७ माघ २०८१, सोमबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले चालु आ.व.०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनलाई प्राथमिकता राखेर सरकार अगाडि बढेको बताउनुभएको हो । प्रदेश सरकारले साउन ९ गतेदेखि नै बजेट कार्यान्वयनमा जोड दिएको बताउँदै उहाँले डोल्पा बाहेक सबै जिल्लाका कार्यालय प्रमुख, जनप्रतिनिधि तथा राजनीतिक दलहरुसँग बसेर यसको कार्यान्वयनका विषयमा छलफल गरेर अगाडि बढिएको जनाउनुभयो ।
“सबै प्रदेशसभा सदस्यहरुले सदनबाट पारित भएको प्रदेश सरकारको नीति तथा कार्यक्रम, बजेट र योजनाका बारेमा जनतासामु पुगी सबै बुझेर यहाँ उपस्थित हुनुभएको छ,” उहाँले भन्नुभयो, “सबैको सामुहिक प्रयासबाट बजेट तर्जुमा, कार्यान्वयन र प्रभाकारिता ल्याउन सकिन्छ ।” सरकार र जनताबीचको सम्बन्धलाई प्रगाढ र आफ्नो भूमिकालाई जनउत्तरदायी बनाउनतर्फ सरकार निर्वाध लागेको उहाँको भनाई थियो ।
प्रदेश सरकारले चालु आ.व.०८१÷०८२ को पुस महिनासम्म चालुतर्फ २४.८६ र पुँजीगत ८.९ प्रतिशत गरी कुल जम्मा १५.१४ प्रतिशत खर्च प्रगति गरेको बताउँदै मुख्यमन्त्री कँडेलले विगत भन्दा अंकमा खर्च प्रगति अगाडि भएपनि बजेटको खर्च अवस्था सोचनीय अवस्था रहेकोले सरकारले यसलाई गम्भीरताका साथ लिएको जनाउनुभयो ।
उहाँका अनुसार प्रदेश सरकारले यही अवधिमा गत आव.मा अनुमान गरेको आन्तरिक आम्दानी रु.१४ करोड (३३ दशमलव ९१ प्रतिशत) हुँदा यसपट रु.२० करोड (३८ दशमलव ७९ प्रतिशत) आम्दानी भएको छ । आर्थिक मामलिा मन्त्रालयमा राजश्व शाखा खोलेर स्थानीय तह, जिल्ला मालपोत कार्यालय तथा सरोकारवालाहरुसँग सिधा सिधा पहलकदमी अगाडि बढाएपछि लक्ष्य भन्दा बढेको उहाँको भनाई थियो ।
आफ्नो नेतृत्वमा सरकार भएपनि परिवर्तित राजनीतिका कारण अहिले सत्ता साझेदार दल फरक भएपति कार्यान्वयनको पाटोमा सुधार आएको जिकिर गर्दै उहाँले विनियिोजित बजेटमा दायित्व सिर्जना भएका ७० प्रतिशत पुरानै आयोजनामा बजेट हालिएको बताउनुभयो ।
त्यस्तै, विकास परिषद्को बैठक मार्फत दोस्रो पञ्चवर्षीय योजना स्वीकृत भएको छ । बैक खाता छोरीको योजनालाई नीति तथा कार्यक्रम ल्याइएको र कार्यान्वयनको पाटोमा अलमल भएकोले छलफलमै रहेको, भूकम्प प्रभावित जाजरकोट, सल्यान र रुकुमपश्चिको पुनःनिर्माणका लागि रु.५० करोड छुट्याइएको र रु.३० लाख भन्दा माथिको बजेट टेण्डर प्रक्रियामार्फत कार्यान्वयनमा गएको र दशौं राष्टिय खेलकुद चैतको २३ देखि ३० गतेसम्म सञ्चालन गर्ने आवश्यक तयारी भईरहेको उहाँले जनाउनुभयो ।
उक्त बैठकमा नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले सरकारका काम र भौतिकमन्त्रीको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै मन्त्री शेरबहादुर बुढालाई पदबाट बर्खास्त गर्न माग गर्नुभयो । उहाँले शाहीले सहलगानीमा डोल्पाको रिङ्बो बस्ती र हुम्लाको एकीकृत बस्ती विकास कार्यक्रम अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउँदै ती आयोजना केन्द्र सरकारको समपूरक अनुदान अन्तर्गत कार्यान्वयन गरिनुपर्ने प्रतिक्रिया दिनुभयो । सरकारले कार्यशैली सुधार नगरे गठबन्धनबाट बाहिरिने समेत उहाँले चेतावनी दिनुभयो ।्
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले सरकारले भूकम्प प्रभावित क्षेत्रमा पनि काम गर्ने प्रतिबद्धता भुलेको आरोप लगाउनुभयो । रुकुमपश्चिमको भ्रमणका क्रममा मुख्यमन्त्री कँडेलले सहिदको अपमान गरेको उहाँको दोषारोपण थियो ।
‘रुकुमपश्चिको सहिद पार्कमा उभिएर, मरेको मान्छेले जिउँदो मान्छेलाई दुःख दिने भए भन्नुभएछ । के तपाईं आकाशबाट खसेर आएको हो ? कि धर्तीबाट उम्रिएर आएको हो ?’ भन्दै उहाँले आवेगपूर्ण प्रश्न गर्नुभयो ।
बैठकमा नेकपा (एकीकृत समाजवादी) र राप्रपाका प्रदेशसभा सदस्यद्वय कल्याणी खड्का र सन्तोषी शाहीले बजेट तथा कार्यक्रम कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको टिप्पणी गर्नुभएको थियो । सभाको अर्को बैठक माघ ८ गते दिउसो ३ः०० बजे हुने उपसभामुख यशोदा न्यौपानेले जानकारी दिनुभयो ।