

२८ जेठ २०७७, बुधबार
बराहताल गाउँपालिका ४ सुर्खेतको भेरी मावि तरंंगा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।
सर्पले टोकेका ती पुरुषलाई मंगलबार राती उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाईएको थियो । सर्पले टोकेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बिरामी पुरुषलाई उपचारका लागि प्रदेश अस्पतालमा सिफारिस गरेका थिए । बिरामी परेका ती पुरुष आकस्मिक कक्षमा ल्याएपछि चार जना चिकित्सक उपचारमा खटिएको प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिनुभयो ।
बिरामी क्वारेन्टिनमा रहेको भन्ने बारेमा अस्पताललाई कुनै पनि औपचारिक रुपमा जानकारी नभएको निर्देशक डा.खड्काले बताउनुभयो । “बिरामी क्वारेन्टिनमा रहेको भन्ने बारेमा थाहा नै नदिएर उनलाई लिएर आएकाहरुले ती पुरुषलाई सिधै अस्पताल भित्र छिराए र उपचार गर्न लगाए,” उहाँले भन्नुभयो, “क्वारेन्टिनमा बसेको र कोरोना संक्रमित हुन भन्ने थाहा नहुँदा उपचारमा एक्सपोजर भएका चार जना चिकित्सकहरुमा अहिले आतंक फैलिएको छ ।”
उहाँले अगाडि भन्नुभयो, “बिरामीको आरडिटी रिपोर्ट पनि पोजेटिभ रहेछ । उनलाई क्वारेन्टिनबाट ल्याईएको हो भन्ने अगाडि थाहा पाएको भए चिकित्सकहरु पनि पिपिई सेट लगाएर बिरामीको उपचारमा लाग्थे तर बिरामी ल्याउनेले र गाउँपालिकाले कुनै पनि जानकारी नदिदा उपचारमा संलग्न चिकित्सकहरुले सामान्य तरिकाले उपचार गर्नु भएछ ।”
निर्देशक डा. खड्काले यसरी झुक्याएर बिरामीहरुलाई अस्पतालमा ल्याउदा उपचारमा खटिने चिकित्सक समस्यामा परेको भन्दै सबैबाट यस्तै व्यवहार भएमा अस्पतालले दिईरहेको सबै सेवाहरु बन्द हुन सक्ने चेतावनी दिनुभएको छ । क्वारेन्टिनमा खटिएका चिकित्सक र गाउँपालिकाले सहि सूचना नदिँदा यो समस्या उत्पन्न भएको जनाउँदै उहाँले यो विषम् परिस्थितिमा सत्य तथ्या सूचना दिएर सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।
बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले जानकारी दिनु पर्नेमा जानकारी नदिएको बारेमा कमजोरी भएको स्वीकार गर्नुभएको छ । बिरामीको पिसिआर रिपोर्ट पोजेटिभ हुनुले चिकित्सकदेखि उनको उपचारमा संलग्न सबैमा कोरोना संक्रमण फैलिन डर फैलिएको छ ।