OnlinePana

आज : २०८१ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ४, २०८०सुर्खेत
२०३ पटक

४ माघ २०८०, बिहीबार

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले कर्णाली प्रदेशको खाद्य सुरक्षा, दिवा (विद्यालय) खाजा र विपद् पूर्वतयारीका क्षेत्रमा कार्यक्रम निरन्तर गर्ने भएको छ ।

सन् १९९६ देखि नेपालमा काम गर्दै आएको डब्लुएफपीले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमा आफ्नो पञ्चवर्षीय योजना तथा कार्यक्रम सार्वजनिक गरेको हो । विश्व खाद्य कार्यक्रम सुर्खेतका फिल्ड अधिकृत पूर्ण नेपालीले डब्लुएफपीद्वारा बिगत गरिएका, वर्तमानमा भईरहेका र भविश्यमा गरिने कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नुभयो ।

उहाँले विशेषगरी कर्णालीमा रहेर आपतकालीन् समयमा खाद्य सुरक्षा तथा पोषण र यसको सुधार, जोखिम न्यूनीकरण, क्षमता विकास, खाद्य असुरक्षाको जोखिममा रहेका समुदायको दीगो खाद्य प्रणाली, खाद्य सुरक्षा र पोषण नीतिमा एकरुपता ल्याउन प्रदेश तथा स्थानीय सरकारसँगसँगै जाने बताउनुभयो । विपद् प्रभावित तथा जोखिम रहेका व्यक्तिहरुको खाद्य तथा पोषणमा सेवा प्रदान गर्ने बताउँदै अधिकृत नेपालीले विद्यालय उमेर समुहका बालबालिकाको शिक्षा र पोषणमा सहयोग पुग्ने गरी दिवा खाजामा जोड दिने जनाउनुभयो ।

डब्लुएफपी नेपालका देशीय निर्देशक रोवर्ट क्यास्काले बिगतको अनुभव, वर्तमानमा भईरहेका कामबाट पाठ सिकेर सन् २०२४–०२८ सम्म गर्ने कार्यक्रमको दूरदृष्टि, लक्ष्य, उद्देश्यसहितको रुपरेखा तयार पारिएको बताउनुभयो । सन् २०३० सम्म विश्वलाई शून्य भोकमरीमा झार्ने लक्ष्यलाई भेट्ने गरी काम भईरहेको र यसका लागि सबै तहका सरकार तथा सरोकारवालाहरुको सहयोग अपरिहार्य रहेको देशीय निर्देशक क्यास्काको भनाई थियो ।

बरिष्ठ पत्रकार विजयकुमार पाण्डेले महत्व हुँदाहुँदै पनि महत्वहीन् बनाइएको क्षेत्र कृषिको विकास र विस्तारमा सरकार गम्भीर हुन आवश्यक रहेको औंल्याउनुभयो । “किसानहरुले मल किन्न खोज्दा नपाउने देश नेपाल भएको छ,” उहाँले भन्नुभयो, “अन्नदाताहरुलाई ईज्जत दिन सकौं र उनीहरुलाई बलियो बनाउँ, देश आफै सबल बन्छ ।”

डब्लुएफपीका सूचना प्रमुख मोनिका उपाध्यायले शिक्षा र पोषण, दिवा खाजा र बालबालिकासँग जोडिएका सफल कथाहरु ल्याउन पत्रकार सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुलुकका नागरिकहरुको औसत आयु ६८ हुँदा कर्णालीका नागरिकहरुको ६३ वर्ष छ । यसले पनि कर्णाली खाद्य असुरक्षामा छ भन्ने बुझिन्छ ।” अब स्थानीयस्तरमै प्राप्त हुने रैथानबालीको दिवा खाजा बनाउने गरी कार्यक्रम तय हुने सूचना प्रमुख उपाध्यायको भनाई थियो ।

कार्यक्रममा पत्रकारहरुले कर्णालीको रैथानेबाली प्रवद्र्धन हुने, यहाँ नागरिकहरुको आयआर्जन बढ्ने, खाद्य शैलीमा परिवर्तन ल्याउने, उत्पादनमा वृद्धि आउने, आत्मनिर्भर बनाउने तथा कृषि दीगो विकासमा टेवा पुग्ने खालका कार्यक्रम बनाउन डब्लुएफपीलाई सुझाएका थिए ।

यसअघि कामका लागि खाद्यान्न, सुपथ मूल्यका पसल सञ्चालन, मानवीय सहायतास्थल निर्माण, मातृ तथा बाल पोषण, खाद्य सम्प्रभुता, स्थानीय पूर्वाधार कार्यक्रम गर्दै आएको डब्लुएफपीले अब भने स्थानीय उत्पादनमा आधारित दिवा खाजा, जलवायु परिवर्तन अनुकूलन तथा उत्थानशील कार्यक्रम, संकट तथा जोखिममा परेकाहरुलाई आपत्कालीन खाद्य सुरक्षा तथा पोषणसँग सम्बन्धित कार्यक्रम गरिने बताएको छ ।

प्रतिकृया दिनुहोस्