OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर ११, २०७७काठमाडौं
५९७ पटक

 

 

इश्वरचन्द्र झा
काठमाडौं, मंसिर ११ गते । फुटबलका महान् हस्ती अर्जेन्टिनाका डिआगो म्याराडोनाको निधनले विश्वभरिका खेल प्रशंसक शोकमा छन् । अर्जेन्टिना भने तीन दिनसम्म शोकमा रहने घोषणा गरेको छ ।
विश्व फुटबलमा लामो समयसम्म आफ्नो वर्चश्व कायम राख्नुभएका ६० वर्षीय डिआगो म्याराडोनाको टिग्रेस्थित आफ्नो निवासमा बुधबार अबेर निधन भएको हो । उहाँले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाउनुभएको थियो । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले म्याराडोनाको अस्तित्वप्रति धन्यवाद दिनुहुँदै तीनदिने शोकको घोषणा गर्नुभएको छ ।
अक्टोबर ३०, १९६० मा पोलिक्निका लानसमा बुवा डोन डिआगो र आमा डाल्मा साल्भाडोरा डोना टोटाको पाँचौं सन्तानको रुपमा उहाँको जन्म भएको हो । उहाँको जन्म भएको दिनको पनि रोचक प्रसंग छ । लानस नजिकको पोलिक्लिनिको एभिटा अस्पतालमा उहाँ जन्मिनुअघि ११ जना नवजात शिशुको जन्म भएको थियो । सबै छोरी थिए । चिकित्सकले उक्त दिन पहिलो छोरा जन्मेकोमा आमा बुवालाई बधाई दिएका थिए ।
तीन वर्षको छँदा डिआगोले आफ्नो काकाबाट उपहारमा फुटबल पाउनुभयो । दुबैजना फ्लोरिटोको सडकमा फुटबलको अभ्यास गर्न सुरु गरे । डिओगा म्याराडोनाले आफ्नो अटोबायोग्राफीमा लेख्नुभएको छ, “दश वर्षभन्दा कम उमेरको छँदा अभ्यास गरिरहेको बेला फुटबल सेफ्टी टयाङ्कमा झर्न पुग्यो, घाँटीसम्म डुबेको अवस्थामा पनि मैले बल खोजिरहें, पछि काकाले आफ्नो ज्यानको चिन्ता नलिई टयाङ्कबाट निकाल्न सफल हुनुभयो ।” “उहाँले ननिकालेको भए फुटबल खोज्दै म डुबेर मरिसकेको हुन्थें ।”–डिआगोले लेख्नुभएको छ ।
म्याराडोना दश वर्षको भएपछि उहाँको खुट्टाले बललाई चलाउन राम्ररी कौशल प्राप्त गरिसकेको थियो । सन् १९६९ मा उहाँको बुवाले चलाउनुभएको फुटबल क्लब एष्ट्रेला रोजामा जुनियर खेलाडीले अवसर पाउनेभयो । बुवालाई विश्वास दिलाउँदै बुइनोस ऐयर्समा परीक्षणका लागि प्रस्थान गर्दै उहाँ प्रशिक्षणमा सहभागी हुनुभयो ।
प्रशिक्षक कोर्नेजोले डिआगो जुनियरको कौशलता हेरेर स्तब्ध हुनुभएको थियो । “हावामा उडेको बललाई देब्रे खुट्टाले आकाशमै नियन्त्रणमा लिएर हिर्काउँदा टाउकामा लागेर डिफेन्डर ढल्न पुग्दा आशंकित हुन पुगें । किनभने आठ वर्षको छु भनेर ढाँटेको हुनुपर्छ ।”–प्रशिक्षकले लेखेका छन् ।
सन् १९७१ मा डिआगो म्याराडोनाको उमेरको रहस्य प्रष्ट भइसकेपछि सन् १९७३÷७४ मा उहाँले लगातार १३६ खेलमा सहभागी हुनुभयो । नोभेनामा १४ वर्ष मुनिको राष्ट्रिय लिगसमेत जित्न सफल भयो । सेप्टेम्बर २८, १९७१ मा डिआगोले आर्जेन्टिन प्रेसको ध्यान समेत तान्न सफल हुनुभयो । उहाँको कौशलता हेरेर उक्त पत्रिकाले डिआगोको प्रशंसामा एउटा आलेख नै छाप्यो ।
भिल्ला फिओरिटोमा बाल्यकालमा अनौपचारिक खेलकुदबाट उहाँले फुटबलको सुरुवात गर्नुभएको थियो । १६ वर्षकै उमेरमा डिआगोले जुनियर आर्जेन्टिनोसको प्रतिनिधित्व गरी राष्ट्रिय फुटबलको सुरुवात गर्नुभएको थियो । ला पेटर्नल रंगशालामा आफ्नो अदभुत फुटबल कौशलले दर्शकलाई आकर्षित गर्नुभयो । उक्त रंगशालालाई हाल म्याराडोना रंगशाला नामकरण गरिएको छ ।
सेसर मेनोट्टीको प्रशिक्षणमा बार्सिलोनामा आबद्ध भएपछि उहाँ विष्फोटक खेल प्रदर्शन गर्न सुरु गर्नुभयो । अन्डोनी गोइकोजियाका् प्रहारबाट खुट्टामा गम्भीर चोट लागेपछि उहाँको फुटबल जीवन प्रभावित भयो । त्यत्ति नै बेला लागू औषधको दुब्यर्सनको चपेटामा पर्दा त्यसपछिको लामो समयसम्म म्याराडोनाको फुटबल जीवन छायाँमा पर्यो ।
तर सन् १९८४ मा नपोलीमा आबद्ध भएपछि उहाँ खेलाडीबाट भगवानको अवतारको रुपमा चित्रित हुन पुग्नुभयो ।
आर्जेन्टिनामा सबैभन्दा धेरै चाहिएको डिआगो
१६ औं जन्मदिन मनाउनुभन्दा दश दिन अघि नै डिआगो जुनियरले आर्जेन्टिनोजको प्रतिनिधित्व गर्दै टर्लस विरुद्ध डेब्यु गर्नुभयो । २० औं जन्मवर्ष अघिसम्म उहाँले सन् १९८० मा ला पेटर्नलको प्रतिनिधित्व गरी १५० खेलमा एक सयभन्दा बढी गोल गरिसक्नुभएको थियो । त्यत्तिबेला उहाँ अर्जेन्टिन फुटबलको सबैभन्दा उच्च मूल्यको खेलाडी बन्नुभयो । उहाँले सन् १९८० मा महानगर खेल र राष्ट्रिय च्याम्पियनशिपमा सबैभन्दा बढी गोल गर्नुभयो । वर्षको अन्त्य हुँदासम्म ला पेटर्नल छोड्नेभन्दा डिआगोको अर्को गन्तब्य कुन हुने चर्चा चुलियो । आर्जेन्टिनोजसँग १८ महिने ऋण सम्झौतामा बोकाले जेनिजको छ जना खेलाडी भित्र्यायो । अन्ततः सन् १९८१ मा म्याराडोनाको स्थानान्तरण सम्भव भयो ।
सन् १९८६ को विश्वकपमा इंग्ल्याण्ड विरुद्ध म्याराडोनाले गर्नुभएको गोल ‘शताब्दीकै गोल’को उपमा पायो । सन् १९८६ को विश्वकपमा नै म्याराडोनाको कलाले उहाँलाई क्रिकेट प्रशंसकले ‘हयाण्ड अफ गड’को उपमा दिन बाध्य भए ।
सन् १९९० मा विश्वकप फुटबल सुरु हुन एक साता बाँकी छँदा म्याराडोनाका लागि चुनौती थपिन सुरु भयो । अभ्यासको क्रममा म्याराडोनाको देब्रे खुट्टाको बूढी औंला चोटग्रस्त भयो । लगत्तै देब्रे खुट्टाकै पिडौंलामा असामान्य चोट लाग्यो । औंला स्याउको आकारमा पुग्यो । “विश्वकप फुटबलमा त्यत्ति बढी पीडा मैले कहिल्यै महसुस गरिनँ, पटक पटक चिकित्सककहाँ जान्थे, चिकित्सकले आफू खेल्ने अवस्थामा नरहेको बताएपछि चकनाचूर भएँ ।”–म्याराडोनाले पछि वृत्तान्त सुनाउनुभएको थियो ।
म्याराडोनाले अर्जेन्टिनाको प्रतिनिधित्व गरी फिफा विश्वकप छनोटको आठ खेलमा तीन गोल गर्नुभएको छ । फिफा विश्वकपको २१ खेलमा उहाँले आठ गोल गर्नुभएको छ । अन्य मैत्रीपूर्ण प्रतियोगितामा उहाँले दुई गोल गर्नुभएको छ । अर्जेन्टिनाको प्रतिनिधित्व गरी उहाँले समग्र ९१ खेलमा उहाँले ३४ गोल गर्नुभएको छ ।
सन् १९९० को विश्वकप फुटबल लगत्तै स्वास्थ्य परीक्षणमा कोकिन लिएको पुष्टि भएपछि उहाँको व्यावसायिक जस्नीमा फेरि बादल लाग्यो । उहाँलाई १५ महिने प्रतिबन्धको सामना गर्नुपर्यो । त्यसपछिका दिनमा उहाँ लागू औषधको दुब्यर्सनले पटक पटक थलिन पुग्नुभयो ।
बुधबार राति हृदयघात र उच्च रक्तचापले ६० वर्षको उमेरमा निधन हुँदा म्याराडोनाको शोकमा च्याम्पियन्स लिग र यूरोपेली फुटबलको सबै खेल पूर्व एक मिनेट मौन धारण गरिएको छ । अर्जेन्टिनाका सुपर स्टार लियोनल मेस्सी र पोर्चुगलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पनि म्याराडोनाप्रति श्रद्धासुमन ब्यक्त गर्नुभएको छ ।

  • गोरखापत्र 
प्रतिकृया दिनुहोस्