OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १५, २०७८ सुर्खेत
१२९७ पटक

 १५ असार २०७८, मंगलबार

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट कर्म गर्ने कृषकलाई सुनको हलो प्रदान गरिने बताउनुभएको छ ।

‘१८औं राष्ट्रिय धान दिवस–२०७८’ तथा रोपाइँ महोत्सवका अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत आज धान दिवस मनाउने कार्यक्रममा कृषिमन्त्री शाहीले आगामी आव.२०७८÷०७९ मा कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुर्याउने र यसमा उत्कृष्ट कार्य देखाउने कृषकलाई प्रदेश सरकारले सुनको हलोले सम्मान गर्ने बताउनुभयो ।

 

“कर्णालीमा १७ लाख जनसंख्या छ तर एक लाख ३३ हजार मेट्रिक टन मात्र खाद्यान्न उत्पादन हुँदो रहेछ,” उहाँले भन्नुभयो, “उत्पादनमा वृद्धि ल्याई कृषिमा आत्मनिर्भरता बढाउन कृषकहरुलाई हौसला मिलोस् भनेर प्रदेश सरकारले उत्कृष्ट कृषकसहित अन्य कृषकहरुलाई पनि सम्मान गरिनेछ । प्रदेश सरकारले उत्कृष्ट कृषकलाई सुनको हलो प्रदान गर्ने नीति तथा कार्यक्रममै उल्लेख गरेको छ ।”

मन्त्री शाहीले कर्णालीमा कोदो, फापर, मर्कै, चिनो, कागुनो जस्ता रैथानी बाली उत्पादन गर्न कृषकहरुलाई प्रेरणा मिल्ने सन्देशमूलक समाचार सम्प्रेषण गर्न पत्रकार सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । प्रदेश सरकार आयातलाई विस्थापित गर्ने गरी अघि बढिरहेकोले यसमा सबै क्षेत्रको उत्तिकै भूमिका रहेको उहाँको भनाई थियो ।

 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले शरीरको ब्रम्हास्थानमा अक्षता लगाएर शुभारम्भ गरिने धान खेतीको महत्वलाई बुझेर सरकारले १८ वर्षदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउँदै आएको बताउनुभयो । कर्णाली सातै प्रदेशमा धान कम हुने प्रदेश भएपनि प्रदेश सरकारले यो खेतीमा महत्व दिएको जनाउनुभयो ।

“प्रदेश ठूलो छ तर धान खेती कम हुन्छ यद्यपि हामी संसारका सबैभन्दा अग्लो स्थानमा धान रोप्ने ठाउँका मान्छे हौं,” सचिव डा.मिश्रले भन्नुभयो, “हिजो निर्यात गथ्र्यौं तर आज बर्सेनि एक खर्ब ४० अर्बको धान आयात गरिरहेका छौं ।” अब भोलिको पुस्तालाई ठूलो घडेरी दिन सक्ने तर धान दिन नसक्ने चुनौती हाम्रो सामु आईलागेकोले यसमा सबै सरोकारवालाहरुले बेलैमा ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।

धान खेती मासिँदै जाँदा पोषण तथा खाद्य सुरक्षा सुनिश्चित हुन नसक्ने भएकोले खेती योग्य भूमि बचाउन सरकारदेखि नागरिक तहसम्मले जिम्मेवारीका साथ लाग्न उहाँले आग्रह गर्नुभयो । पोखरा काठमाडौंलगायतका धान दिवस तथा रोपाई महोत्वस मनाउन विदेशी पर्यटक आउने गरिरहेको अवस्थामा कर्णालीमा पनि पर्यटक भित्र्याउने वातावरण तयार गर्नुपर्ने अपरिहार्यता रहेको उहाँको भनाई थियो ।

कर्णाली प्रदेश सरकारले उर्बर भूमि नमासियोस् भन्ने सन्देश प्रवाह गर्न ‘धान खेतीलाई घरेलीकरण हुनबाट बचाऔंः भावी पुस्ताका लागि धान खेती जोगाऔं’ नारा ल्याएर त्यसलाई संस्थागत गर्ने लक्ष्य राखेको छ । यस अघि ‘मेरो किसानः मेरो अन्नदाता’ भन्ने नारा ल्याएको प्रदेश सरकारले अब कृषिलाई आधुनिकीकरण गरी व्यवसायिकतामा जोड दिने नीति अख्तियार गरेको जनाईएको छ ।

कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगर ९ को लाटीकोईलीस्थित कृषिमन्त्री शाही, सचिव डा.मिश्र, मन्त्रालयका कर्मचारी, स्थानीयले सामुहिकरुपमा धान रोप्दै, असारे गीत गाउँदै, हिलो छ्याप्दै राष्ट्रिय धान दिवस मनाएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्