभएको थियो ।
भाषाशास्त्री विद्वान प्राध्यापक डा.माधवप्रसाद शास्त्रीले शब्द प्रकाशन कार्यालयले कर्णालीको भूगोल, शिर उच्च राख्ने कार्य भएको बताउनुभयो “कर्णालीको एक छाती चौडा भएको छ । भूगोलको एक चुचुरो थपिएको छ“ उहाँले भन्नुभयो, “शब्दकोश लेख्ने कार्य सजिलो छैन । यो जटिल कार्यका लागि साहस गर्नुभएकोमा गौरवान्वित भएका छौं ।”
प्रज्ञा परिषद सदस्य डा.मधुसुदन गिरीले ‘खसिया आखर’ शब्दकोशबाट कर्णालीको खास भाषा बुझ्न र अध्ययन गर्न सहयोग प्राप्त हुने बताउनुभयो । कर्णालीको साँस्कृतिक सम्पदाहरूको चर्चा गर्दै यसको संरक्षण र जगेर्नाको लागि अभियान चलाउन जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।
चन्दननाथ नगरपालिका १ जुम्ला आचार्यवाडा निवासी लेखक आचार्यले करिब डेढ दशकको लामो संघर्षपूर्ण यात्रबाट ‘खसिया आखर’ शब्दकोष निर्माण भएको बताउनुभयो । उहाँका अनुसार एक हजार चार सय पृष्ठ रहेको उक्त शब्दकोषमा करिब ४० हजार शब्दहरु संकलित रहेका छन् ।