OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन १९, २०७७सुर्खेत
६५४ पटक

 

 १९ फागुन २०७७, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राउटे अगुवा दिलबहादुर शाहीले भेटेर गुनासो पोख्नुभएको छ ।

आफ्नो जनताका लागि खानाको समस्या भएको भन्दै सोमबार मुख्यमन्त्री शाहीको कार्यकक्षमा पुगेका दिलबहादुरले गुराँस गाउँपालिकाले चार महिनासम्म भत्ता नदिएको गुनासो पोख्नुभयो । गाउँपालिकाले दिने मासिक प्रतिव्यक्ति रु.तीन हजार नपाउँदा खाने चामल किन्न नसकिएको र जसको कारण भोको पेटमा सरकारसमक्ष बिन्ती राख्न आएको उहाँले जनाउनुभयो ।

“के गर्ने, मेरो जनता भोकले मर्न आँटे । म पनि भोकै यहाँका आएको छु,” उहाँले भन्नुभयो, “पेट भन्दा ठूलो केही छैन । सरकारले भत्ता र रासनपानी दिएर हामीलाई पठाउनु पर्यो ।” उहाँले ४६ घर परिवारका सबैलाई खानका लागि चामल नहुँदा भोकले ठूलो समस्या भएको र प्रदेश सरकारलाई जतिसक्दो छिटो भोको पेटको समस्या समाधान गरिदिन मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो ।

आफ्नै कार्यकक्षमा भोकको समस्या बोकेर आएका राउटे अगुवा दिलबहादुरको टोलीलाई मुख्यमन्त्री शाहीले चिन्ता नलिन सुझाउनुभयो । उहाँले राउटेको ४६ घर परिवारका लागि प्रदेश सरकारले खानसहित अस्थायी बसोबासका लागि व्यवस्थित पाल उपलब्ध गराउने वचन दिनुभयो ।

राउटेले मुख्यमन्त्री शाहीलाई काठको कोशी र ठेकी उपहार दिएका थिए । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव चन्द्रमान श्रेष्ठलाई पनि उनीहरुले कोशी उपहार दिएका थिए । उनीहरुलाई प्रदेश सरकारले केही रासनपानी दिएपछि खुशी भएर राउटेहरु फर्केका छन् ।

संघीय सरकारले प्रति राउटे मासिक रु.तीन हजार दिँदै आएकोमा कर्णाली प्रदेश सरकारले चालु आव.देखि उनीहरुलाई मासिक रु.दुई हजार भत्ता थपेको छ । मुख्यमन्त्री शाहीले राउटेलाई स्थायी घर निर्माण गरिदिने प्रस्ताव राख्दा अगुवा दिलबहादुर आफ्नो फिरन्ते पहिचान मेटिने तर्क गर्नुभयो । पछिल्लो समयमा उनीहरुलाई अस्थायी भएपनि पालको व्यवस्थित बास गर्ने योजना बनाईएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिकृया दिनुहोस्