OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ४, २०७७काठमाडौं
९०८ पटक

३ चैत २०७७, मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरुबीच प्रतिनिधि सभा विघटनबारे सवाल जवाफ भएको छ । मंगलबार साँझ मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयमा छलफल गर्न राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच सवाल जवाफ भएको हो ।

कार्यक्रममा राष्ट्रपतिले सर्वदलीय बैठकबारे जानकारी गराउँदै शिक्षा स्वास्थ्य र मौसम परिवर्तनका कुरा गरेकी थिइन् । राष्ट्रपतिले धारणा राखेपछि करिव ३ मिनेट बैठकमा सन्नाटा छाएको सहभागी एक नेताले रातोपाटीलाई बताए ।

एक छिनको सन्नाटापछि प्रधानमन्त्री केपी शर्मा ओली आफै बोल्न सुरु गरेका थिए ।

आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नु जायज थियो भन्दै त्यसको औचित्य पुष्टि गर्न समय खर्चिएका थिए । साथै उनले अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापना भएकाले अव संसद चलाउनुपर्ने बताएका थिए ।

‘अदालतको आदेशले संसद पुनःस्थापना भैसकेको छ । पुनःस्थापना पछि पनि बैठक राम्ररी चल्न सकेको छैन । फेरि सबैबीच संवाद गरेर संसद चलाउनुपर्ने अवस्था आएको छ’, प्रधानमन्त्री ओलीले बैठकमा भनेका थिए । उनले प्रजातान्त्रिक व्यवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने दलिल पेश गरेका थिए ।

ओली पछि काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल बोलेका थिए । नेता पौडेलले राष्ट्रपतिलाई प्रश्न गरे । उनले भने, ‘यस्तो खालको संवाद गर्नु राम्रै हो । तर यस्तो राय संसद विघटन गर्नु अघि किन लिइएन ?’, पौडेलले प्रश्न गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले गरेको फैसलालाई ठिक बेठीक भन्ने र संसद विघटनको पक्ष विपक्षमा तर्क गर्न आफूहरु शीतल निवासमा उपस्थित नभएको बताएका थिए ।

‘अदालतले गरेको फैसलालाई ठिक बेठीक भनेर बहस गर्ने र संसद विघटनको पक्ष विपक्षमा तर्क गर्न हामी यहाँ आएका होइनौ’, प्रचण्डको भनाइ उदृत गर्दै राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसद चलाउने कुरामा संवाद गर्न कसले रोकेको छ र ? तर, संवादको पहल त हुनुपर्ला नि ?’

त्यस्तै अध्यक्ष लोहनीले जनताले स्थिरता, गतिशीलता र विकास खोजेको भएपनि यी तीनवटै कुरा जनताले नपाउँदा निराश भएको बताएका थिए । ‘अहिले मुलुकमा संकट आउनुको कारण के हो भन्ने सवैलाई थाहा छ यसलाई नजरअन्दाज गर्नु भएन । समाधान गर्ने थलो संसद हो । संसदको नेता प्रधानमन्त्री भएकाले समस्या समाधान गर्ने कुरामा उहाँ नै अग्रसर हुन जरुरी छ हैन भने देश ठुलो संकटमा जान्छ’, अध्यक्ष लोहनीको भनाइ थियो । झण्डै एक घण्टा चलेको बैठकमा शीतल निवासले नेताहरुलाई चिया र बिस्कुट खुवाएको थियो । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्