OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ११, २०७७सुर्खेत
७५४ पटक

११ चैत २०७७, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने जनाउनुभएको छ ।

कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा बोल्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली । यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सह्रानीय छ ।”

यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाउनुभयो । यसको निरन्तरताले नयाँ पुस्तालाई उर्जा मिल्ने र यहाँको समृद्धि तथा विकासका साथै उज्ज्वल भविश्य निर्माणमा साहित्य र कलाको विशेष योगदान रहने उहाँको भनाई थियो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा.नन्दबहादुर सिंहले कर्णाली साँस्कृतिक र जैविक सभ्यताको केन्द्रबिन्दु भएको बताउनुभयो । यहाँको साँस्कृति सम्पदाको अभिलेखीकरण गर्न त्यसको उत्खन गर्नुपर्नेमा जोड दिँदै उपकुलपति प्राडा.सिंहले भन्नुभयो, “मान्छे पदले नभई कामले चिनिन्छ । कर्णालीले नोबेल पुरस्कार पाउनेगरी काम किन नगर्ने ?” मध्यपश्चिमाञ्चल विश्वविद्यालयले यहाँको आदिवासी ज्ञान, कला, सीप संरक्षणको तयारी गरिरहेको उहाँले जनाउनुभयो ।

कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दीपेन्द्र रोकायले साहित्य, कला र संस्कृतिमा नयाँ पुस्ताले आफ्नो मानक निर्माण गर्न कठिन भएको प्रतिक्रिया दिनुभयो । हिजोका पुर्खाले जन्माएका कला, साहित्य, संस्कृतिलाई नयाँ पुस्ताले संगठित एवं संस्थागत गदै जानुपर्नेमा सदस्य डा.रोकायको जोड थियो । शताब्दी पुरुष जोशीले आज सम्मान पाउनुमा कर्णालीलाई श्रेय दिएको भनाई उद्रित गर्दै उहाँले यसले जुम्ला सिंजाको ऐतिहासिक स्थान लामाथाडा सम्झना गराएको जनाउनुभयो ।

समारोहमा समाजका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरीक्षक महेशविक्रम शाहले साहित्य समृद्ध भएमात्र समाज र सस्कृति समृद्ध हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो, “साहित्य र भाषा एक अर्काका परिपूरक हुन् । यो कम्प्युटरको सफ्टवेयर जस्तै हो । यसले नागरिकलाई समाजप्रति दायित्वबोध गराउँछ र सर्वत्र चिनाउन सहयोग पुग्छ ।”

शताब्दी पुरुष जोशी, विष्ट र गिरी पुरस्कृत

कर्णाली साहित्य समाज सुर्खेतले कला, संस्कृति र साहित्यतर्फ विशेष योगदान पुर्याउनुहुने मुलुकका तीनजना स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

समाजद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पुरस्कार तथा सम्मान अर्पण समारोह’मा ललितपुर निवासी शताब्दी पुरुष सत्यमोहन जोशी, कैलाली टिकापुर निवासी कथाकार ललित विष्ट र सुर्खेत निवासी कलासाधक प्रेमदेव गिरीलाई पुरस्कृत गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीनै स्रष्टालाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

उक्त कार्यक्रममा कर्णालीको लोक संस्कृतिलगायतका दर्जनौं कृतिका लेखक तथा शताब्दी पुरुष जोशीलाई ताम्रपत्रसहित ‘कर्णाली साहित्य साधना सम्मान’ प्रदान गरिएको छ । जुन सम्मान समाजका संरक्षक महेशविक्रम शाहले ग्रहण गर्नुभयो ।


त्यस्तै, मुख्यमन्त्री शाहीले कथाकार विष्टको कथाकृति ‘मोहपथ’लाई रु.५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार,’ र नेपाली लोक एवं वाद्यवादनका क्षेत्रमा कर्णालीलाई नेपाल तथा विदेशमा चिनाउने योगदान पुर्याउनु हुने बरिष्ठ कलासाधक प्रेमदेव गिरीलाई रु.२५ हजारको ‘कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार’ प्रदान गर्नुभयो ।

समाजका अध्यक्ष खगेन्द्र अधिकारीले सानो छलफलबाट जन्मेको सोच आज जीवन्त संस्थामा परिणत भएकोमा खुशी लागेको बताउनुभयो । “नेपाली साहित्य श्रीवृद्धि र कर्णालीको कला, संस्कृति तथा साहित्यलाई देश विदेशमा चिनाउन विशेष योगदान दिने सर्जक स्रष्टाहरुको छनोटका आधारमा पुरस्कृत तथा सम्मान गरेका छौं,” उहाँले भन्नुभयो, “गत वर्षपनि ‘मरिचिका’ कथा संग्रहका कथाकार महेश थापा, कवि तथा उपन्यासकार बुद्धिसागर र कवि श्यामललाई सम्मान तथा पुरस्कृत गरेका थियौं ।”

प्रतिकृया दिनुहोस्