OnlinePana

आज : २०८१ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २८, २०८०सुर्खेत
१२९ पटक

२७ माघ २०८०, शनिबार

‘धर्तीमा छ सबै चीज खोजे मिल्छ घरी घरी तर जन्मदिने आमा बाबा पाईदैन कसैगरी’ भन्ने मूलभावका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मानवता प्रवद्र्धन महाअभियानअन्तरगत शनिबार ‘आमा सेमिनार’ सम्पन्न भयो ।

सेमिनारको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मानव सेवा आश्रममा जाँदा पोल्यो, पीडा भयो र पछि खुशी लाग्यो । उमेर छिपिएकाहरुको हविगतको दृश्य देखेर पीडा भयो र सोच्नमग्न बनायो पनि । यद्यपि मानव सेवा आश्रमले प्रदान गरेको सेवा र बेसाहाराहरुको अनुहारमा देखिएको मुस्कानले खुशी बनायो ।”

मुख्यमन्त्री शर्माले मान्छेले अत्याचार मात्र सहेको नभई आफैभित्रबाट सुखद् जीवन जिउनका लागि संघर्ष पनि गर्दै आइरहेको बताउनुभयो । त्यसैबीच उहाँले भन्नुभयो, “मन एउटा आफै मात्र खाने र अर्को अरुलाई पनि खुवाउन खोज्ने अर्थात खाएको देख्दा आनन्द मान्ने हुँदो रहेछ । आज संसारमा मानवता कमजोर भइरहेको छ । त्यसैले होला कष्टकर प्रसवा पीडा सहेर जन्मदिने आमा र सन्तानको जस्तो सुकै अवस्थामा काँध थाप्ने बाबाहरु अपहेलित भइरहेका छन् ।”

धन दौलत, सुविधा सम्पन्न घरले मानव जीवनमा कुनै शान्ति नमिल्ने भन्दै उहाँले सरकारले गर्नुपर्ने काम मानव सेवा आश्रम सुर्खेतले गरेको भन्दै कृतज्ञता प्रकट गर्नुभयो । प्रदेश सरकारले अब छिटै आश्रमको भवन निर्माणका लागि बजेट सहयोग गर्ने र अन्य प्रदेश भन्दा यहाँ नमूना भवन बनाउने प्रतिवद्धता व्यक्त गर्दै मुख्यमन्त्री शर्माले आवश्यकता र विकासका हिसाबले तल देखिएपनि संघीयतापछि कर्णाली बिगत भन्दा धेरै माथि उठेको दावी गर्नुभयो ।

मानव सेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले आफ्नै सन्तानहरुले आमाबुबाप्रति गरिरहेको व्यवहारले समाजमा मानवता हराउँदै गएको बताउनुभयो । समझदारी, बोधगम्यता, ईमान्दारिता भन्ने चीज सन्तानमा नहुँदा आमाहरुले आँसु निलेका कथाहरु असरल्ल देखिन थालेका छन्,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा मन र मष्तिष्क दुवैको व्यवस्थापन तथा मनलाई साथी बनाउने कला सबैले सिक्न अपहिार्य छ ।”

नाथै नाथले बनेको देशमा कोही कसैले अनाथ भएर बस्नुपर्ने बाध्यताबाट मानव समाजलाई मुक्त बनाउने गरी अभियान थालिएको बताउनुभएको उहाँले देशैभरिबाट एक हजार आठ सय आमाबुबासँग बसिएको जनाउनुभयो । ‘जिउँदै हुँदा मिठो बोल्दैन मान्छे, मरिसकेपछि मिठो बोल्ने पाउँदैन मान्छे’ भन्ने गेयात्मक भनाई राख्दै अध्यक्ष अधिकारीले मानव सेवा आश्रम रात्रीकालीन सडक सेवामा निरन्तर लागेको बताउनुभयो ।

सम्पन्न सेमिनारले भने सहभागीहरुमाझ धेरै प्रश्नहरु उठान ग¥यो । किन आफ्नै छोरा छोरीहरुले आफ्नै आमाबाबुलाई त्याग्छन् ? रुखो व्यहार गर्छन् ? वृद्धाश्रममा पठाउँछन् ? चोट पुग्ने गरी वचन प्रहार गर्छन् ? समय दिँदैनन् ? कर्तव्य पुरा गर्दैनन् ? हाम्रो समाज कता लागिरहेको छ ? मानवता कमजोर कसरी हुँदैछ । सुख, शान्ति र आनन्द कहाँबाट मिल्छ ? हाम्रो कर्तव्य र कर्म के हो ? संसारका पुज्नलायक साक्षात ईश्वर को हुन् ?

उठान भएका प्रश्नहरुका बारेमा एक हिसाबले हलमा सहभागी आफैले मनोवाद गरिरहेका थिए । अध्यक्ष अधिकारीको उत्प्रेरणामूलक प्रशिक्षणले हल करिब एक घण्टा भावुक बन्यो । आमाबुबाप्रति हरेक सन्तानले गरेको व्यवहारको स्मरणले धेरै सहभागीहरु भक्कानिए । आँसु बगाए र केही आमाहरुले आफूलाई सम्हाल्न नसकेर हलमै डाको छोडेर रोए । हलमा कतिबेला साँकसुक गरेको आवाज आउँथ्यो भने कतिबेला सुनसान हुन्थ्यो ।

“सन्तानले आफूहरुलाई दुःख दिएको पीडाको स्मरण गरेर आमाबुबा होस् या आफ्नै आमाबुबाप्रति गरेको अपमानित व्यवहार गर्ने सन्तानहरु आत्मग्लानीले आँसु झारिरहेका थिए । सायद हलको परिवेशले त्यही बताउँथ्यो ।” यसका लागि हामी सबैले अहंकार, स्वार्थ र घमण्ड त्याग्नुपर्दछ भन्ने सन्देश त्यही बीचमा सहभागीहरुले पनि प्रशिक्षणमार्फत प्राप्त गरिरहेका थिए । सेमिनारले आमाबुबा, गुरु र प्रकृतिप्रतिको विश्वास ढल्न नदिन उत्प्रेरित ग¥यो ।

मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम र आफूलाई जन्मदिने मातापिताको महत्व बोध गराई प्रेम, सद्भाव र करुणालाई जनजनमा र मनमनमा पु्याउने उद्देश्यले आयोजित ‘आमा सेमिनार’मा उब्जिएका प्रश्नहरुको उत्तर आफैभित्र खोज्नुपर्ने बेला आएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “मानव सेवा जस्तो ठूलो धर्म अरु केही छैन भन्ने बोध मानव सेवा आश्रमले गराएको छ । हरेक व्यक्तिले बुझ्न जरुरी छ । नगरपालिकाले यसको प्रवद्र्धनमा आवश्यक सहयोग गर्छ ।”

आगामी विसं.२०८२ सालसम्म सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्न सुर्खेतलगायतका नेपालका ४५ स्थानमा राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनको लागि ‘आमा सेमिनार’ कार्यक्रम आयोजना गरिएको मानव सेवा आश्रम कर्णाली प्रदेश सुर्खेतका संयोजक सञ्जिता गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार मानव सेवा आश्रमले जनजनमा सकरात्मक सोच, सृजनशीलता, रचनात्मकता, मानवीयता र सामाजिक भावनासहितको असल, आत्मसंयमित, विवेकशील र आत्मनिर्भर व्यक्ति एवं समाज बनाउने ध्येयले सेमिनारको आयोजना गरिएको थियो ।

मानव अध्ययन केन्द्रले व्यवस्थापन गरेको उक्त सेमिनारमा स्थानीय तहका जनप्रतिनिधि, सहयोगी, दाता, आमा समुह, टोल विकास समिति, युवा समुह वा क्लब, शिक्षक शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक, अध्यात्मिक तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि, महिला स्वयंसेविका र सञ्चारकर्मीहरु गरी पाँच भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्