OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १८, २०८१ जुम्ला
२११ पटक

१८ भदौ २०८१, मंगलबार

सुन्दा अलि फरक जस्तो लाग्छ अपितु, जुम्लाको एक संस्थागत विद्यालयमा अध्ययनरत बालबालिकाहरुले ‘भाउअ पत्रकारिता’ सुरु गरेका छन् । चन्दननाथ नगरपालिका ५ जुम्ला खलंगास्थित एसिया इन्टरनेश्नल इङ्लिस स्कुलका बालबालिकाले ‘भाउअ (बाल) पत्रकारिता’ सुरु गरेका हुन् ।

यसमार्फत् ‘भाउअ पत्रकार’हरुले विद्यालयमा अध्ययन गर्नुका साथै समाजका सबैखाले गतिविधिहरुको सूचना संकलन गरी कोरपाटी अनलाईनमार्फत नागरिक तहमा पु¥याउन हरेक बिहान समाचार सम्प्रेषण गर्दछन् । यसमा आठ र दश कक्षाका ४४ बालबालिकाहरुले दैनिक स्कुलदेखि समाजमा घटित घटनाहरुको सूचना संकलन गर्दै आईरहेका छन् ।

उक्त स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले ‘भाउअ पत्रकारिता’ समाज रुपान्तरणको द्योतक भएको बताउनुभयो । मूलतः राज्यका सरकारी, सामुदायिक, सार्वजनिक, नीजि निकाय तथा सरोकारवाला सबैलाई आफ्नो कामप्रति जवाफदेही, पारदर्शी र उत्तरदायी एवं नयाँ पुस्तालाई भविश्यको योग्य एवं सक्षम नागरिक बनाउने उद्देश्यले यो सुरु गरिएको जानकारी दिनुभयो ।

“यसमा ‘भाउअ पत्रकार’ले जो कोहीसँग जिज्ञासा राख्ने एवं प्रश्न मात्र गर्दैन, यसले देश दुनियाँले के गरिरहेको छ । समाजको प्रकृति, स्वरुप र संरचनाका बारेमा पनि अध्ययन, अनुसन्धान गर्दछ” उहाँले भन्नुभयो, “आफ्नो व्यक्तित्व विकासका साथै सरोकारवालालाई कर्तव्यनिष्ठ, नागरिकमैत्री र जवाफदेही बन्न उत्प्रेरित गर्दछ ।”

यसबाट बालबालिकालाई घोकाउने, कण्ठ गर्न लगाउने नभई मैदानमै पुगी जिज्ञासु भएर सिक्ने वातावरण निर्माण गराउने र सिकाईमैत्री क्रियाकलापमा जोड दिने कुराले अपेक्षित प्रतिफल प्राप्त हुने उहाँले बताउनुभयो । बन्द कोठाको सीमा तोडेर नैतिक तथा व्यवहारिक ज्ञान र शिक्षा आर्जनका लागि समाज, प्रकृति, पर्यावरणसँग अन्तरघुलित हुने अवसर प्रदान गरी बालबालिकालाई खोज अनुसन्धानमा ‘भाउअ पत्रकारिता’ले सहयोग पु¥याउने उहाँको भनाई थियो ।

संस्थापक बुढाथोकी मगरका अनुसार ‘भाउअ पत्रकारिता’ले बालबालिकाको डर घटाउनेछ । कोठाभित्र घोक्ने संस्कृति विस्थापित गर्नेछ । प्रविधि, सूचना, सञ्चार र यसको महत्वबारे बोध गराउनेछ । ४४ ‘भाउअ पत्रकार’ हरेकले ‘महिनामा मिडियाका लागि एक दिन’ कुनै क्षेत्रको सूचना संकलन गर्ने र प्रत्येक दिन बिहान ७ः०० बजे समाचार वाचन गर्ने कार्यतालिका निर्माण गरिएको छ । यसबाट सामाजिक व्यक्तित्व निर्माणका लागि वादविवाद, अन्तरवार्ता, समुहगतरुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो ।

उक्त स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा करुणा रावलले ‘भाउअ पत्रकारिता’ले व्यक्ति, समाज र समुदाय बुझ्न सहयोग पुगेको बताउनुभयो । “कक्षा कोठामा बसेर किताबमा अक्षर पढिँदो रहेछ । यसको सीमा तोडेर बाहिर पुग्दा व्यक्ति र समाजको आचारण बुझिँदो रहेछ,” रावलले भन्नुभयो, “थोरै समयमा पढेर सिक्ने भन्दा भोगेर सिक्ने कुरा बढी खँदिलो हुँदोरहेछ भन्ने बुझ्ने अवसर पाएका छौं ।”

छात्र संगम भण्डारीले ‘भाउअ पत्रकारिता’ले नयाँ खोजप्रति जिज्ञासा जगाएको बताउनुभयो । पत्रकारितामार्फत श्रम संस्कृतिको सम्मान, बालबिबाह, कुप्रथा, भ्रष्टाचार, स्वास्थ्य तथा शिक्षाको अवस्था, सरसफाई, खाना संस्कृति, वन्यजन्तु, वन वातावरण संरक्षणलगायतका विषयलाई संवाद, लघुनाटक, वक्तित्वकला, निबन्ध प्रतियोगिता जस्ता गतिविधि गरेर समाजलाई सहि सन्देश दिने कोशिस गरिने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्