

५ फागुन (२०७७, बुधबार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । सचिवालय हेरफेरका क्रममा मंगलबार सचिवालयका तीन जनाले राजीनामा दिनुभएको थियो ।
सचिवालय हेरफेरको क्रममा मुख्यमन्त्री शाहीले जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ नेताहरुलाई नियुक्त गर्नुभएको छ । उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर वि.क.(विकल्प जुम्ली), प्रमुख स्वकीय सचिवमा कृष्णप्रसाद आचार्य र स्वकीय सचिवमा रविन्द्र शाहीलाई नियुक्त गरिएको बताउनुभएको छ ।
पार्टीका अन्य नेता कार्यकर्ताहरुलाई पनि अवसर प्रदान गर्ने ध्येयले सचिवालय हेरफेर गरिएको जनाउँदै मुख्यमन्त्री शाहीले हेरफेर हुनुमा अन्य कुनै कारण नभएको बताउनुभयो । तीन वर्षसम्म सचिवालयमा रहेर काम गर्नुभएका जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकीय सचिव खेमबहादुर सिंह, स्वकीय सुमन शाहीलाई सचिवालयले आजै विदाई गरेको छ ।
यही फागुन २ गते कर्णाली प्रदेशका मुख्यन्यायाधिवक्ता विद्याभूषण मानन्धरले पनि आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । मुख्यन्यायधिवक्ताको राजीनाम स्वीकृतिका बारेमा भने प्रदेश सरकारले खुलाएको छैन ।