

२७ चैत २०८२, शुक्रबार
सुर्खेतः ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ प्रतिरोधका पाइलाको पदचापदेखि कर्नालीका सुईनाको बहसको रुपमा विकास हुँदै गएको बताइएको छ ।
ऋति फाउण्डेसन सुुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कर्णाली उत्सव आयोजक समितिको सचिवालयका संयोजक कमल लम्सालले कर्णालीको समग्र सवालको उठान गरी यहाँको विकास र समृद्धिमा सघाउने विशेष मञ्चका रुपमा उत्सव सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी मोक्षभूमि कर्णालीको भूगोलबाट महिला नेतृत्वदेखि सिमान्त मान्ठ, संघर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरुको कथा, जेनजेट पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा उर्जा, प्रविधिको विकासबारे उत्सवमा विमर्श हुनेछ ।”
उक्त कार्यक्रममा पूर्वमन्त्री तथा उत्सवका कल्पनाकार माधवप्रसाद चौलागाईले कर्णालीको भूगोल, संस्कृति र संभावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रुपमा ‘कर्णाली उत्सव’ संस्थागत हुँदै गएको बताउनुभयो । उहाँले उत्सवको सातौं संस्करणबाट समाजमा व्याप्त निरासा चिर्ने र समतामूलक समृद्धिको गोरेटो कोर्ने सत्प्रयास हुने जनाउनुभयो ।
आयोजक समितिको सचिवालयको सदस्य प्रकाश लामिछानेले तीन दिनसम्म सञ्चालन हुने उत्सवमा १५ वटा विविधतापूर्ण मूल सुत्र समावेश गरिएको र त्यसमा १० वटा सत्र रहेको बताउनुभयो । त्यस्तै कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेला जुनु हमाल ढकाल, रतन देवकोटा र चिकित्स डा.अखण्ड उपाध्यायको संघर्ष र सफलताको कथा प्रस्तुत गरिने उहाँको भनाई थियो ।
उत्सवमा नेपाली चलचित्र ईतिहासका महानायक राजेश हमालसँग नखिचिएका सिनेमाका बारेमा कुराकानी गरिने भएको छ । भोलिदेखि सुर्खेत वीरेन्द्रनगरमा सुरु हुने ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ सातौं संस्करण चैत २८–३० गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।


