OnlinePana

आज : २०८१ फागुन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २०, २०८१
६ पटक

२० फागुन २०८१, मंगलबार

पछिल्लो समयमा नेकपा (माओवादी केन्द्र)ले नेता तथा कार्यकर्ता केन्द्रित सभा, सेमिनार, प्रशिक्षण र गोष्ठी गर्ने कार्यक्रम भन्दा जनताको घर दैलोमा पुगेर उनीहरुका कुरा सुन्ने, समस्या बुझ्ने र सुझाव लिने गतिविधिहरुमा बढोत्तरी ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिले ‘जनतासँग माओवादी अभियान’ कार्यक्रम अन्तरगत सोमबारदेखि सुर्खेत वीरेन्द्रनगरबाट जनताको घरदैलो पुग्ने भेटघाट गर्ने र सुझाव लिएर फर्कने कार्यक्रमलाई अगाडि बढाएको हो । हरेक विकास र परिवर्तनको जग (आधार) जनता हुने तर उनीहरुकै सहयोगमा नीतिगत तहमा पुगेर धरातल बिर्सने प्रवृतिले पार्टी, नेता र जनताबीचमा अन्तराल पैदा हुने अवस्थाले निम्त्याउने क्षति र चुनौतिलाई मध्यनजर गरी जनतासँगको सम्बन्धलाई सुधार तथा विस्तार गर्ने हेतुले अभियानलाई अगाडि बढाइएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सुर्खेतले दिने सन्देश भनेको कर्णालीले दिने सन्देश हो । हरेक दिन बिहानको समयलाई सदुपयोग गरेर सबै तहका नेता, कार्यकर्ताहरु जनताको बीचमा जाने, उनीहरुको कुरा सुन्ने, सुझाव सल्लाह लिने र समस्या समाधानका लागि विशेष पहल गर्ने दैनिकीलाई आत्मसात् गरेका छौं । त्यसैका लागि सुर्खेतको वीरेन्द्रनगरबाट सञ्चालन गरेको अभियान हो । सामुहिकरुपमा एकतावद्ध भएर जाने, जनताका कुरा सुन्ने, प्राप्त समस्या हल गर्ने हाम्रो काम हुनेछ ।”

उहाँका अनुसार माओवादीलाई जागृत गर्ने, जनतासँग सम्बन्ध जोड्ने, एकताका साथ अगाडि बढ्ने, विचार, नीति र निर्माणमा माओवादी हुने गरी नयाँ ढंगले सन्देश दिन थालिएको छ । माओवादीलाई सशक्तिकरण र आत्मजागरण दिने खालको यो कार्यक्रम भएको बताउँदै अध्यक्ष केसीले विसं.२०६४ को भाव २०८४ दिने गरी पार्टी अगाडि बढेको प्रतिक्रिया दिनुभयो । यो अभियानले विसं.२०८४ सालमा सबै वडाका साथै पालिका जित्न सहयोग पुग्ने उहाँको भनाई छ ।

माओवादी जनताको सुखदुःखको साथी

अध्यक्ष केसीले माओवादी जनताको दुःख, सुखको साथ बनेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नेतृत्वमा भएको सशस्त्र संघर्ष र आन्दोलनमा मुलुकमा संविधान र संघीय व्यवस्था आयो । अबको माओवादीको एजेण्डा समृद्धिको हो । आर्थिक उत्पादन हो । यसका लागि नेता, कार्यकर्ता तथा शुभेच्छुक सबै जागृत भएर लक्ष्य केन्द्रित गतिविधिहरु सञ्चालन गर्दै जानुपर्दछ ।”

एकातिर स्वास्थ्य व्यवस्थापन, अर्कोतिर जनतासँग सम्बन्ध गाँस्ने र एकताको भाव दिन सकिने अनि टोल टोलमा गएर जनताका सुझाव, सल्लाह र गुनासाहरुलाई संकलन गरी त्यसलाई गहन अध्ययन गर्न प्रभातकालीन् भेटघाट कार्यक्रमलाई संस्कृतिका रुपमा विकास गर्दै लैजाने उहाँले बताउनुभयो ।

जनता सागर हुन, दल तिनका नेता तथा कार्यकता माछा नै हुन् । हरेक इतिहास निर्माणको प्रमुख आधार जनता नै हुन । तसर्थ उनीको समस्या र आवश्यकतालाई केन्द्रमा राखेर अब गतिविधि जनतासँगै रहेर गर्ने लक्षित कार्यक्रम र योजना माओवादी केन्द्रले बनाएको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समिति सचिव धनजीत शाहीले जानकारी दिनुभयो ।

व्यवस्था परिवर्तन भएपनि अपेक्षा गरे अनुसार नागरिकहरुको अवस्था बदलिएको छैन । मुलुकको संविधानमा नागरिकको मौलिक हकको व्यवस्था गरिएको छ । यद्यपि त्यसको अक्षरशः कार्यान्वयन हुन नसक्दा नागरिकहरुमा निराशा पैदा हुँदै गएको छ । संविधानले व्यवस्था गरेका मौलिक हक र संघीयता कार्यान्वयनका लागि मुलुकको नेतृत्व माओवादीले गर्नुपर्ने कुरा जनतालाई बुझाउने गरी अभियानलाई तीव्रता दिएको माओवादी केन्द्र कर्णाली प्रदेश समितिले बताएको छ ।

प्रतिकृया दिनुहोस्