

जुम्ला/साउन १३ गते । जुम्लामा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाको कार्यालय सूचारु हुने भएको छ । आयोगले झण्डै अढाई बर्ष अगाडि यहाँको लेखा प्रणालीनै हटाएपछि एक जना कार्यालय सहयोगीको भरमा कार्यालय रहेको थियो । अव आयोगले लेखाप्रणाली (एलएमविआईएस) जुम्लाबाटै सूचारु हुने गरि कर्मचारी खटाएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयका प्रवक्ता डाक्टर टिकाराम पोखरेलका अनुसार जुम्ला कार्यालय अव एलएमविआईएस (लेखा प्रणाली) पूर्ण रुपमा सुचारु हुने गरि कर्मचारी खटाईएको जानकारी दिनुभयो । उहाँका अनुसार जुम्लामा कार्यालय प्रमुख कल्पना नेपाल आचार्य कार्यालय प्रमुखको रुपमा सरुवा भई पठाईएको छ । आयोगले अव बिस्तारै अन्य दरबन्दी कायम गर्ने समेत बताएको छ । आयोगका अनुसार प्रस्तावित नयाँ दरवन्दी अनुसार जुम्ला कार्यालयमा पनि कर्मचारी खटाईएको छ । आयोगको कार्यालय एक जना कार्यालय सहयोगीको भरमा मात्रै राखेर लेखा प्रणाली हटाईए पछि एक बर्ष सम्म अन्य कर्मचारी आउन सकेनन भने लेखा प्रणाली सुर्खेत सारिएपछि १४ जनाको दरवन्दी भएको आयोगको कार्यालय जिल्ला समन्वय समितिको एक जिर्ण घरमा वोर्डमात्रै टासेर कामकाज प्रभावित भएको थियो । प्रवक्त पोखरेलका अनुसार अव जुम्ला र सुर्खेत दुवै स्थानबाट लेखाप्रणाली संचालन हुने भएको छ ।
जुम्लामा कार्यालय हटाईएको भन्दै संचार माध्यामबाट ध्यानाकर्षण बारम्बार भएको थियो । यता जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, संविधान सभाका सांसद तथा पूर्व मन्त्री नरेश भण्डारी, जुम्लाका पत्रकार तथा मानव अधिकार रक्षकको टोलि गएर आयोगको केन्द्रीय कार्यालयमा अध्यक्ष तपबहादुर मगर सहितका पदाधिकारी सँग ध्यानाकर्षण गरिनुका साथै अर्थमन्त्रालयमा भेटघाट गरि ध्यानाकर्षण गराईएको थियो । यसैगरी जिल्लाबाट विभिन्न मानव अधिकार रक्षक संजालका अगुवा तथा नागरिक समाजको नेतृत्वमा कार्यालयको लेखा प्रणाली फर्काएर काम गर्न ध्यानाकर्षण गर्दै आईरहेका थिए ।
जुम्ला साविक कर्णालीको केन्द्र भएकाले यहाँको मानव अधिकार आयोगले द्धन्द्धकालमा, प्रादेशिक संरचनाको आन्दोलन, डाक्टर गोविन्द केसीको आन्दोलन सहित विभिन्न मानव अधिकारका सवालमा आयोगमले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
लामो समय देखी जुम्लामा रहेको आयोगको कार्यालय कर्मचारी बिहिन हुदा मानव अधिकार उल्लंघन भएका घटनामा आवाज उठ्न छोडेको सरोकारवाला वताउछन् । आयोगले जुम्लामा द्धन्द्धकाल, कर्णाली प्रदेशको आन्दोलन, डा. गोविन्द केसीको आन्दोलन देखी विभिन्न घटना तथा कर्णालीको सवालमा काम गर्दै आएको थियो ।