११ मंसिर २०८१, मंगलबार
बहुप्रकोप ‘बहुप्रकोप पूर्वसूचना प्रणाली रणनीतिक कार्य योजना तथा पूर्वकार्य प्रोटोकल निर्माण’सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा बाढी, पहिरो, चट्याङलगायतका बहुप्रकोपका विषयमा मंगलबार सरोकारवालाहरुको सहभागितामा वीरेन्द्रनगर सुर्खेतमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा बोल्दै बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बस्तीहरु नदी तथा खोला किनार र भिरोलो ठाउँमा भएकोले ती सबै बस्तीको व्यवस्थापन र विकासमा दीर्घकालीन सकरात्मक प्रभाव पार्ने खालको योजना बनाउनुपर्ने धारणा राख्नुभयो ।
पछिल्लो समयमा आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला प्रशासनले सूचना प्रणालीलाई प्रभावकारी बनाएको भन्दै अध्यक्ष भण्डारीले विपद्बाट बच्न प्रत्येक बस्तीमा साईरन पूर्व सूचनाका कार्यलाई बढाउन सुझाव दिनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले संविधानको अनुसूचीमै व्यवस्था गरिएको र ‘राष्ट्रिय विपद् जोखिम न्यूनिकरण ऐन, २०७४’ लागु भइसकेकोले त्यसैमा रहेर विपद् जोखिम न्यूनीकरणका क्रियाकलाप गर्नुपर्नेमा जोड दिनुभयो ।
बहुसरोकारवाला सबैको साझा भूमिकाबाट मात्र विपद् जोखिम न्यूनीकरण हुन सक्ने भएकोले वडा तहसम्म रहेको आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय र बलियो बनाउनुपर्ने उहाँको भनाई थियो । आन्तरिक मामिला मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम गौतमले संघको कार्ययोजना अनुसार प्रदेशमा विपद् जोखिम न्यूनीकरण काम भइरहेको बताउनुभयो ।
उहाँले कर्णाली प्रदेश विपद् जोखिम परिषद्को विसं.२०७९ असार १४ बैठकले ‘विपद् जोखिम न्यूनीकरण प्रादेशिक नीति तथा रणनीतिक कार्ययोजना २०२२–२०३०’ स्वीकृत भईसकेको जनाउनुभयो । विपद्का नौ विषयगत क्षेत्रमा यहाँका छ मन्त्रालयले काम गरिरहेको जनाउनुभएका प्रदेश सचिव गौतमले कर्णाली प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना यही मंसिरमा ल्याउन थालिएकोले आजको गोष्ठी र समुह कार्यबाट प्राप्त सुझावमाथि थप छलफल भएर त्यसमा समेटिने जनाउनुभयो ।
प्राक्टिल एक्सनका कार्यक्रम व्यवस्थापक बिक्रम रानाले पूर्वसूचना र पूर्व चेतावनीसँग सम्बन्धित गतिविधिको संयन्त्र निर्माणमा यतिबेला बढी जोड दिइएको बताउनुभयो । उहाँका अनुसार समुदायको प्रतिकार्य क्षमता वृद्धि नहुन्जेलसम्म सचेतनामूलक क्रियाकलाप गरिरहन जरुरी छ ।
गोष्ठीमा ईन्भाइरोमेन्ट एण्ड ईन्जिनियरिङ रिसर्च सेन्टरका टिम लिडर डा.डिल्लीराम पाण्डेले बाढी, पहिरो र चट्याङमा जाजरकोट, दैलेख र सुर्खेत बढी जोखिम रहेको बताउँदै कर्णाली हुने उच्च, मध्यम र सामान्यस्तरको बहुप्रकोप बारे आफ्नो प्रस्तुति राख्नुभयो । त्यस्तै, जल तथा मौसम विज्ञानको कार्यालय कोहलपुरका भीमलाल पाण्डेले मौसमको अवस्था र बाढीको पूर्वानुमान कसरी गरिन्छ भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभयो ।
उक्त कार्यशाला गोष्ठीमा सहभागी सरोकारवालाहरुले विपद् जोखिम न्यूनीकरणका लागि नदी तथा खोला किनारमा बस्दै आएका र छरिएका बस्ती व्यवस्थापन गर्नुपर्ने, सडक पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने र जथाभावी डोजर लगाउने कार्यलाई रोक्नुपर्ने सुझाव दिएका थिए । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय र प्राक्टिकल एक्सनको समन्वय तथा सहकार्यका कार्यक्रमको आयोजना गरिएको थियो ।