

सुर्खेत, १४ पुसः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई अपिल गर्नुभएको छ ।
नव वर्ष सन् २०२० को पूर्वसन्ध्यामा ईसाई समाज सुर्खेतद्वारा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै मन्त्री रावलले बहुधार्मिक, बहुसाँस्कृतिक, बहुभाषिक र बहुजातीय देश नेपालमा विविधता भित्र एकता कायम भएको बताउनुभयो । मुलुक धर्मनिरपेक्ष भइसकेकोले विभिन्न धर्ममा आस्था राख्ने सबै समुदायका नागरिकहरुलाई धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै देश विकासमा लाग्न उहाँले आग्रह गर्नुभयो ।
“कर्णाली प्रदेश सरकारले लिएको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को लक्ष्य हामी सबै धर्म सम्प्रदायका मान्छेहरु मिलेर पुरा गर्नुपर्छ,” मन्त्री रावलले भन्नुभयो, “यो ख्रीष्टमस पर्वले हामी सबैलाई एक भएर काम गर्ने प्रेरणा मिलोस् । नयाँ वर्षको नयाँ उर्जाले कर्णाली प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने उहाँले जिकिर गर्नुभयो ।
ईसाई धर्मगुरु रेभरेण्ड डा.बालकृष्ण शर्माले धर्म र संस्कृतिले चरित्रवान् एवं निष्ठावान व्यक्ति निर्माण हुनुपर्नेमा जोड दिनुभयो । डा.शर्माले भन्नुभयो, “खराब कुराको जरा मानिसको हृदयमा भएको पाप हो । जसले मानवबीच हिंसा विवाद, द्वन्द्व ल्याएको छ ।” तीर्थदानले उद्धार र मुक्ति पाउन नसकिने भन्दै संसारका दीन, दुःखी र अप्ठ्यारोमा परेकाहरुको सहयोगी बन्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले ख्रीष्टियनहरुको कर्मले पनि समाजलाई सुसंस्कृत बन्न सघाउ पुगेको बताउनुभयो । प्रदेशसभा सदस्य अमृता शाहीले पहिलो पटक कार्यक्रममा सहभागी हुन पाउँदा र ख्रीष्टियन गतिविधिले आफूलाई खुशी तुल्याएको विचार व्यक्त गर्नुभयो ।
इसाई समाज सुर्खेतका अध्यक्ष रेभरेण्ड पास्टर पदम गैरेले संविधानले व्यवस्था गरेको धर्मनिरपेक्ष राज्यमा सबै धर्मावलम्बीलाई समान व्यवहारगरी असल संरक्षकको भूमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । “हामी ख्रीष्टियनहरुमाथि केही विभेदकारी काम भएका छन्,” अध्यक्ष गैरेले भन्नुभयो, “अब तीनै तहका सरकारहरु हाम्रो अभिभावक बन्नुपर्छ ।”
ख्रीष्टियन धर्मावलम्बीहरुको जन्म र मृत्युका संस्कारमा सरकार संवेदनशील भएर सोचिदिनुपर्ने उहाँको आग्रह थियो । कार्यक्रममा मन्त्री रावलसहित प्रदेशसभा सदस्यहरु, पत्रकार सञ्चारकर्मीहरु कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न चर्चमा कार्यरत अगुवासहित ख्रीष्टिय धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।