१४ मंसिर २०८१, शुक्रबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पञ्च वर्षीय योजना सबैका लागि ग्रहणयोग्य बनाउने बताउनुभएको छ ।
कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना २०८१÷०८२–०८५÷०८६ सम्बन्धी विज्ञहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले नीति प्रधान हुने गरी काम गर्दा सबैका लागि मान्य हुने बताउनुभयो । “यो प्रदेश सरकारको सरकारी दस्ताबेज हो । यसले परियोजना होइन, नीति बोकेर अगाडि बढ्छ” उहाँले भन्नुभयो, “तसर्थ आज विज्ञहरुबाट प्राप्त सुझाव समावेश गरी प्रदेश सरकारले कार्यान्वयनमा लैजान्छ ।”
सरकार वा सत्ता साझेदार पार्टी बदलिएपनि कर्णाली प्रदेश सरकारको पारित चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निरन्तर अगाडि बढ्ने जनाउँदै मुख्यमन्त्री कँडेलले भन्नुभयो, ‘कर्णालीमा काम गर्ने निर्माण व्यवसायीले पुरस्कार पाउने गरी काम गर्नुस् अतिरिक्त शुल्क तिर्न पर्दैन । यहाँ काम गर्नेलाई अधिकतम छुट दिन्छौं यद्यपि त्यसो नभएको खण्डमा कानून सक्रिय बनाएर कारवाही प्रक्रिया थाल्छौं ।”
उहाँले बिगतदेखि कर्णालीका योजना किनबेचको व्यापार गर्ने प्रवृतिलाई पूर्णरुपले अन्त्य गरी पारदर्शी र विधिसंगत हुने गरी आगामी वर्षको नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण हुने जनाउनुभयो । सरकार एक्लैको प्रयासले केही हुन नसक्ने भन्दै मुख्यमन्त्री कँडेलले विकास निर्माण र समृद्धि हाम्रो सामुहिक यात्रा भएको बताउनुभयो ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहले सामाजिक न्याय, समृद्धि र सुशासन कायममा प्रदेश सरकारले विशेष जोड दिएको बताउनुभयो । अनुदानबाट अपेक्षित विकास नहुने भन्दै उहाँले भन्नुभयो, “एकातिर हामीले खर्च गर्ने क्षमता बढाउनुछ भने अर्कोतिर कर्णाली प्रदेशको आन्तरिक आम्दानी अहिले पनि रु.५४ करोड मात्रै छ । त्यसैले राजश्व वृद्धिका स्रोतको पहिचानका गर्न हामी अगाडि बढिरहेका छौं ।”
अन्तरक्रियामा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले योजना तर्जुमा आधार, विधि तथा प्रक्रिया, प्रथम पञ्चवर्षीय योजनाका उपलब्धि, दोस्रो प्रादेशिक योजनाको प्रारुप, सोच, लक्ष्य, उद्देश्य तथा रणनीति, योजनाका प्रमुख क्षेत्र तथा विषयहरु, प्रादेशिक अर्थतन्त्र र लगानी प्रक्षेपण, विषयगत क्षेत्रको रणनीति र क्षेत्रगत कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभएको थियो । आर्थिक मामिला सचिव रविलाल पन्थले दोस्रो पञ्चवर्षीय योजना कर्णालीको सपनाको दस्ताबेज भएको जनाउँदै परियोजना बैंकको अवधारणा लिएर सरकार अगाडि बढेको जनाउनुभयो ।
उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका प्राडा.चन्द्रप्रसाद रिजालले लैङ्गिक समानता, सामाजिक समावेशिता, अपाङ्गतामैत्री र संघीयताको अभ्यासलाई सघाउने योजना निर्माण गर्न सुझाउनुभयो । उहाँले धेरै देखाउने भन्दा काम गर्ने दस्ताबेज हाम्रा लागि उपयोगी र व्यवहारिक हुने तर्क गर्नुभयो । विश्वविद्यालयका पूर्व उपकुलपति सहप्राध्यापक कालीप्रसाद पाण्डेले राजनीतिक अस्थिरताले समाजका समग्र कुरा प्रभावित भएको बताउनुभयो । कर्णालीको विकास र समृद्धि पूर्वबाट आउने गर्ने नभई कर्णाली आफैले गर्नुपर्ने उहाँको भनाई थियो ।
अन्तरक्रियामा विश्वविद्यालयकै प्राडा नारायणप्रसाद पौडेल, दीपबहादुर रावल, उपप्राध्यापक डा.बिष्णुकुमार खड्का, कल्पना पौडेल, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चन्द्रा भारती, नागरिक अगुवा पिताम्बर ढकाललगायत दर्जन बढी विज्ञहरुले दोस्रो पञ्चवर्षीय योजना कर्णालीका नागरिकको समस्या समाधान र आवश्यक सम्बोधन हुने गरी यहाँको माटो र हावापानी सुहाउँदो हुनुपर्ने सुझाव राखेका थिए ।