OnlinePana

आज : २०८१ पौष २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष २८, २०८०सुर्खेत
१२६ पटक

२८ पुस २०८०, शनिबार

कर्णाली प्रदेश सरकारले एक वर्षसम्म गरेका कार्यसम्पादनका काम र उपलब्धिहरु सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले शनिबार पत्रकार भेटघाट कार्यक्रममार्फत कार्य प्रगति सार्वजनिक गर्नुभएको हो ।

उहाँले सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक नीतिगत निर्णय, ऐन, कानून, नियमावली, मापदण्ड, निर्देशिका तथा रणनीतिक योजना बनाएको छ । गत वर्ष पुस २८ गते पदबहाली गरेको मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले २६ मन्त्रिपरिषद् बैठक बस्दा ८२ निर्णय गरेको थियो ।

उहाँले एक वर्षको कार्यकालमा चार विधेयक र १८ नियमावली पारित, प्रदेशसभामा तीन विधेयक दर्ता, १६ कार्यविधि निर्माण, पाँच निर्देशिका, तीन मापदण्ड र छ रणनीति योजना तयार, मन्त्रिपरिषद् बैठकबाट १२ विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको बताउनुभयो ।

कर्णालीमा प्रदेशमा दुई हजार नौ सय २९ स्वीकृत कर्मचारी दरबन्दीमा समायोजन, संघीय सरकारबाट कामकाजमा खटाइएका, लोक सेवा आयोगबाट सिफारिस भएका र करार सेवा गरी दुई हजार ८६ जनशक्ति पदपूर्ति गरिएको छ । सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सबै मन्त्रालयमा छलफल भई स्वीकृतिको अन्तिम चरणमा पुगेको मुख्यमन्त्री शर्माले जनाउनुभयो ।

त्यसैगरी, सरकारले प्रदेश लोक सेवा आयोगबाट स्थानीय तहमा आठ सय २६ र प्रदेशमा तीन सय २२ गरी एक हजार एक सय ४८, सहायक चौथो र पाँचौं गरी चार सय ७७ जनालाई स्थायी नियुक्ति दिएको छ । त्यस्तै, नवौं तहको १७, सातौं तहको सात, पाँचौ तहको पाँच र चौथो तहको तीन गरी ३२ वटा पाठ्यक्रम तयार गरिएको उहाँले बताउनुभयो ।

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेहरुलाई हालसम्म रु.दुई करोड ८२ लाख विपद् जोखिम विरुद्ध सामुहिक दुर्घटना बीमा उपलब्ध गराउनेलगायतको विपद् व्यवस्थापन, शान्ति सुरक्षा, घाइते अपांगता भएका व्यक्तिहरुका लागि जीवन निर्वाह र सहिद परिवारहरुका लागि सहिदस्मृति भत्ता उपलब्ध गराइएको छ ।

पत्रकाहरुलाई लोककल्याणकारी विज्ञापन र पत्रकारिता पुरस्कारको व्यवस्था गरिएको बताउँदै मुख्यमन्त्री शर्माले सरकारले उच्च शिक्षा प्राविधिक विषयका लागि छ सय २७ छोरी, एक सय ४५ बुहारी, चार सय २१ दलित, चार सय १४ अपांग, एक सय ६७ जेहेन्दार, नौ सहिद सन्तति र ३ सीमान्तकृतलाई छात्रवृति प्रदान गरिएको जनाउनुभयो ।

उहाँका अनुसार प्रदेशको गौरवको आयोजना कर्णाली प्रदेश रंगशाला निर्माणको कार्य ७० प्रतिशत सम्पन्न भएको छ । पछिल्लो समयमा तीन हजार पाँच सय ९७ नयाँ उद्योग दर्ता हुँदा रु.नौ करोड ४७ लाख राजश्व संकलन भएको छ । दुई हजार दुई सय ६९ हेक्टर जमीनमा थप सिंचाई सुविधा उपलब्ध भएको छ भने आ.व.२०७९÷८० मा आठ सय २१ योजना सम्पन्न भएका छन् ।

पूर्वाधारतर्फ कर्णालीमा ५१ झोलुङ्गे पुल, सात सडक पुल, ३३.३२ किलोमिटर पक्की, १४९.४१ ग्राभेल सडक निर्माण तथा ७२५.०५ किलोमिटर नयाँ ट्रयाक खोलिएको छ । त्यस्तै चार हजार सात सय ११ सवारी साधन दर्ताबाट रु.२९ करोड ५२ लाख ६२ हजार चार सय २८ राजश्व संकलन गरिएको छ ।

लक्षित वर्ग विशेष कार्यक्रम, प्राङ्गारिक कृषि प्रवद्र्धन तथा रैथाने बाली विकास कार्यक्रम, जग्गा भाडामा अनुदान, कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन कार्यक्रमबाट चार हजार आठ सय ३५ लाभान्वित हुँदा नौ सय ४७ जना पूर्ण स्वरोजगार, चार हजार ९६ जनालाई करिब चार महिना बराबरको आंशिक रोजगारी सिर्जना भएको प्रदेश सरकारले जनाएको छ ।

त्यस्तै, कर्णाली समृद्धि परियोजनामार्फत सरकारले यहाँका बेरोजगार युवाहरुलाई रोजगारका विभिन्न अवसर उपलब्ध गराउने उद्देश्यले यहाँका सात सय १८ वटै वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमअन्तरगत गत आव.मा आठ लाख ४६ हजार एक सय ९२ कार्यदिन बराबरको रोजगारी सृजना भई १७ हजार बढीले रोजगारी प्राप्त गरेका छन् ।

प्रदेश सरकारले चालु आव.मा पनि सबै वडामा कार्यक्रम सञ्चालनका लागि एक अर्ब १६ करोड ४० लाख रकम सशर्त अनुदानका रुपमा सबै पालिकमा पठाइएको जनाएको छ । कर्णाली समृद्धिको मूल उद्देश्यमा आधारित वार्षिक न्यूनतम् दश हजार रोजगारी सिर्जना गर्ने समृद्धिको परियोजना सञ्चालन लागि वार्षिक कार्यक्रम कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

यसका लागि आवश्यक कानून, परियोजना दस्ताबेज, सूचना तथा तथ्याङ्क संकलनका लागि अनलाईन प्रणाली निर्माण भईरहेको र निकट समयमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको उहाँको भनाई थियो । प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको समीक्षा तथा दोस्रो पञ्चवर्षीय योजनाको अवधारणा पत्र तयारीको कार्यका साथै कर्णाली प्रदेश आयोजना बैंक तयारी सम्बन्धी कार्य गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्